१४ बैशाख २०८१, शुक्रबार 1714172227
Banner

एमाले, जनता र जन वर्गीय संगठनको बेहाल

विषयगत र विधागत सिर्जनशील प्रभावशाली नेताले मात्र मोर्चां संगठनलाई क्रियाशील बनाउन सक्छ । लुरोलाई शूरो ,सुस्तलाई चुस्त,शिथिललाई सबल बनाउने क्षमता भएको चाहिँ नेता हुन्छ । तर यस दिशामा पार्टी र नेतृत्व सबल हुने दिशातिर उन्मुख भएको पाइन्न । पठन संस्कृतिका अभावमा यस्तो नेतृत्व कहिल्यै निर्माण हुँदैन ।

पृष्ठभूमि
ने.क.पा. एमाले पार्टीका जम्मा २३ वटा जनसंगठन मध्ये युवा संघ र अनेरास्ववियु १४ वटाको राष्ट्रिय सम्मेलन भएका रहेनछन् । जब भुई तहमा कमिला सरह पार्टी र जन संगठनका काममा व्याप्त हुने संस्थाहरु जाम हुन्छन् अनि कसरी पार्टी र सरकारले गरेका कामहरु प्रचारित हुन्छन् ? पाइनदार हतियार मात्र प्रभावशाली हुन्छ । खिया परेको हतियार कहीँ काम लाग्छ ?
नेता कलाकार जस्तै हुनुपर्छ
कलाकारको हातमा परेको माटो धपधपी बल्छ नत्र त्यही माटो धिपीधिपी गर्छ र आखिरमा निभ्छ । मोर्चा संगठन हेर्ने वा त्यसको इन्चार्ज कति कामयावी छ भन्ने कुरा उसको नेतृत्व कौशलबाट स्पष्ट हुन्छ, कुराले होइन ।

एमाले पार्टीको गम्भीर समस्या मूलतः नेतृत्वमा रहेको छ । जुन जुन नेताले जुनजुन फाँट हेर्ने जिम्मा लिएका छन् र दिएको छ । उनमा नै पार्टी र जनसंगठन परिचालन गर्ने बहुआयामिक सिर्जनात्मक क्षमता अपरिहार्य हुन्छ, यसमा देखिने कमजोरी मोर्चामा अभिव्यक्त हुन्छ । ठस्के र फस्के नेताबाट काम उठ्न उठाउन असहज हुन्छ । जननेता मदन भण्डारीले पञ्चायतकालीन भूमिगत कालमा गरेका बहुआयामिक वैचारिक र सिर्जनात्मक काम आजमात्र होइन भोलिका दिनसम्म पनि महान् प्रेरणादायक हुनेछन् । जब अमुक प्रमुख र महत्वपूर्ण नेता विषय,विधा र विज्ञताका क्षेत्रको सामान्य र सतही जानकारीको अभावमा रहन्छ ,तब बहुआयामिक प्रभाव दिन सक्तैन । थारो गाईबाट के आशा गर्नु ? दुधालु भए पनि दुर्छे छ भने पनि जनता तर्सिन्छन् ।

के.पी. शर्मा ओलीलेझैँ आम कार्यकर्ता, नेता र जनतालाई पितृ बुझाउने क्षमता धेरै नेताले आर्जन गर्ने प्रयत्न नगर्दा संगठन संगठन जस्तो हुन नसकेको हो । पार्टीमा डाइना मौरी हाबी हुँदा पनि कर्मी मौरीको महत्व त्यसै घट्छ । पार्टी र जनवर्गीय संगठनमा इन्चार्जको संख्या निक्कै भारी देखिन्छ । तर तिनलाई के चार्ज, कहाँ गर्ने हो र कसरी गर्ने हो भन्ने नै थाहा छैन झैँ देखिन्छ ।
समस्या ग्रस्त पार्टी नेतृत्व
जन वर्गीय वा मोर्चा संगठन बहुआयामिक विषय,क्षेत्र,विधा र विज्ञताको क्षेत्र हो । यसलाई माथिल्लो तहबाट हेर्ने नेता तदनु्सार बहुआयामिक ज्ञान भएको हुनुपर्छ । यस्तो हुँदा तत् क्षेत्रका नेतालाई उर्जाशील बनाउन सक्छ । र यस्तो नेताले मात्र तत् क्षेत्रलाई कुशलतापूर्वक सञ्चालन गर्ने क्षमता राख्छ ।

विषयगत र विधागत सिर्जनशील प्रभावशाली कार्यकर्ताले मात्र मोर्चां संगठनलाई क्रियाशील बनाउन सक्छ । लुरोलाई शूरो ,सुस्तलाई चुस्त,शिथिललाई सबल बनाउने क्षमता भएको चाहिँ नेता हुन्छ । तर यस दिशामा पार्टी र नेतृत्व क्रमशः सबल हुने दिशातिर उन्मुख भएको पाइन्न । पठन संस्कृतिका अभावमा यस्तो नेतृत्व निर्माण हुँदैन ।

पानी र बानी माथिबाट आउँछ । सिरदेखि तिरसम्म ठण्ठा नेताले कुनै राप,ताप र प्रताप देखाउन सक्तैनन् । राजा र महाराज पल्टिने नेताबाट माखो पनि मर्ने छैन । मोर्चा संगठन अनुसारको नेतृत्व क्षमता आकलन गर्न नसक्ने वा नचाहने नेताले उपयुक्त स्थानमा उपयुक्त प्रतिभालाई परोक्ष रुपमा स्थापित गर्ने प्रयत्न नै गर्दैन । यसो भएपछि मोर्चा को मर्म ढिलोचाँडो मर्छ ।

पार्टीमा र जनसंगठनका क्षेत्र अनेक समस्याले गाँठो परेको छ र अझ वैचारिक सैद्धान्तिक तथा सिर्जनात्मक समस्याले जकडिएको हुन्छ तर इन्चार्जलाई भने ती समस्या समाधान गर्ने अत्यन्त सहज तरिकाको अभावमा आफैँ रुमल्लिन्छ । खानापूर्ति गर्न नेताका अघिपछि लस्कर लाग्ने खालका इन्चार्ज पार्टीका धमिरा हुन् ।
फलामे कार्यकर्ता बनाउन सकिन्छ
यस लेखकले पार्टी अध्यक्षलाई नै पनि सकेसम्म योग्य व्यक्ति चयन गर्नु, अयोग्य र कमयोग्य नै चयन गरे पनि तिनलाई योग्य र कुशल बनाउन प्रयत्न गर्दा हुन्छ तर त्यति पनि गरेको नदेखेको बताएको थिएँ ।

किन यो भनेको भने एउटा मान्छे प्रहरी र सेना सेवाको तालिममा प¥यो भने त्यो मानिसको शरीर क्रमशः सखुवाको काठ र फलाम र सरह सबल हुन्छ बनाउन चाहँदा बन्छ र बनाउन सकिन्छ । तर जब गुरु नै त्यस अनुसारको प्रभावशाली छैन भुस्कुल विद्यार्थी मात्रै उत्पादन हुन्छ ।

यस्तै भुस्कुलले गर्दा एमाले कार्यकर्ता र मतदाताले स्वतन्त्र नामका पार्टी र व्यक्तिलाई व्यापक रुपमा मतदान गरे । चामल पनि बेच्ने कला र गला नभए पछि कसको के लाग्छ र ? राम्रा र जनहितका काम गरेर मात्र हुँदैन ।

ती कामलाई बारबार हजारबार विभिन्न बान्कीमा जनतालाई बताउनुपर्छ । गोयबल्स शैलीले बाजी मारिरहेको छ तर सत्य वचन पनि मिठास तरिकाले मिलाएर भनिदिने मान्छे छैन, मिडिया नै छैन । सामाजिक सन्जाल पनि छैन । जसले गर्दा पहिले कहिल्यै नभएको पार्टी अध्यक्षको भविष्यवाणी यसपालि अलपत्र प¥यो । किनकि सतही कुराका भरमा अधिकांश नेता परे र तिनले त्यसैका भरमा अध्यक्षलाई रिपोटिङ गरे । सत्य कुरा थाहा भए पनि तिनले अध्यक्षलाई भन्ने आँटै गरेनन् । यस लेखकले अध्यक्षलाई भुईँ तहका पार्टीका समस्या तपाईंलाई कसैले भन्दैन । कसरी थाहा पाउनु हुन्छ यसमा बेलैमा ध्यान दिनु पर्छ भनेकै हो । अझै पनि पार्टीमा इमान भएका तर बेवास्ता गरिएका पार्टी हितलाई सर्वोपरि राख्ने निस्पक्ष कार्यकर्ता र नेता छन् । ती कतिपय कुनै नेता भन्दा कम छैनन् । अझै समय छ । बत्तीमुनि अँध्यारो हुन्छ भन्ने बेलैमा बोध नगरी त्यस अनुसार अझै चलिएन भने भित्रभित्रै सल्किएको भुसको आगोले पार्टीको आधार र भुईतह ध्वस्त पार्ने छ । यो कुरा यस लेखकले आफ्नै नगर र जिल्ला पार्टीका एकाध चरम बेसोमति र स्खलित बेहोराबाट बोध गरेको छ ।
राजसा महासङ्घको गम्भीर समस्या
माकुने नेतृत्व कालमा पार्टी अध्यक्ष ओलीले दैनिक नित्य कर्म गरे जस्तो पार्टी र जनसंगठन परिचालन गर्नु कुनै काम नै होइन भन्नु भएको थियो । अहिले पनि सदस्यता वितरण, नवीकरण, बैठक भेला सम्मेलन गर्नेजस्ता सतही कुरामा संगठनहरु चलेका देखिन्छन् ।

राजसा महासंघको विगत राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा नेता रघु पन्तले दिएको समय सापेक्ष सिर्जनात्मक बौद्धिक र वैचारिक खुराक महत्वपूर्ण लाग्यो । मोर्चा र तिनका सम्मेलनको मौलिकता र विशिष्टता अनु्कूलको गहन विचार व्यक्त हुँदा मात्र त्यसको ओज रहन्छ । सदा झैँ सदावर्त भाषण गरेर के हुन्छ ? । एउटा विषयबद्ध ओजनदार मन्तव्यले जीवनको दिशा बदल्ने क्षमता राख्छ । बोल्नका लागि बोल्ने हो भने के नेता र के सस्कृति कर्मी के विज्ञ र विद्वान् ? माक्र्सवाद,लेनिनवाद र जबजका प्राविधिक र सतही भाषण जानी नजानी सबैले गर्छन् । प्रगतिशील लेखक संघको केन्द्रीय स्तरको कार्यक्रममा महासङ्घ केन्द्रका अध्यक्षले प्रगतिवादी माक्र्सवादी कखरासम्म उच्चारण नगरी केवल एउटा हिन्दी सिने नायकसित सम्बन्धित बखान मात्र गरेर मन्तव्य पूरा गरेको देखेर वान्ता आउला जस्तो भयो ।

अनि पार्टी केस तथा सांस्कृतिक इन्चार्जलाई दुखेसो पनि पोखेँ । प्रायः महासंघ लगायतले गरेका कविगोष्ठीमा कविहरुले समय सापेक्ष कविता,गीत र गजल प्रस्तुत नगरेको देख्दा मन बिझाउँछ तर उच्चासनमा बसेका वक्ता अतिथिहरुले एमाले सरकारले गरेका राम्रा कामहरुलाई कलात्मक रचना लेख्ने कुरा स्रष्टालाई सम्झाइ दिने कामसम्म नगर्दा अर्को अचम्म हुन्छ ।

ती अतिथि वक्ताहरु गठबन्धन सरकारले गरेका तमाम जनविरोधी र राष्ट्रविरोधी कर्महरुलाई कलात्मक रचना लेखेर आम जनता ब्युँझाउने काम गर्न सुझाउँदैनन् । किनभने रित्ता भाँडाबाट एकथोपो चुहुनेबाला छैन । मुखले मुख नपाउँदा मुख नै सुक्छ के गर्नु ?
मोरङ जिल्लाका एक प्रगतिशील वरिष्ठ गायक गोपाल नेपालको एकल गायन सुनेर खुसी लाग्यो तर पछि उनीसित भेटेर खुसी साट्ता आफैँ बेखुसी हुने अवस्था आयो । किनभने उहिल्यै उनको एकल गायन गरिदिनु पथ्र्यो तर उमेर,अस्वस्थ्यता आदिका कारण मन फुकाएर गायन हुन नसकेको नेपालले बताए । प्रतिभा भए पनि प्रतिभाको निस्पक्ष रुपमा कदर गरिदिने वा उचित स्थान र मान कोही छैन ।

राष्ट्रिय जन साहित्यिक सङ्घ,केन्द्र्रले अविरल साहित्यिक यात्राका नाममा एकल कविता वाचन आयोजना गरेको छ तर यस्ता कार्यक्रमहरु विस्तारित गर्न जरुरी देखिन्छ । अझै मोर्चा संगठनहरुमा विभिन्न विषयगत प्रतिभाहरु छन् र अरु धेरै प्रतिभा उत्पादन गर्न सकिने पर्याप्त सम्भावनाहरु पनि छन् तर पदराजीहरु कामकाजी नहुँदा गम्भीर समस्या उत्पन्न भइरहेको छ ।

मोर्चा संगठन त अध्यक्ष लगायत केही उपल्ला कार्यकर्ताको नितान्त निजी प्रभाव फैलाउने अस्त्र भएका छन् । अमुक संगठनले वक्तव्य प्रकाशन गर्छ तर अनलाइन लगायत पत्रिकामा संगठनको लोगो होइन, अध्यक्षको स्टाइलबाला च्वाक फोटो चाहिँ प्रकाशित हुन्छ । प्रसिद्ध जनगायक जीवन शर्माहरु गायन क्षेत्रमा दुःखपूर्वक अनवरत रुपमा संघर्षरत छन् । प्रसिद्ध कलाकार देशभक्त खनाल, प्रसिद्ध विद्वान् प्रा.भिक्टर प्रधान र गायत्री बिस्टहरु सदा उपेक्षित ,हुन्छन् तर तिनकै नाममाथि टिपेक्स दलेर र चाकरी गरेर सातफन्का घुमीघुमी जहाँ जे जे भेटिन्छ खाने, खाइरहने पोखरेल,पौडेल,उप्रेती र गिरी थरिले प्रगतिशील तथा प्रज्ञा क्षेत्र बदनाम बनाइरहेका छन् । यस्तो अगस्ति चाहिँ कसैले हुनु नपरोस् ।
सिर्जनात्मक नबनेको मोर्चा संगठन
विशिष्ट क्षेत्र र विधामा आधारित मोर्चा संगठनले आफ्ना क्षेत्रको उत्थानमा क्रियाशील हुनुपर्छ । त्यहाँ पनि निस्पक्ष रुपमा प्रतिभा निर्माण र प्रवर्धन गर्ने कुरामा बहुतै ख्याल गर्नु पर्छ । आफैँभित्र पनि स्वस्थ्य प्रतिस्पर्धा हुन र गर्न दिनु पर्छ र हार र जीतलाई सामान्य प्रक्रियामा लिने बानी बसाउनुपर्छ ।

जनवादी केन्द्रीयताका नाममा नोकरसाही केन्द्रीयता गलत हुन्छ । तर ती काम बाहेक सिर्जनात्मक, बौद्धिक र वैचारिक काम पनि सँगै सुरु गर्नु पर्छ । एक होइन अनेक खालको प्रतिभा र क्षमता विकास हुने र गर्ने बातावरण तयार गर्नुपर्छ । मोर्चा संगठनको प्रकृति अनुसार कार्यकर्ता तयार त भए तर अग्रगामी सुझबुझ र विचार विनाको कार्यकर्ताले जबजको लक्ष्य देख्दैन र भेट्तैन पनि ।
जनतासित एकाकार मोर्चा अपरिहार्य
अहिले पार्टी र जनवर्गीय संगठनका उपल्ला तहका नेता र नेतीहरुको बानी बेहोरा,रहन सहन लवाइ खुवाइ जनतासित मिल्ने खालको प्रायः पाइन्न । सामान्यतया जनता भनेका आम देशवासी हुन् तर माक्र्सवादी मान्यतामा जनता भनेका मूलतः भौतिक र बौद्धिक श्रम गर्ने मानिस हुन् । संगठन निर्माण,विकास र समृद्धि गर्ने रचनात्मक अभियान लिएर जाँदा हाम्रा घाँटीमा दुई तोलाका सुनका सिक्री, हातमा सुनका मोटामोटा साङ्ली र मुखभरि भए भरका फाउ दलेर, शरीर फुट्ने हिरो र हिरोनीका जस्ता लुगा लगाएर जाँदा कसरी जनातासित एकाकार भइन्छ र ?

जनताको मन जित्ने विचार अपरिहार्य हुन्छ तर त्यसका लागि कला,गला,शील र स्वभाव अपरिहार्य हुन्छ तब मात्र जनता स्वतःस्फूर्त रुपमा मोर्चा र पार्टी संगठनका वरपर गोलबन्द हुन्छन् । महात्मा गाँधी टाइसुट लगाएर जनताका बीचमा गएका भए उनका वरिपरि एकछिन जनता झुम्मिन्थे होलान् तर आजीवन उनलाई पछ्याउने थिएनन् । मोर्चा संगठनका सबै कामहरुमा पार्टीकरण भद्दा रुपमा गरिएको देखिन्छ । मोर्चा हो कि एमाले पार्टी हो कुनै फरक हुँदैन भने किन चाहियो मोर्चा ?