१४ बैशाख २०८१, शुक्रबार 1714192283
Banner

प्राडा.संग्रौलाले अब मुख सिएर बसे हुन्छ

केही दिनदेखि प्रा. डा. युवाराज संग्रौलाले आफूले भनेअनुसार भएन भने म मेरो मुख सिउँछु भने । उनी एक टेलिभिजनमा अन्तर्वार्ताका क्रममा यसो भन्दै थिए । उनी मडियाहरुमा सदाझैँ आफ्ना मपाईँ र पट्यारलाग्दो मनोगत एकालाप गर्दै थिए ।

संग्रौला वरिष्ठ वकिल तथा प्रखर विद्वान् भनेर खूब प्रचार गरिएका व्यक्ति हुन् । उनी एमाले र ओली विरुद्ध ज्यानी दुष्मन भएर लागेका धेरै प्रमाणहरु छन् । माओले भनेझैँ विचाररुपी विखालु झारपातलाई निर्ममता पूर्वक उखेल्नु पर्छ र जति पलाउँछ उति उखेलिरहनुपर्छ भनेझैँ संग्रौलाका अत्यन्त भ्रमित लेखहरुका बारेमा प्रतिटिप्पणी र प्रतिवाद यस लेखकले गरिरहेको छ । उनैका मुख सिएर बस्छु भनेका कुरालाई समर्थन गर्दै यो लेखक संग्रौलाले अहिले नै मुख सिएर बसेहुन्छ भन्न चाहन्छ ।

अहिलेसम्म संग्रौलाले कहिले काहिँ आफ्ना मुखले बोलेका सत्य कुरा आफैँले खण्डन गर्दै आएका छन् । उनले यस्ता कुरामा किञ्चित सरम नराखी त्यही मुखले सरासर र झुट कुरा बोलेका पनि छन् । उक्त अन्तर्वार्तामा डा. युवराज संग्रौलाले पूर्व प्रधान मन्त्री ओलीले दुई पटक संसद् विघटन गरेको परिणामले नै गलत सावित गरेको विषय उठाउँदै थिए । माधव नेपाललाई ललितानिवास जग्गा काण्डका कारण जेल जानबाट बचाउन परमादेशी सरकार बनाएको घाम जत्तिकै छर्लङ्ग भइसकेको छ तर संग्रौला सफेद सत्यलाई उनी ढाकछोप गर्ने दुष्प्रयत्न गर्दै थिए । यस कुरालाई प्रन्या चोलेन्द्र शमशेर राणा र नेका नेता मीनेन्द्र रिजालले सार्वजनिक गरिसक्नु भएको छ । तैपनि एउटा मात्र होइन आफ्नै पाँच ज्ञोन्द्रियले स्पष्ट महसुस गरेको उक्त सत्यलाई संग्रौला झुट प्रमाणित गर्न न्वारानदेखिको बल अझै लगाउँदै छन् ।

आफ्नै नाङ्गा आँखाले देखेको नाङ्गो सत्यलाई झुट प्रमाणित गर्न तम्सने व्यक्ति पेसेवर/ घुस्याहा कानुन्ची हुनसक्लान् तर त्यसरी प्राध्यापक हुन सकिन्न ,। बौद्धिक र प्राज्ञिक नैतिक इमान भएका मानिस सफेद झुटलाई सत्य प्रमाणित गर्ने लिँडेढिपी गर्दैनन् । जसले आफैँले देखेको, बुझेको र महसुस गरेको सत्य पनि भन्न सक्तैन भने विषयगत ज्ञानको सार्वभौम सत्य सच्चाइ कसरी भन्न,लेख्न र प्रवाह सक्ला ? पूर्वबाट सूर्य उदाएको देखीदेखी पश्चिमबाट सूर्य उदायो भन्ने मान्छे कसरी विज्ञ,प्राज्ञ र विद्वान् ह्ुन्छ ? युरोपले नेपाल समृद्ध भएको देख्न चाहँदैन र भारत पनि नेपाल स्थिर र विकसित भएको देख्न चाहँदैन भनेर एकताका तारन्तार लेख लेख्ने संग्रौला किन एमाले र ओली सरकारले गरेका दुरगामी महत्वका देश र जन हितका काम देख्दैनन् । यिनै कारणले ओली सरकारलाई विस्थापित गराएको किन बुझ्दैनन् ?

संग्रौलाले अलिकति पनि सरम नमानी परिणामले झुट सावित गरिसकेको आम जनता समक्ष उजागर भइसकेको संसद् विघटनको राज रहस्य विपरीत बोल्ने दुृस्साहस गर्दैै थिए । यस्तै बौद्धिक जण्डिस लागेका कथित विद्वान्हरु मंसीर ४ गतेको निर्वाचनमा कसैको बहुमत नआउनुमा ओलीलाई नै दोषरोपण पनि गर्न सक्छन् । आग्रह र आदतका दासहरु क्षयरोगलाई पनि आफ्नै ठानी सुमसुम्याउँछन् तर यो रोग पार्टी र व्यक्तिलाई सक्ने रोग होइन यो त देशलाई नै अस्तव्यस्त गर्दै ध्वस्त पार्ने रोग हो । उनी ओलीलाई एकीकृत कम्युनिस्ट पार्टीलाई क्षतविक्षत पारेको फतुर फलाक्दै थिए ।

डा. संग्रौला एक अर्को टीभीमा देश भनेको जनता हो र जनताको सेवा नै देशसेवा हो भदै थिए , तर तिनै डा.युवराजले जनताका हितका लागि १३५ वटा तुइन बिस्थापित गरेको,मेलम्चीको पानी काठमाडौँमा झारेको,७ लाख ५० हजार पक्की आवास निर्माण गरेर जनतालाई हस्तान्तरण गरेको र महँगीलाई ३ प्रतिशतमा सीमित गरेको चाहिँ देख्दैनन् र भन्दैनन् । तर कुलीन तन्त्र लगायतका विभिन्न वाद सिद्धान्त र विभिन्न विदेशी व्यक्तित्वका बारेमा नामोल्लेख सहित बौद्धिक विलास गर्न भने उनी खप्पीस देखिन्छन् । सुप्रसिद्ध लेखक सौरभ प्रा.डा. हुनुहुन्न तर युवराज जस्ता कृही प्रा.डा.लाई गहन ज्ञान प्रदान गर्ने हैसियत राख्नु हुन्छ । उहाँले पनि चीनतिरको नाका खोलेर कहिल्यै कसैले र पछि पनि कसैले गर्न नसक्ने र नाकाबन्दीमा चट्टानी अडान ओलीले राखेको उल्लेख गर्नु भयो । एउटा विज्ञ आदत र आग्र्रहको दास भएपछि, उसको ज्ञान देशका लागि काम लाग्दैन ।

ओलीलाई नपढेका र नजान्ने आदि परोक्ष वा प्रत्यक्ष नानानथरि आरोप र फतुर लगाउने प्रा.डा. संग्रौलाले सुनून्,सबै मानिस पेटपालो गर्न मात्र पढ्दैनन्, उनीहरु पदोन्नतिका खातिर शैक्षिक उपाधि प्राप्त गर्ने ध्याउन्नामा हुँर्दैनन् । तिनले देश र जनताका हितका लागि पढ्छन् र लेख्छन् । माओले भनझैँ पढ्नु भनेको देश सेवाका लागि हो ।

प्रा. दिनेशराज पन्त ओलीका कतिपय उच्चतम विशेषताको खुला दिलले प्रशंसा गर्नु हुन्छ । तर एकाध नामधारी प्राडाहरु आफ्नै देशका प्रतिभाहरुको हुर्मत लिएकामा खूब मजा मान्दा रहेछन् । ओली सरकार विस्थापित गर्नुको अर्को रहस्य तीव्रतर रुपमा भइरहेको नेपालको विकास निर्माणमा अवरोध गर्नु हो । चीन र अन्य केही देशबाहेक भारतसहित सबै पश्चिमा शक्तिराष्ट्रहरु नेपाललाई सहयोग गरेजस्तो गर्छन् तर समयमै गर्छु भनेर आफैँले कबोल गरेका विकास निर्माण होल्ड गरेर राख्छन् । भारतले हुलाकी राजमार्ग बनाउँछु भनेर लामो समय रोकेर राखेको त थाहा हुनु पर्ने हो संग्रौलालाई ।

अनि उनलाई ओलीले एकीककृत पार्टीलाई फुटाएको हो यस्ता अनर्गल कुरा गर्न अलिकति पनि सरम छैन । २०७४ सालमा बहुमत प्राप्त ओलीलाई प्रचण्डका गोप्य आदेशमा तत्कालीन निर्वाचन आयोगका प्रम्ुख आयुक्त अयोधी प्रसाद यादवमार्फत् दुई महिनासम्म पदबहाली गर्न रोक्नेले ओली प्रधानमन्त्री हुने बित्तिकै के के गरे थाहा छ ? । अझ प्रचण्डले नेकासित प्रम माग गर्दा नपाएर एमाले निकट भएको त्यति बेलै उजागर भएको विषय हो । उतिबेला ठूलो दललाई सरकार बनाउन नदिएर ससाना दलहरु मिलेर सरकार बनाउनु संसदीय मान्यताको खिलाफ हुन्छ भनेर उपेन्द्र यादवले भनेका होइनन् ? आधा आधा समय पधानमन्त्री बन्ने गोप्य सहमति परित्याग गर्ने प्रचण्ड होइनन् त्यो पनि कसरी भन्दा मिगौला प्रत्यारोपण गर्दा ओली मरिहाल्छन् भनेर सहमति त्यागेका होइनन् र प्रचण्डले ? मुखले मुखको काम गर्र्दैन भने त्यो मुख हुँदैन । मुख भनेको ओडार र द्वार मात्र होइन । त्यसो त गुद पनि द्वार नै हो ।

कालाकोटे युवराज संग्रौलाहरुका कारण देश दिनदिनै भड्खालातिर जाँदैछ । एकताका सिक्किमले गणतन्त्र जोगायो तर देश जोगाउन सकेन भन्ने संग्रौलाले संविधान च्यात्न मात्र होइन देशलाई महाअस्थिरताको दलदलमा पार्न भरपूर सहयोग गरे । केही कालकोटेहरुले संसद् विघटन गर्न बाध्य भएको थाहा पाइपाइकन थाहा नपाएको बहना गरे । मंसीर चारगते निर्वाचनपश्चात् कसैको बहुमत नआउने जुन खालको परिणाम देखा परेको छ । यसका कारकतत्वहरु कालकाकोटे पनि हुन् । संसारको संसदीय मान्यतामा कहिँ नभएको परमादेशी सरकार बनाउन ज्यान फालेर लागेका संग्रौला लगायत कालाकोटेहरु अहिले कसरी ठाडठाडै बोल्न सकेका हुन् अचम्म लाग्छ ।

केही कालाकोटेहरुले लौरोटेक्दै,सारी घिसार्दै ओलीलाई प्रतिगामी भन्दै आमाचकारी गाली समेत गर्दै न्यायालयमा नग्न नृत्य प्रदर्शन गरे तर ती कालोकोटेहरु कट्टु खुस्किएर र धोती च्यात्तिएर सरमका मारे घरभित्र नै थन्किएका छन् तर पनि संग्रौला भने टेलिभिजनमा मुख देखाएर आफ्नै मुख सिउने धमास पो दिन्छन् त ! उच्च तहको अध्यययन गरेका भनिएका मानिस कतिसम्म आग्रही र खोटीमतिका हुँदारहेछन् भन्ने थाहा भयो । दोचारे,बेसारे र दुई जिब्रे मुख आजै बन्द गरे हुन्छ । यो त मुखको धर्म नै भएन नि । अझ एउटा प्राध्यापक शिक्षक र स्रष्टा जब सरासर झुट बोल्छ र बोलिरहन्छ भने त्यो कसरी बौद्धिक र प्राज्ञिक हुन्छ ?
तर्क (कु) गरी गरी आम जनतालाई कुहिराको काग बनाउने बौद्धिकको नेपालमा कमी छैन रहेछ । नामका अगाडि थामिनसक्नु पगरी भिरेको छ । झट्ट हेर्दा र सुन्दा मानिस झस्किन पनि सक्छन् । गोल मटोल कुरा गरेको छ । पढेको त छँदैछ । कितावहरु पनि लेखेकै छ । पढाएर खाइजीविका गरेकै छ । सान सौकात राम्रै छ । सयमा दस जति त राम्रै पनि देखिन्छ । तर ऐनमौकामा आफूलाई शून्यमा झारेर पनि बोलेको छ । काला र कल्चौडा कोट भिरेकै छ । घाँटीमा लामै दाम्लो झुण्ड्याएर नेपाली संस्कृतिको बखान गर्न कसैले भेट्तैन । बोल्दा नेपाली क्रियापद मात्र अरु सबै अङ्ग्रेजी लबज र लिवाजको नखरा गर्न अरु को सक्छ तर सारसोर सहित बौद्धिक विभ्रम छर्न बाहेक केही जानेको छैन ।

संग्रौला केही दिन अघि एक टेलिभिजनमा नेपालका सबै पार्टी र नेतालाई चोर हुन् भन्ने आशयका भद्दा र अत्यन्त कुरुप अन्तर्वार्ता दिँदै थिए । उनका अराजक भन्न मिल्ने सरासर अद्वन्द्ववादी लेखोट र बोलोट सुन्दा आफूलाई नै भारी सरम हुन्छ । आफू पनि उहाँको जस्तै नामका अगाडि विषय विज्ञको पगरी गाँसिएको मनुवा भएकाले उनका अभिव्यक्तिबाट तिक्त विरक्त अनुभूति हुन्छ ।

कहिले काहिँ औताएर बोल्दा र व्यवहार गर्दा कुनै कुनै विद्वान् नाजवाफ हुन्छन् र मरिचझैँ आफ्ना कारणले आफैँ चाउरिन्छन् । एउटा प्रबुद्ध कहलिएको देशको बुद्धिजीवीले लहडी कुरा समाजलाई भड्काएर माफी पाउन सक्तैन । यस्तो छुट दिन पनि हुँदैन । तिनलाई वर्तमानकै कठघरामा नभए पनि इतिहासको कठघरामा उभ्याउनु पर्छ । ओलीले बँध्यतावस नयाँ जनादेशका लागि मध्यावधि गर्न खोज्दा प्रतिगमन भनेर घाँटी सुक्ने कोकोहालो गरेर चिच्याउने संग्रौला अब त के भन्छन् किनकि अब त झन् मध्यावधि कुनै पनि बेला हुनसक्ने अवस्था छ र यो अवस्थामा पु¥याउन मरिहत्ते गर्ने कालकाकोटेको कर्तुत कामयावी नै भयो । यसरी बाह्य शक्तिकै इसारामा काम गर्ने कालकाकोटेहरुलाई के कुन उपनामले सम्बोधन गरुँ महोदय !