१५ बैशाख २०८१, शनिबार 1714211743
Banner

परिवारवादको पराकाष्ठा : सांसद बनाउन घरभित्रकै सदस्य प्राथमिकतामा

काठमाण्डौ । नेपालको राजनीतिमा परिवारवाद हाबी हुने गरेको कुरा कसैबाट छिपेको छैन । देश र जनताको हितमाभन्दा पनि आफ्नो परिवारभित्रका मान्छेलाई राजनीतिमा स्थापित गराउने र पद दिलाउने प्रवृत्ति मौलाएको छ । यसको ज्वलन्त उदाहरण हो नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा ।

देउवाले आफ्नी श्रीमती आरजु राणा देउवालाई भूमिका र योगदान बिना नै राजनीतिमा जबरजस्ती स्थापित गराउन खोज्दैछन् । देउवाले आरजुलाई प्रतिनिधिसभाको समानुपातिक सुचिमा पहिलो नम्बरमा राखेका छन् । यसअर्थमा आरजु प्रतिनिधिसभा सदस्य बन्ने पक्का छ । देउवा आफैँ डडेलधुराबाट निर्वाचन जितिसकेका छन् । देउवा स्वयम् भने राजनीतिक योगदानबाटै जनताबाट प्रत्यक्ष अनुमोदित भएका हुन् ।

पाँच पटक प्रधानमन्त्री हुँदा पनि देश र जनताका लागि उल्लेख्य काम गर्न नसकेका भए पनि डडेलधुराका मतदाताले भने उनलाई सांसद बनाइरहेका छन् । मतदाताको मत पाएर सांसद बनेपछि त्यसलाई सकारात्मक रुपमा नै लिनुपर्छ । जनमतको अपमान गर्न हुँदैन । तर राजनीतिज्ञको रुपमा के बोल्न हुने र के बोल्न नहुने भन्नेसमेत हेक्का नभएकी आरजुलाई भने देउवाले परिवारवादकै भरमा सांसद बनाएका हुन् । अबको प्रतिनिधिसभामा देउवा दम्पत्ति संसदमा रहनेछन् ।

देउवापत्नीबाहेक नयाँ संसदमा अरु दुई दम्पत्ति पनि संसदमा देखिनेछन् । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट जुलीकुमारी महतो र धनुषा ४ बाट रघुवीर महासेठ निर्वाचित भएका हुन् । महासेठ र महतो श्रीमान–श्रीमती हुन् । तर उनीहरु दुवै जना प्रत्यक्ष चुनाब लडेर जनताले जिताएकाले प्रश्न उठाउने ठाउँ रहेन ।

यसअघि पनि दुवैजना सांसद थिए । २०७४ मा भने महासेठ प्रत्यक्षबाट र जुली समानुपातिक कोटाबाट सांसद बनेका थिए । उनीहरु दुवैजना पालैपालो केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री पनि भएका थिए ।

अर्को दम्पत्ति, जसपा नेता अशोक राई र उनकी श्रीमती सुशीला श्रेष्ठ संसदमा देखिनेछन् । राई सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका छन् । सुशीला श्रेष्ठको नाम समानुपातिकमा छ । जसपाका पनि पुरुषहरु ज्यादा निर्वाचित भएका कारण श्रेष्ठ समानुपातिकतर्फबाट निर्वाचित हुने देखिन्छ ।

प्रत्यक्ष निर्वाचन लडेर जितेर आउनेमाथि प्रश्न नउठे पनि समानुपातिकमा राखेर सांसद बनाउने प्रवृत्ति भने परिवारवादको नमुना नै हो ।

माओवादीकै नेता देवेन्द्र पौडेलले बागलुङ २ बाट प्रत्यक्ष चुनाब जिते भने उनकी श्रीमती बलावती शर्मा प्रतिनिधिसभाको समानुपातिक सुचिमा छिन् ।

यसपटकको निर्वाचनमा नेकपा माओवादी केन्द्रका वर्षमान पुन दम्पत्ति प्रत्यक्षतर्फको उम्मेदवार बनेका थिए । श्रीमान वर्षमानले रोल्पाबाट चुनाब जिते भने पूर्वसभामुखसमेत रहेकी श्रीमती ओनसरी घर्तीले भने काठमाण्डौ २ मा पराजय बेहोरिन् । यद्यपि घर्ती माओवादी आन्दोलन र सशस्त्र द्वन्द्वबाट जन्मिएकी नेतृ हुन् ।

रुपनदेही ३ मा पराजित गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँड पत्नी मञ्जु खाँड पनि समानुपातिक सुचिमा परेकी छिन् ।

रौतहट २ मा बाबु उम्मेदवार बन्न नमिल्ने भएपछि छोरालाई उम्मेदवार बनाईएको थियो । जेल जीवन बिताईरहेका मोहम्मद अफ्ताब आलम सर्वसम्मतले सिफारिस भएपनि विरासत धान्दै उनका छोरा फीरदोस आलमलाई उम्मेदवार बनाए पनि जित्न भने सकेनन् ।

आफू उम्मेदवार नबन्ने निर्णय गरेका डा. बाबुराम भट्टराईले छोरी मानुषी भट्टराईलाई काठमाण्डौ ७ बाट उम्मेदवार बनाए पनि उनी पराजित भइन् । बाबुरामकी छोरी भए नि उनी राजनीतिमा सक्रिय नै छिन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी बुहारी वीना मगर कञ्चनपुर १ को उम्मेदवार बनेर पराजित भइन् । मगर पनि राजनीतिमै छिन् ।

पूर्व गृहमन्त्री समेत रहेका राम बहादुर थापाले उम्मेदवारी दर्ता नगरे पनि उनकी पत्नी नैनकला थापा एमालेको समानुपातिक सुचीमा परेकी छिन् ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरकी छोरी मिनाक्षी ठाकुर प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक उम्मेद्वार छिन् । ठाकुरले महोत्तरी ३ बाट चुनाब जितेका छन् ।

बलात्कार आरोप लागेपछि राजनीतिमा ओरालो लागेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा यस पटक आफू स्वयं भने उम्मेदवार बनेनन् । तर उनले छोरीलाई लुम्बिनी प्रदेशसभा सांसदका लागि समानुपातिक उम्मेदवारका रूपमा राखेका छन् ।

निवर्तमान सभामुख अग्नि सापकोटाले पनि चुनाब लडेनन् । तर आफू उम्मेदवार नबने पनि पार्टीमा जोडबल गरेर आफ्ना भतिजा माधवलाई आफ्नै क्षेत्र सिन्धुपाल्चोक–१ बाट उम्मेदवार बनाए । सापकोटाले चुनाब पनि जिते ।

दाङबाट चुनाब हारेका एमाले महासचिव शंकर पोखरेलले पार्टीको समानुपातिक बन्दसूचीको खस आर्य महिला कोटामा आफ्नै बहिनी मेनका पोखरेललाई पहिलो नम्बरमा राखेका छन् ।

सक्रिय राजनीतिमी रहेर उम्मेदवार बन्नेहरुलाई परिवारवादको ट्याग लगाउन उचित नहुने भए पनि राजनीतिमा निष्क्रिय व्यक्तिलाई पनि सांसद बनाउने प्रयास गर्नुले दलहरुप्रति जनताको वितृष्णा बढिरहेको छ ।