१४ बैशाख २०८१, शुक्रबार 1714111788
Banner

एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गराउन दलहरुबीच छलफल

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई संसदबाट अनुमोदन गराउन दलहरुबीच परामर्श तीव्र भए पनि यो विषय थप पेचिलो बन्दै गएको छ ।

संसदमा दर्ता भएको लामो समयपछि यही फागुन ८ गते प्रतिनिधिसभामा टेबल भएको एमसिसी परियोजनालाई दलहरूबीच सहमति जुटाएर संसदबाट अनुमोदन गराउन सरकारका तर्फबाट पहल भए पनि सत्ता साझेदार दलहरूमा नै सहमति जुट्न नसक्दा निष्कर्षमा पुग्न सकेको छैन । एमसीसी सम्झौताबारे सैद्धान्तिक (सामान्य) छलफलको कार्यसूचीसहित बिहीबार दिउँसो १ बजेका लागि तोकिएको प्रतिनिधिसभाको बैठक कार्यव्यवस्था तथा परामर्श समितिमा सहमति नजुटेपछि फागुन १३ गते दिउँसो १ बजेसम्मका स्थगन भएको छ ।

एमसीसी अनुमोदानका लागि सहमतिका साथ अघि बढ्न सरकारको नेतृत्वकर्ता नेपाली काँग्रेसले निरन्तर प्रयास भने जारी राखेको छ । उसले सत्तामा रहेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का शीर्षनेताका साथै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग समानान्तर छलफल गरिरहेको छ ।

यही फागुन १६ गतेभित्र एमसिसी सम्झौताबारे निधो गरिसक्न अमेरिकी पक्षले आग्रह गरिसकेकाले यो विषयमा घनीभूत छलफल भएको हो । दलहरु गृहकार्यमा रहेका बेला सडकमा भने एमसीसीको विरोधमा सत्ता गठबन्धनकै केही दलको सहभागितामा प्रदर्शन भइरहेको छ ।

नेपालको सडक पूर्वाधार विकास र प्रसारण लाइन विस्तारका लागि अमेरिकी सरकारले दिने ५५ अर्ब बराबरको अनुदानका लागि भएको सो एमसीसी सम्झौताका कतिपय प्रावधानमाथि प्रश्न उठाइएकाले सहमति जुट्न सकिरहेको छैन । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलाई राष्ट्रिय सहमतिका साथ संसदबाट अनुमोदनका लागि सक्रियता देखाउनुभएको छ । उहाँले सत्ता साझेदार दल र प्रतिपक्षी एमालेसँग पटक–पटक छलफल गर्नुभएकाे हाे ।