२२ बैशाख २०८१, शनिबार 1714827227
पालिका

ललितपुरमा नमूना मतदान कार्यक्रम सम्पन्न

पाटन– जिल्ला निर्वाचन कार्यालय ललितपुरले पुल्चोकमा गरेको नमूना मतदान कार्यक्रम सम्पन्न भएको छ । ललितपुर महानगरपालिका वडा नं. ३ मदनस्मारक माविमा भएको नमूना मतदानमा ४८ पुरुष र ७४ महिला गरी १२२ जना सहभागीले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख  गोमा धमला घिमिरेले जानकारी दिए । 

प्रमुख धमलाले मतदान गर्ने तरिकाबारे जानकारी दिन नमूना मतदान कार्यक्रम सञ्चालन गरिएको बताए । ललितपुरका ६ वटै स्थानीय तहमा नमूना मतदान कार्यक्रम गर्ने प्रमुख धमलाले जानकारी गराए ।

आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन कार्यालयले सबै स्थानीय तहमा नमूना मतदान कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

ललितपुर महानगरपालिकाबाट सुरु भएको यो कार्यक्रम कात्तिक २० गते गोदावरी नगरपालिकाको वडा नं. ११ मा हुने छ । जिल्लाका अन्य चार स्थानीय तहमा भने कात्तिक २७ गते पछाडि मात्रै  सञ्चालन हुने धमलाले बताए । नमूना मतदानमार्फत मतदानका विषयमा आवश्यक जानकारी दिन लागिएको प्रमुख धमलाको भनाइ छ । 

नमूना मतदानले बदर मतको सङ्ख्या घटाउनका लागि सहयोग पुग्ने विश्वास गरिएको छ । आसन्न निर्वाचनमा एक मतदाताले प्रत्यक्ष र समानुपातिक गरेर चार मतपत्रमा मतदान गर्नुपर्नेछ ।