५ जेष्ठ २०८१, शनिबार 1716034244
विचार

अष्टलक्ष्मीको आदर्श

हालै एक टेलिभिजन अन्तर्वार्तामा शाक्यले अब म पार्टी काममा मात्र लाग्छु, प्रदेश र प्रतिनिधि सभामा उम्मेद्वार हुन्न, म पटक-पटक सांसद् र मन्त्री भइसकेकी छु । त्यसैले एमाले पार्टीमा अरु पनि लामो समय आन्दोलन र संघर्ष गरेका योग्य महिला र पुरुषहरु छन् र उहाँहरुले पनि मौका पाउनुपर्छ शाक्यले भन्नु भयो । । पार्टी अध्यक्षले प्रतिनिधि सभामा उठ्न आग्रह गर्दा पनि शाक्यले यिनै कुरा भन्नु भयो । शाक्यको पार्टीमा बहुतै महत्वपूर्ण योगदान छ । कठोर भूमिगत कालमा लालाबालालाई आश्रय स्थलमा छाडेर रातविरात पार्टी काममा श्रीमान् सहित सक्रिय हुनु सानु् कुरा होइन । अहिलेका कतिपयलाई अग्रजहरुको योगदान थाहा नपाएकाहरुलाई सामान्य लाग्ला तर पहिलेको समयमा काम गर्न त्यसमा पनि महिलालाई कति कठिन थियो होला । म खाउँ मैलाऊँले गर्दा जनता र देशको चिन्ता कम हुन्छ । आफैँ मात्र मै मात्र र मेरो मात्र भनेर सबै अवसर सधैँ हात पार्ने नियत भएपछि पार्टी त रहँदैन ।

वास्तवमा पक्षपात बिना योग्यताको कदर नभएको तीतो अनुभव आफूलाई पनि पार्टीमा कति पसिना बगाउनु अब त चुपचाप बस्नु पर्ला भन्ने पनि लागेकै हो । तर डा. पोखरेलले निराश भएर जिन्दगी नै चल्दैन । यतिका लामो समय काम गरेर पदको नभए पनि ज्ञान र अनुभवको एउटा राम्रै हैसियत बनाए पछि किन पार्टीं छाडनुभन्नुभयो । उहाँले कुनै पद प्रतिष्ठा पाएर परबाट हेर्दा ठूलो मान्छे देखिए पनि समाजले पदमा नहुँदा पनि राम्रो मान्छे हो भन्नु ठूलो कुरा हो भन्नु भयो ।

पदमा हुँदा बाहिरबाहिर सम्मान गरे पनि भित्रभित्रै जनताले सरापे भने के राम्रो । उचित ठाउँमा उचित व्यक्ति नहुँदा भारी सरम हुँदो रहेछ । यस्तो दृश्य सुनसरी र इटहरीमै देख्नु पर्छ किन ? यस्ता कुरामा उपल्लो तहका नेताकै दवाव र प्रभाव रहेको भनिन्छ । जसले दुई भोट बढाउनु त कता हो कता उल्टो घटाउँछ यस्तो कसरी हुन्छ ? अनि नेताका चाहिँ श्रीमान् श्रीमती दुवै एक्कै चोटि संघ र प्रदेशमा सभासद्को टिकट पाउने कुरा अलिअलि त सरम लाग्नु पर्ने विषय हो र हुनुपर्ने हो । हुनत सरम भए पो सरम लाग्नु तथापि एमाले बराबर देश र जनताका लागि लागि पर्ने पार्टी कोही छैन । केही कमजोरी रहेका रहेछन् अझै पनि अष्टलक्ष्मी दिदीहरुले यसमा ध्यान दिनुपर्छ आफू मात्र इमान्दार र आदर्श भएर हुँदैन पार्टीलाई नै बनाउन लागि पर्नुपर्छ भन्ने लाग्छ । पदले मात्र मानिस केही दिन ठूलो होला तर सधैँ ठूलो भइँदैन । हामीले हाम्रा नेताहरुलाई नै हेर्ने हो भने पनि स्पष्ट हुन्छ । पुष्पलाल जननेता मदन भण्डारी लगायत महिला नेतृहरु सांसद् र मन्त्री भएर मात्र ठूला र महान् भएका हुन् र । अझ आआफ्ना ज्ञान र अनुभवहरुमा आधारित भएर लेख लेख्नु पर्छ र पुस्तक प्रकाशन गर्नुपर्छ भन्ने सुझाव अनुसार यस काममा पनि लागियो । ०३५ सालदेखि लागेर ०४६ को आन्दोनलमा सडक संघर्ष गर्दै ०६२,०६३ को आन्दोलनको अगुवाइ गर्दा १३ दिन सशस्त्र प्रहरी तालिम केन्द्र पकलीमा थुनामा परेको म मात्र होइन डा. पोखरेल समेत धरान र इटहरीमा सडक कविता आन्दोलनको अगुवाइ गरे वापत पकलीमा नै ल्याएर थुनामा राखेको थियो । अरु साथीहरु पनि थिए तर श्रीमान् र श्रीमती नै यसरी लागेको देखेर प्रहरी प्रम्ुख नै छक्क परेका थिए । डा. पोखरेललाई त धरानको सशस्त्र क्याम्पमा एक रात राखेको थियो रातको १ .बजे छाडिदिएको थियो ।
उहाँ निरन्तर पार्टी र सिद्धान्त निष्ठ हुनुहुन्छ । आलोचनात्मक चेतको उहाँ कसैको पनि अनावश्यक प्रशंसा गर्नु हुन्न । डा. पोखरेल निष्ठाको राजनीति गर्ने भएकाले विकृति पटक्क मन पराउनु हुन्न । घरमा नै पनि कसैलाई अनावश्यक रुपमा दुःख दिनु् हुन्न कसैको बिनसित्ती खानु र मास्नु हुन्न कुभलो गर्नुहुन्न भन्नु हुन्छ ।

हाम्रा घरमा बेलाबेला विभिन्न विषयमा सामूहिक छलफल नै हुन्छ । उहाँ माक्र्स र माओ आदि नेताका कोटेशन उल्लेख गरेर उदाहरण दिएर भन्नु हुन्छ । जीवनभर इमान्दार हुने कुरा चाहिँ ठूलो हो माओको भनाइको व्याख्या गर्नुहुन्छ ।

उहाँलाई भेट्न आएका कतिपय कविले पनि अन्याय भएको बताएको मैले सुनेकी छु । मेरी बहिनी डा. निर्मला न्यौपाने पोखरेलले डा. पोखरेललाई प्रज्ञा प्रतिष्ठनका कुलपति गंगा प्रसाद उपे्रतीलाई एक फोन गरे तपाईँलाई पुरस्कार दिने थिए भनिन् तर उहाँले उपे्रतीलाई फोन गर्न वा चाकरी गर्न मान्दै मान्नु भएन । अनि प्रदेश नं. १ को पुरस्कारका लागि प्रकाशित सूचना अनुसार म आफैँले उहाँका सात कृतिहरु प्रदेशमा लगेर दिएँ । विगत सालको पुरस्कार उहाँले पाउने व्यापक चर्चा चल्यो । तर पुरस्कार छनौट समितिका प्रमुख एमाले कार्यकर्ता नेपाली थरिले कुन खालको दुराग्रह राखेर डा. पोखरेलको नाम सिफारिस नभएको एक लेखकले बताएको सुनेकी छु । हुन त सामजिक विकास मन्त्रालयका तत्कालीन पूर्व मन्त्री नै पनि लबीगत संकीर्ण सोच राख्ने नेता भन्ने मैले सुनकी थिएँ, त्यति बेला ।

उपर्युक्त यस्ता सबै खालका तमाम खरावीसित ज्ुधेर पनि जीवनभर कम्युनिस्ट आस्थामा लाग्ने अष्टलक्ष्मी शाक्यहरु हाम्रा आदर्श हुनुहुन्छ । वर्तमान राष्ट्रपति विद्या भण्डारीको योगदान पनि कम्तीको छैन । तर कतिपय बुद्धिजीवी र विश्लेषक भनेर चिनिएकाहरु नै उहाँलाई महिला भनेर होला ओल्चिएर बोल्छन् । बाबुको छोरो हुँ भनेर मात्र गर्व गर्ने मर्दहरु आमालाई कहाँ समान सम्मान गर्छन् र ?

आदरणीय सहिद पत्नीहरु विश्वेश्वरा दाहाल,माया ज्ञवाली, गोमा देवकोटा, हुनुहुन्छ । त्यसैगरी शान्ता मानवी हुनुहुन्छ जसले बाल विधवा भएर पनि सबै रहरलाग्दा बैँस वसन्त समाजका लागि अर्पण गर्नु भयो । उहाँले पनि मलाई लेख्ने र समाजसेवामा लागि रहने प्रेरणा दिनुभयो ।एमालेमा मात्र होइन नेका लगायत पार्टीमा पनि लामो समय समाजसेवामा निरन्तर लागि पर्नु भएका महिलाहरु अझै जीवित हुनुहुन्छ । उहाँहरु महिला आदर्श हुनुहुन्छ । वहाँहरुका बारेमा एउटा किताव लेख्न र प्रकाशन गर्न मन छ । यस विषयमा सुशील शर्मा,काठमाडौँ सित सल्लाह गरेकी छु । अर्की एक जना वरिष्ठ पत्रकार कविता अधिकारी पनि हुनुहुन्छ । वहाँ सूचनाप्रेस नामको अनलाइन पत्रिका सञ्चालन गरिरहनु भएको छ । यस्ता काम पनि काम हुन् भन्ने हामी कति छौँ । सबैलाई सभासद्को टिकट नै चाहिएको छ ।

दुःखसुख पनि नसाट्ने नेताले जनसभामा मुट्ठी बटारेर के हुन्छ ? विगत स्थानीय निर्वाचनमा घमण्डले चुर हँुदा कतिपय नगर पालिकाको प्रमुखमा एमालेले हार्नु प¥यो । तर तिनलाई सम्झाइदिने कोही छैन ।

डा. भन्नुहुन्छ भात खानु र भातै मात्र खानु भन्दा जिन्दगी भविष्य हो । पार्टीले दिएका औसरहरुलाई दालभात खानमै मात्र खर्च गर्ने हो भने के अर्थ भो र ? अहिले नै मैले लेख लेख्न सिकेँ जाने एउटा किताब लेखेँ अर्को पनि छाप्ने सुरमा छु । पद अस्थायी हुन्छ तर सिर्जनात्मक तथा रचनात्मक निर्माणात्मक काम लामो समयसम्म रहन्छ । भात मात्रै खाएर त त्यो भोलि नै बिस्टा हुन्छ । भविष्यका लागि काम गर्नेहरु समाजका प्रेरणा हुन्छन् । त्यसैले अष्टलक्ष्मी शाक्यहरु प्रेरणाका स्रोत हुनुहुन्छ । हामी कतिपय महिलामा अहिले पनि पितृसत्तात्मक सोचले घर गरेको छ । हामी महिलाका योगदान,बलिदान र महत्वपूर्ण भूमिकाका बारेमा दुई अक्षर लेख्तैनौँ । छ नत हामी मध्ये कतिपय माननीय र मन्त्री पनि भएका छौँ तर फेसबुक र मेसिन्जरमा गथासा गर्नु बाहेक अरु पढ्न पाइन्न । महिला मैत्री हुने हो भने महिला प्रतिभाको सम्मान र सोधखोज गर्नु पर्छ र तिनलाई अझ प्रेरणा दिने काम गर्नु पर्ने हो । तर त्यसो गर्न हामीलाई केले छेकेको छ,अचम्म लाग्छ । राधिका शाक्यले एउटा महत्वपूर्ण किताब प्रकाशन गर्नु भयो, त्यसलाई पढिदिने र त्यसका बारेमा चर्चा गरिदिने महिला को को छन् थाहा पाइएको छैन । बौद्धिक तथा सिर्जनात्मक विकास गर्ने गराउने काममा संगठन लाग्नु पर्ने हो । त्यसो गर्न हामीलाई केले छेकेको छ ? प्रतिभाहरु उमार्ने र हुर्काउने यस्तो महत्वपुर्ण अवसर हामी राम्ररी सदुपयोग सकिरहेका छैनौँ । हामीले सर्बै हिसावले सबै क्षेत्रमा समान रुपमा स्वस्थ्य प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाउन विशेष ध्यान दिनुपर्छ । हामी महिलाले नै सबै क्षेत्रमा अष्टलक्ष्मी शाक्य लगायत अनेक सकारात्मक सन्देशमूलक काम गरेर नमूना बन्नसक्नु पर्छ ।

(लेखक एमाले प्रदेश नं. १ सल्लाहकार तथा अनेम संघको केस हुनुहुन्छ ।)