८ जेष्ठ २०८१, मंगलवार 1716332619
Banner

किन बदल्ने शिक्षाको चरित्र ?

“शिक्षाको चरित्रले देशको चित्र निर्धारण गर्छ।” नेपालमा शिक्षा तथा सामाजिक व्यवस्थामा पश्चिमा विश्वदृष्टिकोण हावी हुँदा हाम्रो राष्ट्रिय चरित्र राष्ट्रको स्वार्थ हेर्ने खालको भएन। आफ्नो मौलिकता र पहिचान त्याग्नुलाई प्रगति ठान्ने नागरिक तयार भैरह्यो। त्यसैले शिक्षा तथा सामाजिक व्यवस्थाको चरित्रमा आधारभूत परिवर्तन नगरी न देशका लागि असल नागरिक तयार गर्न सकिन्छ न त राजनीतिक, प्रशासनिक, न्यायिक, प्राज्ञिक र सामाजिक नेतृत्व नै असल पाउन सकिन्छ। यो सत्य हामी सबैले स्वीकार गर्नुपर्ने भएको छ।

जनमनोविज्ञान नकारात्मक बनाउने, अराजकता र स्वछन्दतामा रमाउने अनि परदेश पलायनमा प्रगति देख्ने नागरिक तयार गर्ने शिक्षा तथा सामाजिक(आर्थिक व्यवस्था कायम भएसम्म देशले राजनैतिक तथा संवैधानिक स्थिरतासहित समृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय सङ्कल्प पुरा गर्न सक्दैन्। त्यसैले यो नकारात्मक अवस्थाबाट देशलाई मुक्त बनाउन शिक्षा व्यवस्थलाई पूर्वीय विश्वदृष्टिकोणको जगमा विकास गरेर पश्चिमा विश्वदृष्टिकोणलाई हाम्रो स्वार्थअनुसार सन्तुलित रूपमा प्रयोग गर्ने परिपाटी स्थापित गर्नुपर्छ। किनभने जोन एफ केनेडीले भनेझैं “शिक्षाको लक्ष्य ज्ञानको विकास र सत्यको प्रसार हो। ”

शिक्षाले सबैको जीवनलाई सहज र समृद्ध बनाउन सधैं मद्दत गर्नुपर्थ्यो। तर नेपालको शिक्षाले हरेक नागरिकलाई त्यस्तो मद्दत गर्न र अवसर उपलब्ध गराउन सकेको छैन्। जसका कारणले हाम्रो शैक्षिक उत्पादन एकै खालको भएन। जबकि शिक्षा हरेकका लागि समृद्ध जीवन र दिगो भविष्यको आधार बन्नुपर्थ्यो। अब प्रश्न उठ्छ, कस्तो चरित्रको शिक्षा भयो भने समृद्ध नेपाल सुखी नेपाली बनाउने आधार बन्न सक्छरु शिक्षाको चरित्र बदल्न के के कुरामा ख्याल गर्नुपर्छ ? शिक्षाको चरित्र बदल्न भाषिक तथा सांस्कृतिक विविधताको भूमिका कति हुन्छ ? लोकतान्त्रिक प्रणालीलाई जनमुखी बनाउन शिक्षाको भूमिका के हुन्छ ? यी प्रश्नहरूको ठीक उत्तर खोज्न नसक्दासम्म न शिक्षाको चरित्र देशमुखी बनाउन सक्छौं न त लोकतान्त्रिक प्रणाली नै परिपूर्ण अर्थात जनमुखी बन्न सक्छ। अहिले भइरहेको पनि त्यही हो।

त्यसैले यति बेला शिक्षा व्यवस्थालाई गुणात्मक बनाएर समावेशी बनाउनका लागि शिक्षाको चरित्रिमाथि नै समीक्षा अनिवार्य भएको छ। तर शिक्षा मन्त्रालयको नेतृत्वमा रहेकाहरू काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने पारामा गतिविधिहरू गरिरहेका छन्। समस्या एकातिर छ समाधान अर्कैतिर खोजेर पद, प्रभाव, समय र श्रोतको दुरूपयोगमा रमाइरहेका छन्। वास्तवमा हामी आजको प्रश्नमा केन्द्रीत हुनुपर्छ। समयको आवश्यकता, जनताको चाहाना र क्षमतालाई बुझ्नुपर्छ। शिक्षा व्यवस्था बिग्रनुको मुख्य कारण चिन्नुपर्छ। शिक्षा व्यवस्थामा गुणात्मक सुधार ल्याउन यसको चरित्र नै बदल्नु पर्छ। म्याकुल्ले सिद्धान्तको पछि लाग्न छोड्नु पर्छ। पूर्वीय विश्वदृष्टिकोणको जगमा नयाँ शिक्षा व्यवस्थाको विकास गर्नुपर्छ। किनभने शिक्षा देशको सामाजिक आर्थिक परिवर्तनको मुख्य आधार हो।

शिक्षा त्यस्तो सम्पत्ति हो जुन हामीबाट कसैले छिन्न सक्दैन्। यो सम्पत्तिको चरित्र गुणस्तरीय नबन्दासम्म देशको क्षमता जनअपेक्षा पुरा गर्ने खालको बन्दैन्। भनिन्छ नि शिक्षाको लक्ष्य ज्ञान र तथ्य जान्नुमात्र होइन, त्यसको मुल्य पनि बुझ्नु हो। हरेक नागरिकको मनस्थितिलाई खुला र फराकिलो बनाउनु हो। मतलब हरेक नागरिकलाई वास्तविक अर्थमा शिक्षित, साक्षर र क्षमतावान बनाउनु हो। त्यसैले हामीले बुझ्नुपर्छ, शिक्षा भनेको अनन्त सम्भावनाहरूको ढोका खोल्ने कुञ्जी हो। यो कुञ्जीको चरित्र बदल्नु पर्ने अनिवार्यतालाई मनन गरेर अघि बढ्ने सङ्कल्प गर्ने बेला हो।

शिक्षालाई लिएर संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानले भनेका छन्, “ज्ञान शक्ति हो। जानकारी मुक्ति हो। शिक्षा हरेक समाज र प्रत्येक परिवारमा प्रगतिको प्रक्रियाको आधार हो।” त्यस्तै तिब्बतीहरूको भनाइ छ, “शिक्षा बिनाको बालबालिका पखेटा बिनाको पंक्षी जस्तै हो।” यी दुई भनाइले जीवनमा शिक्षाको महत्त्व कति छ भनेर हामीलाई बुझाएको छ। यसबाट सिकेर हामीले हाम्रो शिक्षा व्यवस्थाको चरित्र कस्तो बनाउने भन्ने निश्कर्षमा पुग्नुपर्छ। कौटिल्यका अनुसार सिकाइ अर्थात शिक्षाको उद्देश्य ज्ञान प्राप्त गर्नु मात्र होइन। ज्ञान, ज्ञानको वस्तु र ज्ञानको प्रयोग—तीनवटै उत्तिकै महत्त्वपूर्ण छन् भनेर बुझ्नु हो। त्यसैले भन्ने गरिन्छ, शिक्षित दिमाग जीवनको सबैभन्दा बहुमूल्य स्रोतहरू मध्ये एक हो।

आजको यथार्थ के हो भने नेपालको शिक्षा व्यवस्थामा पश्चिमा विश्वदृष्टिकोण र अंग्रेजी भाषाको प्रभाव बढ्दा हाम्रो नयाँ पुस्तामा पलायन संस्कृति व्यापक बन्दैछ। यो प्रवृत्ति समृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय सङ्कल्पको यात्रामा बाधक बनिरहेको छ। नयाँ पुस्ता देशको पहिचान त्यागेर विदेशी नागरिक बन्नुलाई प्रगति भएको ठान्दैछ। जसले गर्दा हिजोआज गाँउघरमात्र होइन सहर नै युवाविहिन बन्दैछ। जबकि देश समृद्ध बनाउन युवा सोच, श्रोत, श्रम र समय अनिवार्य हुन्छ। त्यसैले नयाँ पुस्तालाई पूर्वीय चरित्रको शिक्षाबाट प्रशिक्षित गरिरहन शिक्षाको चरित्र बदल्नु पर्ने भएको छ।

नागरिक निर्यात गरेर वस्तु आयात गर्न सिकाउने चरित्रको शिक्षा व्यवस्था कायम भएसम्म देशको सामाजिक आर्थिक अवस्थामा गुणात्मक सुधार हुँदैन्। यो कुरो नागरिकदेखि नेतृत्वले बुझ्नुपर्ने भएको छ, जसरी स्लाईन लगाएर तिर्खा मेटाउन सकिन्न त्यसरी नै दानअनुदान र विप्रेषण समृद्धिको आधार बन्न सक्दैन्। तिर्खा मेटाउन पानी पिउनु पर्छ भने देश समृद्ध बनाउन जनताले देशको माटोलाई आफ्नै पसिना र परिश्रमले उर्वर बनाउनु पर्छ। यसका लागि नागरिकलाई मानसिक रूपमा तयार गर्न सोअनुरूपको चरित्र भएको शिक्षा व्यवस्थाको विकास गरी त्यसमा लगानी बढाउनु पर्छ।

आज हामीले हाम्रो र नयाँ पुस्ताको मनलाई पूर्वीय चरित्रको शिक्षाको ज्ञानले उज्यालो बनाउनु पर्ने भएको छ। जसले तपाई हाम्रो जीवनबाट अन्धकार हटाउने छ। म्याकुल्ले सिद्धान्तबाट निर्देशित शिक्षा व्यवस्थाको चरित्र बदल्नु पर्ने भएको छ। यो नै आज राजनीतिको मुख्य मुद्दा बन्नु र बनाउनु पर्छ। तर हामी भने भ्रमित सूचना र हल्लाहरूमा अलमलिएका छौ र राजनीति र राजनीतिक नेतृत्वमा मात्रै दोष देखिरहेका छौं। जबकि शिक्षा बिग्रिएर नागरिक, नागरिक बिग्रिएर नेतृत्व अनि नेतृत्व बिग्रिएर राजनीति अनि राजनीति बिग्रिएर देशको अवस्था बिग्रिएको हो। त्यसैले पनि अनिवार्य रूपमा शिक्षा व्यवस्थाको चरित्र बदल्नु पर्ने भएको हो।

शिक्षा भनेको परीक्षाका लागि होइन। यो त सिक्ने सिकाउने निरन्तर प्रक्रिया हो। विद्यालयदेखि विश्वविद्यालयहरूको शिक्षा परीक्षा लिने र परिणाम सुनाउने मात्र होइन, शिक्षा प्रणालीको सफलता र असफलता अनि सान्दर्भिकता र असान्दर्भिकताको जाँच पनि हो। तर हाम्रो परीक्षा प्रणाली विद्यार्थी पास र फेल बनाउने र सुनाउनेमा मात्र सीमित भइरहेको छ। जसले गर्दा हाम्रा शिक्षालयहरूको लोकप्रियता अर्थात शिक्षालयहरूप्रतिको आकर्षण घट्दो छ। त्यसैले पनि हाम्रो शिक्षा व्यवस्थाको चरित्र बदल्नु पर्ने भएको छ।