६ जेष्ठ २०८१, आईतवार 1716134063
Banner

प्रदीप ज्ञवालीको जितः गुल्मेली र देशको हित

डा ऋषिराम शर्मा

नेपालमा कुनै शालीन, भद्र, हँसमुख, निस्वार्थ, प्रखरवक्ता, साहित्यकार र नेपालका हरेक व्यक्तिले मन पराउने नेताका रूपमा कुनै मिडियाले सर्वेक्षण गरेमा गुल्मीका होनहार सन्तान र लुम्बिनी प्रदेशका दीप एवम् मुलुककै प्रदीप प्रदीप ज्ञवालीको नाम पक्कै पनि शीर्ष पङ्क्तिमा आउने छ ।

यिनै भव्य र उदात्त नेता पदमा पुग्दा पनि निजी लाभ र पारिवारिक स्वार्थको कद नघटाएका र एक आदर्श र जनप्रिय नेताको गरिमा कायम राख्न सफल एक नेतालाई सङ्घीय सांसद चुन्ने अवसर नेकपा एमालेले गुल्मी क्षेत्र नं एकका जनतालाई प्रदान गरेको छ । हो, नेकपा एमालेका उपमहासचिव देशकै एक अब्बल नेता हुन सफल प्रदीप ज्ञवाली गुल्मी क्षेत्र नं एकबाट प्रतिनिधि सभाको उमेदवार बनेका छन् । उनलाई जिताउन गुल्मीका लागि र गुलमेली जनता अधीरता साथ मंसिर चार कुरेर बसेका छन् ।

उनी नेपाली जनताले सजिलैसँग पढ्न सक्ने एउटा सरल र खुला किताब हुन् । संस्कृति मन्त्री हुँदा उनको पहलमा निर्माण सुरु भएको र परराष्ट्रमन्त्री हुँदा परीक्षण उडान भैसकेको विमानस्थल अहिले चिटिक्क परेर जहाज अवतरणका लागि आतुर छ । उनकै सक्रियता र पहलमा रिडीमा मुलुककै दुईओटा ( गन्डकी र लुम्बिनी) प्रदेश र तीन ओटा जिल्ला (गुल्मी पाल्पा र स्याङ्जा) जोड्ने पुलले अहिले रिडी बजारको पर्यटकीय अनुहारलाई ऊज्यालो पारेको छ । सत्यवती पहिरो पीडितका लागि उनले देखाएको पहल र त्यसको परिणामले उनी काम थोरै र हल्ला धेरै गर्ने नेता होइनन् भन्ने पुष्टि हुन्छ । अझ यसो भनौ उनको उद्देश्य नै काम गर्ने हो कुरा होइन ।

बोल्नेको पिठो बिक्ने तर नबोल्नेको चामल पनि नबिक्ने हाम्रो यो समाजमा अर्थात् विज्ञापनले गाँजेको यो परिवेशमा कहिलेकाहीँ साहित्यकार प्रदीप गुल्मीमा आफूले गरेका विकासका कामलाई आत्मप्रचार नगर्दा एक्लो बृहस्पति जस्ता देखिन्छन् । गुल्मीजस्तो पहाडी जिल्लालाई अँगालो हाल्दै यहीको बाटो हुँदै उनकै पहलमा चारचार ओटा राष्ट्रिय राजमार्ग उनकै पहलमा युद्धस्तरमा निर्माण भैरहेछन् यस अभूतपूर्व कदमबाट जिल्लाको भौतिक समुन्नतिको दीगो विकासको दीर्घकालीन द्वार खुलिसकेको छ । यी सारा व्यवहारहरूले के देखाउँछन् भने उनको प्रतिनिधि सभामा निरन्तरता गुल्मीका लागि गौरव हो भने र गुल्मीको विकासका लागि अपरिहार्य जस्तै नै हो ।

उनले परराष्ट्रमन्त्री हुँदा सन्तुलित परराष्ट्रनीतिको अवलम्बन गरे र मुलुकको शिर उच्च हुने गरी काम गरे ः नेपाल राष्ट्रलाई संसारमा चिनिने र सुनिने गरी पहिचान गराए । केपी ओलीको नेतृत्वको मन्त्रीमण्डलमा परराष्ट्र मन्त्री हुँदा उनकै सहजीकरणमा नेपालले भूपरिवेष्टित हुनाको अभिशापबाट मुक्ति पायो र भूजडित मुलुक बन्न पुग्यो । उनकै सहजीकरणमा संसारकै शक्तिशाली देश चिनियाँ राष्ट्रपतिको अभूतपूर्व नेपाल भ्रमण भयो । उनकै पहलमा चिन र भारत दुवैसँग नेपालको सगरमाथाजस्तो उच्च सम्बन्ध बन्यो । आज आएर कम्फर्टेबलवादीहरूले उनले खडा गरेको नेपालको सन्तुलित र सम्मानित परराष्ट्र नीतिको अभेद्य पर्खाल भत्काएका छन् । त्यो पर्खाल ठड्याउन र अन्तर्राषट्रिय जगतमा मुलुकको बदनाम गराउन तम्सिएकाहरूको तेजोवध गर्न पनि गुल्मेली जनताले प्रदीप ज्ञवालीलाई विजयी गराउनु उरुरी छ । उनले जित्दा केबल उनी मात्र जित्दैनन् । गुल्मी जित्छ, लुम्बिनी जित्छ र सिङगो देश जित्छ । अन्तर्राष्ट्रिय जगतमा नेपालको स्वाभिमान र इज्जत जित्छ । उनलाई जिताउनु भनेको नेपाल राष्ट्र र उनले प्रतिनिधित्व गरेको जिल्ला गुल्मीको छाती पनि गजक्क फुल्ने अभूतपूर्व संवेगात्मक कदम हो ।

विपक्षीहरू विकास हुन बाँकी रहेका काम देखाएर प्रदीपमाथि प्रश्न उठाउँछन् । यो त विपक्षीहरूको धर्म नै हो । तर त्यस भ्रमलाई पार्टीले चिर्नु र वास्तविकता देखाउनु जरुरी छ । प्रदीप विजयी हुनु अघिको गुल्मीको भौतिक अवस्था र मुलुकको परराष्ट्रनीतिको अवस्था तथा यो पाँच वर्षको प्रगतिको तुलना गर्दा गुल्मी मुलुकभरका ७६ जिल्लामध्ये सबैभन्दा विकासका काम र दीगो विकासका आधारहरू निर्माण गर्ने काममा जुन प्रगति गरेको छ, केही औँलामा गनिने जिल्ला मध्ये गुल्मी पनि पर्दछ ।

गुल्मीका गौरव हुन् प्रदीप । गुल्मेलीको स्वाभिमानको गदा उठाउने भीम हुन् प्रदीप । मुलुकको नक्सा नै परिवर्तन गरी चुच्चे नक्सामार्फत् देशवासीको शिर उच्च पार्ने केपी ओलीको मन्त्रीमन्डलका सच्चा सारथि हुन् प्रदीप । संसद विकास कोषको रकम होस् वा प्रदेश र राष्ट्रिय स्तरका विकास योजना होऊन् ती सबैलाई गुल्मी र गुल्मेली जनताको घर आँगनमा पुर्याउने प्रदीपले जित्दा गुल्मी जित्छ र सिङ्गो देश जित्छ । तसर्थ गुल्मी एकमा प्रदीपको जितमा नै गुल्मी र गुलमेली जनताको हित छ । प्रदीप र उहाँको टिमका प्रदेश सांसद उमेदवार चिन्तामणि पाण्डे र फर्सुराम पाण्डेको विजयले गुल्मीमा विकासको रफ्तार वृद्धि हुने छ ।