१४ बैशाख २०८१, शुक्रबार 1714168128
Banner

कुहिने फोहोरलाई उपत्यकामा नै व्यवस्थापन गर्न उपयुक्त जग्गा खोज्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले कुहिने फोहोर काठमाडौं उपत्यका भित्र नै व्यवस्थापन गर्न उपयुक्त जग्गा खोजीरहेको छ । सबै किसिमका फोहोर बञ्चरेडाँडा पुर्‍याउँदा पटक–पटक समस्या सिर्जना भएकाले आगामी दिनमा प्रभावकारी रूपमा फोहोरको दीर्घकालीन समाधानका लागि स्थान पहिचानको काममा लागेको काठमाडौ महानगरले जनाएको छ ।

बञ्चरेडाँडामा हानिकारक फोहोर व्यवस्थापन नगर्ने योजना अनुसार महानगरले यस्तो अध्यास गर्न लागेको हो । महानगरका प्रमुखको सचिवालयका सदस्य सुनिल लम्सालले भने, ‘उपत्यकामा तीन स्थानको पहिचान भएको छ। बीचमा केही अवरोध नआए आगामी मंसिरदेखि उक्त कामको थालनी हुनेछ। त्यस विषयमा सम्बन्धित स्थानका स्थानीयसँग छलफल भइरहेको छ।’

फोहोर व्यवस्थापन गर्न एउटा ठाउँमा कम्तीमा करिब ५० रोपनी जग्गा आवश्यक पर्नेछ। हाल कामपा र अन्य १७ स्थानीय तहसहित उपत्यकाको १८ स्थानीय तहको फोहोर अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लैजाने गरिएको छ। यो नै उपयुक्त विकल्प नभएकाले कुहिने फोहोरलाई उपत्यकामा नै र नकुहिनेलाई अन्तिम व्यवस्थापनका लागि उक्त स्थानमा लैजान कामपाले स्थान पहिचान गरिरहेको छ।

अन्य सम्भावित स्थानको पहिचान गर्ने कार्य जारी छ। हालसम्म उपलब्ध भएका जग्गा ५० रोपनीदेखि एक सय ५० रोपनीसम्म छ। यसअघि विगत १६ वर्षदेखि उपत्यकाको १८ स्थानीय तहको फोहोर नुवाकोटको सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो।