१४ बैशाख २०८१, शुक्रबार 1714170321
Banner

आफ्नै सरकारका पालामा ल्याएको रेल चढदै अध्यक्ष ओली जनकपुरमा

जनकपुरधाम । पूर्व मन्त्री तथा लोसपाका प्रमुख सचेतक उमाशंकर अरगरियालाई एमालेमा प्रवेश गराउन एमाले अध्यक्ष ओली जनकपुरधाम पुग्नुभएको छ ।

यसअघि नेपाली काँग्रेसका युवा नेता सन्तोष यादवलगायत नेता कार्यकर्ताहरुलाई पार्टीमा प्रवेश गराउन भदौ २७ गते जनकपुर पुग्नुभएका अध्यक्ष ओली १८ दिनपछि फेरी जनकपुर पुग्नुभएको हो ।

आज अगरियासहित हजारौँ कार्यकर्तालाई एमाले प्रवेश गराउन जनकपुर पुग्नुभएका अध्यक्ष ओलीले आफ्नै सरकारका पालामा ल्याएको रेल चढ्नुभएको हो । जनकपुरबाट टिकट काटेर अध्यक्ष ओली धनुषाको विदेह नगरपालिकास्थित तीनकोरियाको रेल स्टेशनसम्म पुग्नुभयो । एमालेका नेता कार्यकर्तासहित जनकपुरबाट रेल चढेर महिनाथपुर पुग्नुभएको हो। रेल चढ्ने क्रममा आफूलाई निकै राम्रो लागेको अध्यक्ष ओलीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आफ्नो रेल, आफ्नो भूमि चढ्दा राम्रो लागेको छ। हामीले राम्रा काम गरेका छौँ। अहिले रेलमा जाँदै छौँ फर्कदा हामीहरुले बनाएको हुलाकी राजमार्गबाट आउँछौँ।’

मधेशका लागि यातायात कृषि आधुनिकरण, शिक्षा स्वास्थ्य लगायतका बिषयमा जोड दिनपर्ने उहाँको भनाइ थियो। ओली प्रधानमन्त्री हुँदा नेपालमा रेल, पानीजहाज लगायतको महत्वाकांक्षी योजना अघि सार्नभएको थियो ।