१६ बैशाख २०८१, आईतवार 1714332745
Banner

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलबाट कांग्रेस र एसका २७ जना युवालाई एमाले प्रवेश

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आज २७ जना युवाहरूलाई पार्टीमा प्रवेश गराउनु भएको छ ।

काठमाडौंको बुढानिलकण्ठमा नेपाल खेलकुद महासंघले आयोजना गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले विभिन्न पार्टी परित्याग गरेका २७ जना युवालाई एमालेलाई प्रवेश गराउनु भएको हो । प्रवेश गर्नेमा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३, ४ र ५ का युवाहरू रहेका छन् । उनीहरू नेपाली कांग्रेस र एकीकृत समाजवादी छाडेर एमाले प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले युवाहरूलाई एमालेले सधैं प्राथमिकतामा दिएको बताउनु भयो । एमालेले युवाहरूलाई साथमा लिएर ‘सुखी नेपाली समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षा पूरा गर्न चाहेको उहाँको भनाइ थियो।  

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल आजै बुढानिलकण्ठ नगरपालिका–७ मा मतदाता र अगुवा कार्यकर्ताहरूले आयोजना गरेको छलफलमा पनि सहभागी हुनुभयो ।