१४ बैशाख २०८१, शुक्रबार 1714167299
Banner

गठबन्धनको निर्णयक वार्ता आज हुँदै, जसपा अध्यक्ष अनुपस्थित हुने

काठमाडौँ– एमसीसीको विषयमा सहमति जुटाउन बिहिबार गठबन्धनको ‘निर्णायक’ बैठक बोलाइएको छ । हिजोको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने अडानबाट प्रधानमन्त्री शेरबहादुर देउवा भएपनि सरकारबाट माओवादी केन्द्रले बाहिरिने निर्णय गरेपछि देउवा पछि हटनुभएको थियो। देउवाको लचकताका कारण आज ३ बजे सत्ता गठबन्धनको बैठक बसेर गठबन्धन अघि बढने या टुंगिने भन्ने बिषयमा निर्णय हुने स्रोतले बताएको छ ।

तर, निर्णायक भनिएको यो बैठकमा गठबन्धनकै एउटा घटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अनुपस्थित हुने बताइएको छ । एमसीसी पास गर्नुपर्ने पक्षमा रहेको जसपा पनि पछिल्लो समय एमसीसी पास गर्ने विषयमा मौन बसेको छ ।

बुधबार एमसीसीलाई प्रतिनिधिसभा बैठकको कार्यसूचीमा पार्न प्रयासरत काँग्रेसलाई जसपाले साथ दिएन । बैठकमा जसपा सहभागी नै भएन र एमसीसीको विषयमा एमालेकै लाइनमा उभिन पुग्यो ।

यादव बिहीबार सिरहामा राखिएको पार्टीको कार्यक्रममा सहभागी हुन जाँदैछन् । महत्वपूर्ण बैठकमा उपस्थित हुनुपर्ने भए पनि उनी गठबन्धनको बैठकमा सहभागी नहुने जसपाका एक नेताले जानकारी दिनुभयो ।

बुधबार प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलपछि आजका लागि गठबन्धनको निर्णायक बैठक बोलाइएको हो ।