२२ माघ २०७९, आईतवार 1675581187
पर्यटन

आहा ! क्या सुन्दर छ, ‘रामपुर’

पाल्पा-चारैतिर डाँडाकाँडा । बीचमा समथर भूमिमा फैलिएको बस्ती । कलकल बहेकी कालीगण्डकी नदीको मनोरम दृश्यले लोभलाग्दो सुन्दर शहर रामपुर । यही सुन्दर ठाउँलाई साहित्यकार मित्रलाल गौतम कवितामा यसरी अभिव्यक्त गर्नुहुन्छ:

‘सीताकुण्ड छ त्यो पवित्रस्थल जो राम्चे भ्युटावर, कालीको जलले झिलिमिली बन्यो क्या सुन्दर रामपुर ।’

साहित्यकार गौतम छन्द लयमा कविता कोर्न बढी मन पराउनुहुन्छ । उहाँका कविताले ग्रामीण भेगको जनजीवनलाई यथार्थ चित्र गर्ने खालका हुन्छन्, जसले दर्शक तथा स्रोतालाई मन्त्रमुग्ध बनाउँछ । अहिलेको परिवेशमा मुक्तक, कविता, गजल, हाइकुलगायतका विभिन्न सिर्जनालाई सही रुप दिन नसकिरहेको हुँदा स्थानीयस्तरमा नै सीमित रहन पुगेको उहाँले अनुभूति गर्नुभएको छ ।

गौतमका सिर्जना कापीमा थुप्रै कोरिएका छन् । चाडपर्व विशेष, मेला, महोत्सव, समसामयिक, गाउँका परिवेशलाई जस्ताकोतस्तै टपक्क टिपेर कविता तयार पार्नुहुन्छ उहाँ । पछिल्लो समयमा साहित्य क्षेत्रमा हाइकु, गजल बढी प्रकाशित भएका छन् तर तिनीहरुलाई नै प्राथमिकता दिँदै नेपाली साहित्यप्रति ऊर्जा थप्नको लागि हरेक क्षेत्रबाट सहयोग गरिनुपर्नेमा उहाँको जोड छ ।

विशेष गरी रामपुरमा प्रतिभावान् साहित्यकार भए पनि राष्ट्रियस्तरसम्म पुग्न नसक्नुका कारण तल्लो तहका मानिसमा यसको चेतना पुग्न नसक्नु, सञ्चार, ज्ञानलगायतको समस्या रहेको बताउनुहुन्छ, स्रष्टा नारायण चापागाई । उहाँ भन्नुहुन्छ, “समाजमा हुने विकृति विसङ्गतीलाई साहित्यको माध्यमबाट बाहिर ल्याउन खोज्दा साहित्य नबुझेका व्यक्तिबाट आक्रमणमा परी केही क्षति हुने हो कि भन्ने डरले केही प्रतिभावान् साहित्यकार अझै पनि खुल्न नचाहेको देखेको छु ।”

रामपुरलाई साहित्यकार चापागाई कतिवामार्फत व्यसरी व्यक्त गर्नुहुन्छ : धार्मिक मूल्य मान्यताले यहाँ, भरिएको रामपुर ठाउँ ।
नगरपालिकामा बदलियो अहिले, पहिलेको सानो गाउँ ।।
भाषा धर्म कलाले यहाँ, सजियो कस्तो अहिले ।
आज यस्तो होला भनी सोच्न, को भ्याएको थ्यो पहिले ।
काली नदी बग्दछ सलल, हिमालको हिउँ झरी ।
शालिग्राम भेटिन्छन् यहाँ बहुमूल्य हीरा सरी ।

साहित्य समाज रुपान्तरण गर्नका लागि प्रमुख हतियार रहेको उहाँको ठम्याइ छ ।

नाम चलेका कवि साहित्यकारले जस्तै राम्रा सिर्जना कोर्ने साहित्य स्रष्टा भए पनि माथिल्लो स्तरसम्म पुग्न नसकिरहेको र स्थानीयस्तरमा नै प्रस्फुटन गर्ने अवसर रामपुर साहित्यिक प्रतिष्ठानले दिलाएको बताउनुहुन्छ मुक्तक मञ्च रामपुरका सचिव समीर पौडेल । सानैदेखि साहित्यमा रुचि राख्ने नारायण समर्पणले मुक्तक, गजल, कवितामा विशेष कलम चलाउनुहुन्छ । कथामा पनि रुचि उत्तिकै छ । प्रतिभा भए पनि स्थानीयस्तरमा नै सीमित बन्नुपरेको उहाँ गुनासो गर्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “साहित्यबाट जीवन जिउने आधार बनेको छैन, एउटा निश्चित भूगोगमा मात्रै सीमित बन्नुपरेको छ, समय मिलेमा पुस्तक प्रकाशन गर्नेछु, साहित्यको फाँटमा नारायण समर्पण भनेर चिनाउने धोको छ, यसको लागि राष्ट्रियस्तरसम्म पुग्ने वातावरणको खाँचो छ ।”

उत्कृष्ट साहित्य रचना लेखनका लागि उत्कृष्ट साहित्यकारका लेख रचना अध्ययन गरिनुपर्दछ । विभिन्न विद्यालय, सङ्घ संस्थामा स्थापना भएका पुस्तकालयमा उत्कृष्ट साहित्य पुस्तक रहे पनि अध्ययनको खडेरी हुँदा यस क्षेत्रमा साहित्यको विकास कम भएको ६३ वर्षीय दीपकमणि अर्यालको बुझाइ छ । साहित्य अध्ययन, गद्य, छन्दबद्ध कविता, निबन्ध लेखनमा अर्यालको रुचि छ ।

“लेखनशैलीमा विविधता हुनुपर्छ जसले पाठकलाई पढुँ पढुँ बनाउँछ, उत्कृष्ट रचनाको तुलनामा हाम्रो रचना केही होइन, पुस्तक प्रकाशन गर्नु भनेको धेरैले पढ्नु भन्ने आकाङ्क्षा हो तर यहाँ पुस्तक अध्ययन गर्ने पाठक अति न्यून छन्”, अर्यालले भन्नुभयो । दुई÷तीनवटा प्रकाशन गर्न मिल्ने साहित्य रचना रहे पनि अध्ययन गर्ने बानी पाठकमा कम हुँदा आफ्नै सङ्ग्रहबाट पुस्तक प्रकाशन गर्नुभएको छैन । उहाँका केही रचना फ्याट्टफुट्ट मात्रामा पत्रपत्रिका र स्मारिकामा भने प्रकाशन भएका छन् ।

लुकेर रहेका साहित्यिक स्रष्टालाई अगाडि सार्ने र साहित्यिक माध्यमबाट समाज रुपान्तरणमा साहित्यकारको पनि भूमिका खेल्नका निम्ति विसं २०७३ मा संस्था गठन गरेर अनवरतरुपमा साहित्यिक गतिविधि रामपुरमा हुने गरेको रामपुर साहित्यिक प्रतिष्ठानका अध्यक्ष बासुदेव ढकाल बताउनुहुन्छ ।