१२ बैशाख २०८१, बुधबार 1713998651
पालिका

नगरले हस्तक्षेप गरेको भन्दै वडा कार्यालयको सेवा बन्द  

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको सेवा अनिश्चित कालका लागि बन्द गरिएको छ । 

वडाको विकास निर्माणमा नगरपालिकाले ठाडो हस्तक्षेप गरेको भन्दै वडाध्यक्ष लिलाकुमार चौहान र चार वडा सदस्यले शुक्रवारदेखि वडाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरेका हुन् । 

फरक दलले जितकै कारण वडालाई योजना नदिने, सम्पन्न भइसकेका योजनाको भुक्तानी रोक्का गर्ने, वडा कार्यालयले गरेका सम्पूर्ण कार्यहरूमा अवरोध गर्ने र दुःख दिने, कर्मचारी हेरफेर गरेकाले वडाको औचित्यमाथि प्रश्न उठेकाले सेवा बन्द गर्नुपरेको वडाध्यक्ष चौहानले बताउनुभयो । 

गत ३० वैशाखको स्थानीय तहको निर्वाचनमा गठबन्धनका बाबजुद दोर्पाचिउरीडाँडामा चौहानसहित पाँच जनप्रतिनिधि एमालेबाट निर्वाचित भएका हुन् ।

नगरपालिकामा गठबन्धनबाट काँग्रेसका तीर्थराज भट्टराई मेयर र माओवादी केन्द्रका बिसन राई उपमेयरमा विजयी हुनुभयो । 

मेयर भट्टराई र उपमेयर राईले अभिभावकको भूमिका निर्वाह गर्नुपर्नेमा दलगत र समूहगत रूपमा वडालाई पक्षपातपूर्ण व्यवहार गर्नु दुःखद र सङ्घीयता विरोधी कार्य भएको वडा अध्यक्ष चौहानले बताउनुभयो। 

मेयर र उपमेयरले लिखित रूपमा वडामा हस्तक्षेप नगर्ने प्रतिबद्धता नजनाए सम्मका लागि वडा कार्यालयबाट प्रवाह हुने सेवा अनिश्चितकालका लागि बन्द गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

“गठबन्धनको उम्मेदवारले नजितेकै कारण समग्र वडावासीलाई असर पार्ने गरी हस्तक्षेप गरेर कानुनी राज्यको खिल्ली उडाइएको छ”, वडाध्यक्ष चौहानले भन्नुभयो, “नगरपालिकाको हस्तक्षेपबाट वडाले गर्ने काम, कर्तव्य र अधिकार प्रयोग गर्न सक्ने कुनै आधार देखिँदैन । वडा कार्यालय सञ्चालन गर्नुपर्ने आवश्यकता र औचित्यमाथि प्रश्न चिन्ह खडा भएको छ ।” 

फरक आस्था र विचार राख्ने करारका कर्मचारीलाई बिना जानकारी हटाउँदा वडाको सेवा समेत प्रभावित भएको उहाँले बताउनुभयो ।