१४ बैशाख २०८१, शुक्रबार 1714190221
प्रदेश

गौरा महोत्सव तथा प्रादेशिक देउडा प्रतियोगिता सुरु

धनगढीमा आजदेखि गौरा महोत्सव तथा प्रादेशिक देउडा प्रतियोगिता सुरु भएको छ । देउडा प्रतिष्ठान केन्द्रीय कार्यालय सुदूरपश्चिम प्रदेशको आयोजनामा सुरु भएको गौरा महोत्सव तथा प्रादेशिक देउडा प्रतियोगिताको एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्नुभयो ।

उद्घाटनका क्रममा प्रदेश प्रमुख जोशीले गौरा माताले हामी सबैलाई अग्र गतिमा हिँड्ने प्रेरेणा मिलोस् भन्ने कामना व्यक्त गर्नुभयो । “सहित्य र सङ्गीत जसलाई पनि प्रिय हुन्छ”, प्रदेश प्रमुख जोशीले भन्नुभयो, “चाहे त्यो जुनसुकै ठाउँको किन नहोस् त्यसमा पनि जुन परिवेशमा बाल्यकालमा आफू हुर्केको छ भने त्यो ठाउँको साहित्य र सङ्गीत सुन्दा र संलग्न हुन पाउँदा अत्यन्तै खुसी लाग्ने गर्दछ ।” देउडा लोक संस्कृतिसँगै नेपाली भाषा, संस्कृतिको संरक्षण, सम्वद्र्धन एवं प्रचारप्रसार गर्ने उद्देश्यले गौरा महोत्सव तथा प्रादेशिक देउडा प्रतियोगिताको आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक दलबहादुर बोगटीले जानकारी दिनुभयो । महोत्सवमा प्रादेशिक देउडा प्रतियोगितासँगै सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका झाँकी÷गौरा प्रदर्शनी, लोकबाजाको प्रदर्शन, लोक नृत्य तथा लोक गायन, अग्रज स्रष्टालाई सम्मान र चर्चित कलाकारको प्रस्तुति पनि रहने आयोजकले बताएको छ ।

देउडा प्रतियोगिताका प्रथम हुनेलाई रु २५ हजार एक सय ११, द्वितीय हुनेलाई रु १७ हजार एक सय ११, तृतीय हुनेलाई रु ११ हजार एक सय ११ र सान्त्वना पुरस्कार रु पाँच हजार एक सय ११ प्रदान गरिने छ । प्रतियोगिता यही भदौ १९ गतेसम्म सञ्चालन हुनेछ ।