१५ बैशाख २०८१, शनिबार 1714215419
समाचार

सवारी दुर्घटनामा चालकको निधन

पासाङल्हामु मार्गअन्तर्गत ग्रामीण भेकमा भएको सवारी दुर्घटनामा एक सवारी चालकको आज निधन भएको छ । निधन हुनेमा दोलखा जिल्ला गौरीशङ्कर गाउँपालिका–५ घर भएका नं ना३ख एक सय ९१ कन्टेनरका डिब्बा चालक २३ वर्षीय विश्वनाथ भुजेल रहेको जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दले जानकारी दिनुभयो । रसुवाबाट काठमाडौँ जाने क्रममा उक्त डिब्बा दुर्घटनामा परेको थियो ।

दुर्घटनापश्चात् घाइते चालकलाई नेपाली सेना विष्णुदल गणले घटनास्थलबाट तत्काल उद्धार गरी नुवाकोटको त्रिशूली अस्पताल पु¥याइए पनि निजको अवस्था थप जटिल बन्दै गएपछि त्रिवि शिक्षण अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । गत साउन २५ गते बनुवा खण्डको पासाङल्हामु मार्गमा पहिरो गई रसुवा–काठमाडौँको सिधा सम्पर्क विच्छेद भएपश्चात् वैकल्पिक मार्गका रूपमा खोलिएको धारापानी आम भञ्ज्याङ खण्डको ग्रामीण सडकअन्तर्गत बेलचौर क्षेत्रमा उक्त घटना भएको हो ।

वैकल्पिक मार्गमा हल्का सवारीसाधनबाहेक अन्य सवारीसाधन गुडाउन अनुमति नदिएको अवस्थामा डिब्बा चालकले प्रहरीलाई छलेर साँघुरो सडक प्रयोग गर्दा दुर्घटना भएको प्रहरी प्रमुख चन्दले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।