२६ बैशाख २०८१, बुधबार 1715201586
Banner

कोहलपुर–सुर्खेत सडकखण्डमा राति मोटरसाइकल चलाउन नपाइने

जिल्ला प्रशासन कार्यालय सुर्खेतले रातको समयमा रत्न राजमार्गमा मोटरसाइकल चलाउन रोक  लगाएको छ । प्रशासन कार्यालयले सोमबार एक सूचना जारी गरी रत्न राजर्माग अन्तर्गत कोहलपुर–सुर्खेत सडकखण्डमा मोटरसाइकल चलाउन रोक लगाएको छ । 

आइतबार राती जङ्गली जनावरको आक्रमणबाट भेरीगंगा नगरपालिकाका दुई जनाको मृत्यु भएको छ । यसे घटनालाई लिएर स्थानीयबासीले सडक अवरुद्ध गरेर आन्दोलनमा उत्रिएपछि प्रशासनले रातको समयमा मोटरसाइकल चल्न नदिने निर्णय गरेको हो । प्रशासनका अनुसार आइतबार बिहान ८ बजेको समयमा भेरीगंगा–५ गेरवानीका ४८ वर्षीय रामबहादुर चन्द र ६७ वर्षीया कवि वलीको आफ्नो घरदेखि करिब ४०० मिटरमा पूर्वतर्फ पर्ने जङ्गलमा बन्यजन्तुको आक्रमणमा परी मृत्यु भएको थियो ।

त्यसै विषयलाई लिएर सोमबार बिहान ११ बजेदेखि आफन्तहरुले विभिन्न माग राख्दै रत्न राजमार्गको बबई क्षेत्रमा प्रदर्शन गरी सडक अवरुद्ध गरेका थिए । अवरुद्ध सडक करिब छ घण्टापछि खुलेको थियो । सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले जङ्गली जनावरको आक्रमणबाट सुरक्षित हुनको लागि साना दुईपाङ्ग्रे सवारी साधन मोटरसाइकललाई रातको समयमा सञ्चालन नगर्ने र दिनको समयमा चारपाङ्ग्रे सवारी साधनको अगाडि/पछाडि रही सञ्चालन गर्ने निर्णय गरेको छ ।