१४ बैशाख २०८१, शुक्रबार 1714145422
पर्यटन

नेपालकै पहिलो द्वारकाधाम निर्माणको शिलान्यास

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित पाथिभरा मन्दिर परिसरमा नेपालमै पहिलो द्वारकाधाम निर्माणको शुभारम्भ भएको छ ।

द्वारकाधाम निर्माणको शिलान्यास गर्दै सांसद महेश बस्नेतले ठूलो योजनामा नेपालमै पहिलो बन्न लागेको द्वारकाधाम निर्माण सम्पन्न गर्नका लागि तीनवटै सरकारले चासो दिएर सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले सूर्यविनायक क्षेत्र धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेको चर्चा गर्दै यहाँ निर्माण भएको पाथिभरा मन्दिरका कारण तीर्थस्थलका रूपमा परिणत भएको र अब द्वारकाधाम निर्माण सम्पन्न भएपछि देशकै पर्यटन विकासमा यसले टेवा दिने बताउनुभयो । कार्यक्रममा गुण्डुस्थित पाथिभरा मन्दिरका मूल पुजारी गुरु अरविन्द शास्त्रीले पश्चिम भारतको गुजरातमा रहेको प्रसिद्ध द्वारकाधाम जस्तै सूर्यविनायकको गुण्डुमा नेपालकै पहिलो द्वारकाधाम निर्माण आजदेखि सुरु भएको बताउनुभयो । भागवत रसिक गुरु शास्त्रीले भन्नुभयो, “भक्तपुरको गुण्डुमा २०७५ सालमा पाथिभरा मन्दिर निर्माण गरेर धार्मिक विकासमा टेवा पु¥याएका छौँ, अब पाँच वर्षभित्र भारतको जस्तै आकृतिमा नेपालमै पहिलो द्वारकाधाम निर्माणमा हामी जुटेका छौँ, त्यसको आज शिलान्यास भएको छ, करिब आठ रोपनी क्षेत्रफलमा रु २० करोडको लागतमा पाँचवर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ द्वारकाधामको गुरुयोजना निर्माण गरि कार्य अगाडि बढाएका हौँ ।”

द्वारकाधामको मूल मन्दिर मात्रै तीन रोपनी क्षेत्रफलमा फैलिने भन्दै उहाँले भारतको द्वारकाधाममै मन्दिरको मुख्य मूर्ति निर्माण कार्य भइसकेको बताउनुभयो । शास्त्रीले सङ्घ, प्रदेश र स्थानीय गरी तीनवटै सरकार तथा अन्य दाताबाट सङ्कलन हुने रकमबाट मन्दिर निर्माण पूरा गर्ने लक्ष्य राखेको उल्लेख गर्दै द्वारका धामसँगै पाथिभरा मन्दिर परिसरमा सबै गोत्रका ऋषि मूर्ति स्थापना गरिने कार्यक्रममा बताउनुभयो । कार्यक्रममा १००८ स्वामी पद्मधर आचार्य, सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भट्टराई, नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटालगायतले द्वारकाधामको निर्माणले यस क्षेत्रमा धार्मिक पर्यटनको विकास हुने र द्वारकाधामको दर्शन गर्न भारत गइरहनु नपर्ने बताउनुभयो । कार्यक्रममा गौ संरक्षण केन्द्रका अध्यक्ष नारायणप्रसाद न्यौपानेले ताप्लेजुङको पाथिभरा मन्दिरमा २०७२ सालमा पाँच वर्षको अखण्डदीप प्रज्वलन गरी २०७५ सालमा सवा करोड बत्ती बालेर नेपालकै ठूलो त्रिशूल जगाएर गुण्डुमा पाथिभराको मन्दिर निर्माणस्थलमा स्थापना गरेसँगै द्वारकाधाम पनि निर्माण गर्ने सङ्कल्प लिएको र अब पूरा गर्ने समय आएको बताउनुभयो ।