१५ बैशाख २०८१, शनिबार 1714207381
राजनीति

कोरोना भाइरसविरुद्ध खोपको चौथो मात्रा दिने तयारीमा इजरायल

इजरायलले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिन नदिनका लागि सावधानीस्वरुप खोपको दोस्रो बुस्टर मात्रा अर्थात चौथो मात्रा दिने तयारी गरेको छ।

खोपको दोस्रो बुस्टर मात्रा दिने इजरायल विश्वको पहिलो देश बन्ने सम्भावना रहेको हो। इजरायलका महामारीविज्ञहरुले ६० वर्षका माथिका र स्वास्थ्यकर्मीहरुलाई खोपको चौथो मात्रा दिन सिफारिस गरेका छन्।

विश्वका विभिन्न देशमा तीव्र गतिमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण फैलिरहेको परिवेशमा इजरायलले सावधानीस्वरुप चौथो मात्रा खोप दिने तयारी थालेको हो।

प्रधानमन्त्री नाफ्ताली बेनेटले योजनाको स्वागत गर्दै अधिकारीहरुलाई तयारी सुरु गर्न भनेका छन्।

इजरायलमा मंगलबार ओमिक्रोन भेरियन्टबाट संक्रमित भएका एकजनाको मृत्यु भएको थियो। औपचारिक जानकारी आएको ओमिक्रोन संक्रमणका कारण इजरायलमा भएको यो पहिलो मृत्यु हो। इजरायलको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कम्तीमा ३४० जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ।

इजरायलले दोस्रो बुस्टर मात्रा दिने तयारी गरिरहेका बेला विश्वका धेरै देशमा अझैसम्म खोपको पहुँच आवश्यक रुपमा पुगेको छैन।