१४ बैशाख २०८१, शुक्रबार 1714165179
अर्थ

महालेखा परीक्षकको चौथो वार्षिक प्रतिवेदन सभामा पेश

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले ‘महालेखा परीक्षकको चौथो वार्षिक प्रतिवेदन, २०७९’ प्रदेशसभाको बैठकमा पेश गर्नुभएको छ । कर्णाली प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री शाहीले छलफलका लागि उक्त प्रतिवेदन पेश गर्नुभएको हो ।

सो प्रतिवेदन छलफलका लागि सार्वजनिक लेखा समितिमा पठाउन सभामुख राजबहादुर शाहीले सचिव जीवराज बुढाथोकीलाई निर्देशन दिनुभयो । सभामुख शाहीले समय दिएसँगै प्रदेश मामिला समितिका सभापति दानसिंह परियारले यसअघि कर्णाली प्रदेश सरकारका तर्फबाट सभामा पेश भएको ‘प्रदेशसभा सचिवालयसम्बन्धी ऐन, २०७५, संशोधन प्रतिवेदनसहित सभामा पेश गर्नुभयो ।

यता प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाहीले ‘कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६’ लाई संशोधन गर्न बनेको विधेयकमाथि सामान्य छलफलका लागि सभामा प्रस्ताव गर्नुभयो । प्रदेशसभा सदस्य दल रावलले छलफलमा भाग लिँदै जिल्ला र कर्णाली प्रदेश खेलकुद परिषद् सदस्यका लागि जिल्लाका लागि छैटौँ र प्रदेश सदस्य सचिव ११औँ तह हुनेगरी राखिएको संशोधनको समर्थन गर्नुभयो । छलफल समाप्त भएसँगै सभामुख शाहीले उक्त विधेयकमाथि संशोधनको सूचना पेश गर्न ७२ घण्टा प्रारम्भ भएको प्रदेशसभा सदस्यलाई जानकारी गराउनुभयो । प्रदेशसभाको अर्को बैठक यही साउन १८ गते बुधबार अपराह्न ३ बजे बस्नेछ ।