१९ माघ २०७९, बिहीबार 1675326565
Banner

पशुपतिनाथ मन्दिरमा देखियो ओलीको क्रेज, लाखौं भक्तजन आरतीमा सहभागी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली साउनको तेस्रो सोमवार आज साँझ पशुपतिनाथ मन्दिरमा आयोजित गंगा आरतीमा सहभागी हुनुभएको छ । अध्यक्ष ओली साँझ ६ बजेदेखि ८ बजेसम्म पशुपतिनाथ मन्दिरको आरतीमा सहभागी हुनुभएको थियो । अध्यक्ष ओली आरतीमा सहभागी भएसँगै लाखौ भक्तजनहरु खोला वारि पारि बागमतीको खुला स्थानमा घुँइचो लागेर आरतीमा सहभागी भएका थिए ।

बिहानदेखि साँझसम्म नै दर्शनार्थीको भीड लाग्ने पशुपतिनाथ मन्दिरमा हुने आरती कार्यक्रममा अध्यक्ष ओली सहभागी हुने प्रचार भएपछि अन्य दिनको तुलनामा आज श्रद्धालुभक्तजनको घुँइचो बढेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी अध्यक्ष मिलन कुमार थापाले बताउनुभयो ।

दर्शनार्थीको घुइँचो लागेपछि साँझ तिलगंगाको बाटो समेत अबरुद्ध बनेको थियो । सवारीसाधनको चाप बढेपछि सडक जाम भएको थियो भने मन्दिरमा दर्शनलाई सहज बनाउन तथा सडक खुलाउन स्वयंसेवक र प्रहरी परिचालन गरिएको थियो ।