१४ बैशाख २०८१, शुक्रबार 1714162755
Banner

रघु पन्तजी, यो कुरा पटक्कै हजम भएन

एमाले स्थायी समिति सदस्य तथा संस्कृति विभाग प्रमुख रघु पन्तले एक प्रसिद्ध छापा पत्रिकामा २०७९ साउन ६ गते एउटा लेख छपाउनु भएको छ । कम्युनिस्ट पार्टी,पुष्पलाल र स्वाभिमान, शीर्षकको लेखमा नेकपा संस्थापक महामन्त्री पुष्पलालको योगदानका बारेमा चर्चा गरिएको छ तर लेखमा उठान गरेका केही विषयहरु पार्टी र आम कार्यकर्तालाई भ्रमित पार्ने खालका छन् । पन्तजी तपाईँले पोलिब्यूरोको बहुमतको नाममा संस्थापक महामन्त्री पुष्पलाललाई पहिलो महाधिवेशन गर्ने अवसर पनि प्रदान नगरी षडयन्त्रपूर्वक निष्काशन गर्ने र गराउने जस्ता कुरा उहाँले लेख्नु भएन । शैलेन्द्र कुमार उपाध्यायले पुष्पलाललाई विश्वविद्यालयको मुख नै नदेखेको वा उच्च शिक्षा नपढेको आदि भनेर आरोपित गरर त्यसमा पोलटब्यूरोको बहुमत देखाएर हटाएको थियो । पुष्पलालका सट्टामा मनमोहन अधिकारीलाई महामन्त्री बनाएको पनि लेखमा आएन । अनि पहिलो पार्टी महाधिवेशनमा पुष्पलालको विचार पारित भयो तर फेरि अनेक जालसाँझी र षडयन्त्र गरेर उहाँलाई महामन्त्री बन्न दिइएन । पुष्पलाल नै कपटलालका खुराफातमा पर्नु भयो । कपटलालहरु जहिले पनि हुन्छन्,तर कतिपय बेलैमा सुध्रिन्छन् । ओली विरुद्ध कपटलालहरु लगेर दुई तिहाइको देश जनताको हितका लागि अभूतपूर्व काम गरिरहेको सरकारका विरुद्ध कपटलालहरु लागे । इतिहासबाट सिक्नु पर्छ र सिकाउनु पर्छ । त्यसका लागि ऐतिहासिक सत्य र तथ्यहरु आम जनसमक्ष उजागर गर्नु पर्छ । यसो गर्दा अहिले पार्टी भित्रका विकृत र विसंगत नेता र नेतृत्वलाई संकेत गर्छं भने गर्नुपर्छ । सुधार्नका लागि यति काम नगरी हुन्न । उधार्नेे नियत होइन । सब कसैले सत्य लुकाउन खोज्छ तब उसको नियत थाहा हुन्छ । पार्टीमा देखापरेका उपर्युक्त खालका षडयन्त्रहरु आफूले गम्भीर शिक्षाका रुपमा लिएको नवौँ महाधिवेसनबाट अध्यक्षमा निर्वाचित ओलीले दमकमा एक प्रसंगमा बताउनु भएको थियो । र यसमा उहाँले पर्याप्त सतर्कता अपनाउँदा कपटलालहरु सफल हुन सकेनन्, ओलीका अगाडि माकुने र प्रचण्डका सारा षडयन्त्र र खुराफातहरु नाकाम भए । आंशिक रुपमा केही क्षति त भयो । तर सर्वनाश हुनबाट पार्टी जोगियो । त्यसैले त्यागी नेताहरु आफू मिटाइ पार्टी र आन्दोलनको रक्षा गर्छन् तर कपटलालहरु नितान्त निजी स्वार्थका लागि राष्ट्रलाई नै बन्धक राख्न हिच्किचाउँदैनन् ।

कपटलालहरु दुई महिनापछि हुने महाधिवेशन सम्म नपर्खिई पार्टी फुटाउँछन् । नेकाको टाङमुनि छिरेर आन्दोलन जोगाउने र समाजवादको आधार तयार गर्ने ढोङ्ग पनि गर्छन् । केही महिने मन्त्री खान घरमा आगो झोस्छन् , विदेशीको भरिया हुन्छन् ।

जुन नेताका जहिले जति कमजोरी देखिन्छन्, लेख्नुपर्छ अनि आफ्नो विकृत बानी व्यहोरा हटाएर राम्रो काम गर्दा प्रशंसा पनि गर्नुपर्छ । उपर्युक्त विषय, पात्र र प्रवृत्तिका अत्यन्त गलत सोच, समझ र व्यवहार देखीदेखी सबै नेता गलत भन्न मिल्छ कमरेड, तपाईंले लेखमा कम्युनिस्ट आन्दोलन आफैँभित्रका विकृति र द्वेषका कारणले एक आपसमा लड्ने अवस्था बनेको छ भनेर होलसेलमा टिप्पणी गर्नु भएको छ । के माक्र्सवादी द्वन्द्ववादले यही भन्छ ? कुनै विषय र वस्तुमा सकार नकार दुवै हुन्छ भने सकारलाई पनि नकार भन्न सुहाउँछ । यसो गर्दा पुष्पलालप्रति न्याय हुन्छ ? जुन नेताका जे जति गल्ती कमजोरी छन्, जिब्रो नचवाइ पो भन्नु पर्छ त एउटाले गल्ती वा अपराध गर्छ अनि दोष चाहिँ अरुका थाप्लामा हालिदिएर समस्या समानमा सहयोग पुग्दैन । रघुजी तपाईं दुई तिहाइ नजिकको नेकपाको सरकार विघटनको विषयसित तपाईँ जोड्न खोज्दै हुनुहुन्छ । यही तारतम्यका लागि तपाईँ सबै नेता खराव भन्न खोज्दै हुनुहुन्छ यति कुरा सजिलै बुझिन्छ । सरकार र पार्टी विघटनमा ओली, पुष्पकमल दाहाल र माधव नेपाल सबै दोषी करार गर्न खोज्नु भएको तपाईको लेखाइबाट अवगत हुन्छ । यो लेखक तपाईँ लगायत सबै नेतालाई हर्दम र बारबार परख गरिरहेको हुन्छ । यस लेखकलाई नेताका अनुहारको भाषा पनि पढ्न आउँछ । तपाईँहरु त कार्यकर्ताले नमस्ते, स्वस्ती र सलाम गरेपछि मात्र चिनेजस्तो गुर्नुहुन्छ । अनि आफ्ना गुट,लबी र लिस्नुलाई खुव स्याहार र संभार गर्नु हुन्छ र आफ्ना नितान्त निजी स्वार्थका लागि तिनलाई भरपूर उपयोग गर्नु हुन्छ र आखिरमा आफल तेरो ठाँडो त सजिलै गर्नुहुन्छ । कृपया यसमा तपाईँ नरिसाउनु होला । तपाईको विशेषत कला,साहित्यिक,सांस्कृतिक अध्ययन गहिरो छ । विचारमा तपाईँ जरो सामाजिक जनवादी भए पनि त्यसमा पनि तपाई दखल राख्नु हुन्छ । तर सिद्धान्त,संगठन र व्यवहारका सबालमा स्पष्ट हुनै पर्छ । जिब्रो चपाएर बोल्दा धेरै कुरा बिग्रन्छ । पुष्पकमल दाहाल मार्फत् निर्वाचन आयोगलाई प्रयोग गरेर दुई महिनासम्म ओलीलाई प्रधानमन्त्रीमा सपथ ग्रहण नगराएको पन्तलाई थाहा नभएको होइन होला । यसको कारण पनि पूर्व प्रधानमन्त्री सुशील कोइरालाका पालामा तयार गरिएको एसपीपी अर्थात् स्टेट पाटनरसिप प्रोग्रामको पत्र सेना प्रमुखबाट अमेरिका पठाउनु पनि रहेछ भन्ने त अहिले खुल्दैछ नि ।

कतिपय कुराको सही रिजल्ट परिणामबाट थाहा हुन्छ रघु कमरेड ? ओलीलाई अन्तिममा सर्वोच्च अदालत प्रयोग गरेर प्रधानमन्त्रीबाट असंवैधानिक तवरले हटाउनुका पछाडिको राज र रहस्य त सबै खुलिसके कमरेड, घाम जत्तिकै छर्लङ्ग कुरा थाहा पाएर पनि अझै ओलीले दुई दुई पटक संसद् विघटन गरेको अझै लिँडे अड्डी लिन सुहाउँछ ? उतिबेला देखि अहिले पनि जोणकोण मिलाएर संसद् विघटन गरेकामा ओलीले गल्ती महसुस गर्नु पर्छ अनि मात्र सहमति र सहकार्य हुन्छ भन्नु लाजको पसारो हो । संसदीय मूल्य मान्यता अनर्गत वाध्यतावस संसद् विघटन हुने वा गर्ने कुरा सार्वभौम सत्य हो । नेपालको संविधानले यस कुरालाई धेरै ठाउँमा उल्लेख गरेको छ । ऐनको एउटा दफामा संसद् विघटन भएमा सभासद्को तलव भत्ता बारे स्पष्ट उल्लेख छ । अझ त्यस माथि राष्ट्रपतिलाई दिएको एउटै मात्र विशेषाधिकार समेत अदालतले ठाडै उल्लङघन गरेको देखिन्छ । त्यसैले अहिले पनि सदन विघटन गर्नु चाहिँ प्रतिगामी कदम हो भन्न सुहाउँछ र ? यी सब षडयन्त्र ओली सरकारले गरेका बहुआयामिक विकास निर्माण र जनराहतका अभूतपूर्व काम देखेर बाह्य शक्ति जलेको स्पष्ट हुँदैन र ? अनि यी कामबाट देशभित्रका पनि जलेको त जनतालाई थाहा छ नि ! हिजोका दिनमा रेल र जल यातायातको कुरा गर्दा खिज्याउनेहरु अहिले ओलीकै रेल र जल याताका लागि लागिपरेका छन् त ख एउटै मात्र स्वप सरकार बन्नु भन्दा अघि र बन्ने बित्तिकै दाहाल र नेपालले के कस्ता चरम असहयोगी बोली र बेहोरा सब यस लेखकले तिथि मिति सहित टिपोट गरेको छ । आखिर भारत अनुकुल बनेको यो सरकारका देश,जनता र जनजीविका विरोधी काम त तपाईहरु देखिरहनु भएको छ । महाकाली नदीमा मारिएका जयसिंह धामी प्रकरण,नेपाली आकासमा भारतीय सैनिक हेलिकेप्टर चक्कर लगाएको प्रकरण,२४ लाख कोरोना खोप आर्फै सरकाले हरायो भनेको विषय,महाकाली नदी पारि भारतले बनाएको पक्की तटबन्ध मुद्दा,भारतस्थित नेपाली दूतावासमा देउपाले नेपालको बुच्चे नक्सा सजाएको प्रकरण, विवादास्पद नागरिकता विधेयक पारित प्रकरण, पूर्व अर्थमन्त्री अर्थमन्त्रीले वजेट निर्माणमा गरेको चरम राष्ट्रघात,कृत्रिम मूल्य बृद्धि लगायत दर्जनौँ कलंकहरु पन्तले नदेखेकै हो र ! अझ श्रावण ८ गते एक पत्रिकामा प्रकााशित समाचार अनुसार डेढ लाख कोरोना खोप सरकारले संघ र स्थानीय सरकारसित समन्वय गरेर लगाउने प्रबन्ध नगर्दा खेर गएको थाहा भयो भनेपछि यस्ता गम्भीर नकारातमक परिणाम आफ्नै आँखाले देखेर र बुझेर पनि बुझ पचाउन मिल्दैन कि अनि तपाईँले एमाले पार्टी र नेताहरु जनता र देशको निस्वार्थ सेवा गर्नु पर्ने मूल लक्षबाट दायाँवायाँ भट्किएको भन्न सुहाउँछ ? एमालेको नौमहिने सरकार नेपालकै इतिहासमा लोकप्रिय तथा दूरगामी महत्वको सरकार होइन ? पार्टी अध्यक्षमा ओली आगमन सँगै भूकम्पका बेला सिन्धुपाल्चोक लगायत जिल्लामा नेता गोकर्ण बिस्टका अगुवाइमा पार्टीले २४ हज्जार घरटहरा बनाएर पीडित जनतालाई हस्तान्तरण गरेको होइन ? पन्तले भनेझैँ पार्टीमा द्वेष कसले कुन नेताले कसप्रति राख्यो ? स्पष्ट भन्नु पर्छ । १५ र ३२ वर्ष पार्टी अध्यक्ष र प्रधानमन्त्री भइसकेका नेताले एउटा कार्यकाल प्रधानमन्त्री भएर कुशततापूर्वक जनहितमा काम गर्न दिनु पर्दैन ? अनि उल्टै ओलीलाई दुवै पदबाट त्याग गर्नु पर्ने अर्ती र आदेश गर्न सुहाउँछ ? पन्तले भनेझैँ पार्टीमा देखापरेको विकृति के हो ? अँध्यारामा झटारो हानेर हुन्छ ? ओली नेतृत्वको पार्टी र सरकारप्रति तपाईँको टिप्पणी सोझै लक्षित देखिन्छ । नाकाबन्दी परास्त गर्नु,नाकाबन्दी नहटाइ भारत भ्रमण गर्दिन भन्नु र राष्ट्रिय हित र स्वाभिमानलाई सर्वोपरि राख्नु ,चुच्चे नक्सा नेपाली नक्सामा विधिवत् आवद्ध गर्नु,विरानगर मा अखडा जमाएर बसेको भारतीय सैनिक बललाई हटाउनु चीनसित वाणिज्य र पारवहन सन्धी गर्नु भारतबाट पाइपमार्फत् डिजेल आयात गर्दा वार्षिक वार्षिक १ अरब ७६ करोड ढुवानी खर्च जोगिनु, लाख भूकम्प पीडित तथा सीमान्तीकृत जनताका आवास निर्माण गरी जनतालाई हस्तन्तरण गर्नु आदि अनेक पक्षहरु सकारात्मक होइनन् ? माकुने र प्रचण्डले मन्त्री मण्डल बारे त खासै गुनासो गरेनन् त ! अनि के को किन विकृति र द्वेष ? आधा आधा प्रधानमन्त्री पनि प्रचण्डले नै आफूखुसी छाडेको होइन र अनि कपटलालले विकृत र द्वेषपूर्ण गतिविधि र क्रियाकलाप गरेको कुरालाई छोपछाप गर्न हुँदैन ।

त्यसैले एउटा नेताले खसीबाख्री एउटै धोक्र्री गर्न मिल्दैन । माकुने र प्रचण्डले गद्दारी गरे भनेर सबै जोगी कानचिरा भन्न सुहाउदैन । नवौँ महाधिवेसनका बेला ओली आज हो कि भोलि भनेर उहाँको मृत्यको कामना गर्ने नेता र देश,जनता र जनजीविकाका हितका खातिर आफ्नो प्रधानमन्त्री कालमा अहोरात्र अविश्राम खट्ने नेतालाई बेइमानका लहरमा राख्न मिल्छ ? आफ्नो चलअचल सम्पत्ति ट्रस्टका नाममा सुम्पने ओलीलाई र देशको श्रीसम्पत्ति आफू र आफन्तका नाममा सोहोर्ने अरुहरुसित दाँज्न मिल्छ ? खै त पुष्पलालले आफू प्रति पटकपटक अवैधानिक तथा अनेक छलछाम गरेर अपदस्थ गर्दा पनि पार्टी नै विखण्डन गर्ने सम्मका कुकृत्य गर्नु भएन त । इतिहास र वर्तमान दुवैको समीक्षा गर्दा आग्रह र आदतको दास बन्नु हुँदैन । हुन त माकुने प्रचण्ड वा ओलीका कारण कतिपय नेता,कार्यकर्ता र बुद्धिजीवीलाई पनि विभिन्न राजनीतिक र राजकीय औसर पाएको भन्ने लाग्न सक्छ र आफ्नो योग्यता,क्षमता र प्रतिभा तथा कार्यकुशलताका आधारमा भन्दा अमुक नेताका कारण मौका पाएको भन्ने लाचार छायाँहरु नेताका अन्धभक्त हुनसक्लान् तर साँच्चै इमानी र क्षमतावान् तथा सिद्धान्तनिष्ठ नेता,कार्यकर्ता र बुद्धिजीवी बधुवा मजदुर भएर कहिल्यै बस्दैनन् । महामना मोदनाथ प्रश्रितले एक वाक्यबाट कुनै पनि मानिसलाई परख गर्न सकिन्छ भनेझैँ पुष्पलालका विषयमा पन्तले राम्रै लेख लेखेर पनि एकाध ठाउँमा हलुवामा बालुवा मिसाउनु भएको छ । पार्टी र सिद्धान्तका सबालमा तर,तथापि र परन्तु हुँदैन । सिद्धान्तनिष्ठ नेताले जे सत्य र तथ्य हो त्यो भन्ने हिम्मत गर्नु पर्छ । बेलाको बोली र मौकाको काम मात्र कमयावी हुन्छ । तपाईंले जिब्रो चपाएर कुरा गर्दा देश र जनता माथि नै ठूलो गद्दारी हुन्छ । बाध्यतावस संसद् विघटन गर्ने ओलीलाई प्रतिगमनकारी भन्ने,सुन्ने र त्यसैमा थपडी बजाउँदा देशमा अमेरिकी सैनिक अखडा बन्ने अवस्थाको नजिक पुगेको त थाहा भयो । अझै एसपीपी नेपालका लागि अमान्य छ भन्ने सरकारी निर्णय सहितको पठाइएको छैन । पन्तजी तपाईंले लेखमा समग्र कम्युनिस्ट आन्दोलन र नेतृत्वको सकार र नकार नछुट्याई गम्भीर अनर्थ गर्नु भयो । स्थायी समिति लगायत उच्च तहका नेताले यस खालका सतही अद्वन्द्ववादी लखोट लेखेर आम कार्यकर्तालाई भ्रमित पार्न खोजेको यस लेखकले महसुस गरेर ती भ्रम चिर्नकै लागि यति मूल्यवान् समय खर्चिनु परेकामा दुःख लाग्छ । दोधार र दोदिल भए पछि कुनै पनि नेता अभर परेको बेला कामै लाग्दैन नि ,यस्तो नहोस् ।

(लेखक एमाले प्रदेश नं. १ का संस्कृति विभाग प्रमुख हुनुहुन्छ ।)