१५ बैशाख २०८१, शनिबार 1714207272
Banner

वाम गठबन्धनको औचित्यहीन बहस

अहिले नेपालका केही ‘भ’नलाइन’ मिडियामार्फत् एमाले निकै कमजोर हुने भन्न लगाएर एकातिर एमालेलाई तर्साउने दाउ रचिरहेछन् भने अर्कातिर एमालेसँग तालमेलका संभावनाको तुरुप देखाउँदै काङ्ग्रेससँग बढी सिटको बार्गेनिङ्ग जोडतोडसँग मोलतोल गरिरहेछन् । वाम गठबन्धन भएमा १४५ सिट जितिने भन्दै एमालेका केही नेतालाई लोभ्याउने र चुनाव अघिसम्म एमालेलाई अलमल्याउने प्रपञ्च रचिरहेछन् । स्थानीय चुनावमा एमालेलाई सखाप पार्छु भनेर गरिएको महागठबन्धनमा एमाले एक्लैले त्यति सिट ल्याएको देखेपछि उनीहरूमा पुनः एमाले झन् शक्तिशाली हुने भय छ । अनि एमालेसँग गठबन्धन गर्न पाए कति जाती हुँदो हो भनेर यो सारा मिडिया नाटक गरेको सहजै अनुमान गर्न सकिन्छ ।

एमालेले चाहिँ बाम गठबन्धनको लोभमा अहिले पस्यो भने त्यो जति नराम्रोसँग फस्ने पार्टी नेपालको इतिहासमा अर्को पार्टी हुने छैन । एमालेले गठबन्धन किन गर्ने ? गठबन्धन गरेर दुईतिहाइ हाराहारी बहुमत त आएकै थियो नि । फेरि पनि गठबन्धन गरेर जितेर बाममत लगेर अर्कैका पोल्टामा सुम्पने गनाउने खेल खेल्न ? हैट् !  कति लाज नभाको भन्या ? एमालेलाई त प्रतिगामी पार्टी भन्या होइन भन्या ? १९ बुँदे आरोपमा लोकतन्त्र दरबारमा बुझाउने भनी आरोप लगाएको होइन र भन्या ? अनि त्यसैसँग वाम एकता गर्न केको खुसुरखुसुर भन्या नि ? बामएकता एमाले बाहेकका केही ऐँजेरू दल र नेतालाई जरुरी होला, एमालेलाई पटक्कै आवश्यक छैन है ! 

हिजो गठबन्धन गरेर जनताका आगनमा गरेको बाचा बमोजिम स्थिर सरकार मुलुकमा चलोस् भनेर जनताले दिएको मतमा गद्दारी गर्नेहरू नै अहिले बाम गठबन्धनको बेमौसमी बाँसुरी बजाईरहेछन् । जनतालाई घात गरेको त्यो घाउको पाप्रा अझै सुकेको छैन त्यसमा नुनचुक र खुर्सानी लगाउन तालमेल गर्नै । बाम गठबन्धन भयो भने जनताले एमालेलाई एक्लै लडेर दिने जति सिट पनि काल्पनिक बामगठबन्धनलाई दिने छैनन् भन्ने कुरामा ढुक्क भए हुन्छ ।

हिजो नेकपा सरकारका बेला उन्नाइस बुँदे आरोप होस् वा एमसिसी मामला, नागरिकता विधेयक होस् वा दलविभाजन विधेयक जे जे त्यति बेलाको सरकारले गर्न खोज्यो, त्यो त्यो प्रतिगामी भयो भनेर सचिवालय बहुमतका नाममा कतिचोटि गाइजात्रा देखाइयो ? त्यसैका नाममा नेपाली जनताले विश्वस गरेको केपी ओलीको राजनीति नै सखाप हुने गरी केकसरी नौटङ्की गरियो । लाखौँ सूर्यका मत चोरेर भाग्दै केकस्तो सरकार कसरी बनाइयो ? अहिले आएर त्यसभन्दा पनि नीच, तुच्छ र तन्नम विधेयक ल्याएर त्यसरी खेलेको रत्यौली शिष्ट हुने ?

बाहिर सर्वजनिक सम्पत्ति आगो झोस्न र सुरक्षाकर्मीको टाउको फोर्ने अनि सरकारबाट हट्नु पर्ने डरले भित्रीवस्त्र भिजाँउदै र गिडगिडाउँदै एमसिसी पास गर्ने को हो ? अनि त्यसो गर्दा आफू चैँ अग्रगमनकारी हुने ? याद रहोस् अस्थिरताको कारक को हो ? मुलुकमा महँगीको अर्को चुली खडा गर्ने को हो ?

दिल्लीको दैलामा गएर ‘प्रभुजी मलाई प्रधानमन्त्री बनाऊ’ भन्दै गिडगिडाउने को हो ? यो सबै जनताले राम्रै अडिट गरेका छन् । फेरि यस्तासँग बामगठबन्धनका नाममा एमाले गठबन्धन गर्न जान्छ भने जनता ‘राम रामसम्म भन्न सक्लान् तर काँध थाप्न कदापि सक्तैनन्’ है चेतना भया ।

अब काङ्ग्रेसको बहुमत आउँछ कि भनेर त्यसलाई रोक्न बामगठबन्धन गर्ने भन्ने सवाल आउँछ । हो, आउँछ भने आओस् !  यो देशमा कि त एमालेको सरकार हुनु पर्छ कि त काङ्ग्रेसको सरकार हुनुपर्छ । काङ्ग्रेस पार्टीले आफ्नो बहुमत नआउने गरी धेरै सिट भगौडालाई दिएछ भने पनि काङ्ग्रेसको उमेदवार नउठेको ठाउँमा काङ्ग्रेस मतदाताले पुनर्विचार गर्नै पर्छ । एउटाको बहुमत आउनुपर्छ र सरकारमा नहुने यी दुईमध्येको ठुलो दल प्रतिपक्ष भएर बन्नु पर्छ । लोकतन्त्त्रको मर्मअनुसार यो नै मुलुकका हितमा छ । हिजो एमालेले माओवादी मुसालाई हात्ती बनाएर आज उसको लात्ती खानु परिरहेछ । ०५२/ ०६२ मा आपना कार्यकर्ताको बलि दिएर र ऊठीबास लगाएर ठुला दुखले गुन लगाएको दलकै बज्र लात्ती लात्ती खाने पालो अहिले काङ्ग्रेसको हो, त्यो हक बामगठबन्धनका नाममा एमालेले खोस्नुहुँदैन ।

यो पल्ट काँग्रेससँग माओवादीको गठबन्धन आरामसँग हुन दिऊँ । एमाले एक्लै लडोस त्यसको भव्य तयारी गरोस् !  प्रत्यक्षमा एमाले हराउनु नै आफूले जित्नु हो भन्ने भाष्य निर्माण गरेका र धुन्धुकारीका कारण दुईचार सिट तलमाथि होला, समानुपातिकले एमाले मुलुकको शक्तिशाली दल बन्न कसैले रोक्दैन । लुटपाटको गठबन्धनले जति सिट जित्लान् त्यो तिनीहरूले आआफ्ना भागमा एक एक ओटा बिला लिएर सके यतै आउलान् । जता बसेपनि झारको आयु एक सिजन मात्र हो । यस्ता बिलोवादीको विलय मुलुकका लागि जरूरी छ । मुलुकका लोकतान्त्रिक दुई दल एमाले र काङ्ग्रेसले एक अर्काको डरमा हुँडारको सङ्गत गरेर आफू, आफनो दल र मुलुकमा सत्ताको दलाली चलाउने र दिल्ली दरबारमा पुगेर त्यसको लाइसेन्स रिन्यु गर्ने खेल समाप्त पार्नु जरूरी छ । जुन दिन यी दुई दलले बुझ्लान् त्यही दिनदेखि मुलुकमा स्थिरता आउला कि ? जेसुकै भए पनि यो पल्ट बामठबन्धनको अस्वस्थकर खाना खायो भने त्यो यसपल्ट नेकपा एमालेका लागि पथ्य हुने छैन, एमाले एक्लै र शानसँग लडोस् ! 

एमालेले यो चुनावमा विजय गर्न अरुसँग गठबन्धन गर्नु पर्दैन, पार्टीभित्रका कार्यकर्ता र शुभेच्छुकसँग नम्र र शिष्ट भैदिए पुग्छ । नेतृत्वमा रहेका जिम्मेवारहरूले अब आउने महाधिवेशनमा कसले पार्टी कब्जा गर्ने भन्ने खेल खेल्न रोके पुग्छ, खेलिएका त्यस्ता खेललाई आवश्यक परे राम्रो रेफ्री राखेर पुनः खेलाए पुग्छ । आफ्नै दाहिने खुट्टाले देब्रे खुट्टालाई लात्तीले नहाने पुग्छ । केपी ओलीको नाम देखाएर तल आई सहमतिका नाममा पार्टी नेतृत्व चयनमा गरिने गाउँफर्के पद्धतिको प्रयोग नगरे पुग्छ । त्यही पद्धति मार्फत आफू आफ्ना र परिवारलाई नेतृत्वमा सङ्गठनको नेतृत्व सुम्पने नौटङ्की पनि अपाच्य हुने गरी भएको छ त्यसो गर्नेको डिएनए पहिचान गरे पुग्छ । चुनावमा टिकट दिँदा पार्टीभित्र कार्यकर्ताबाट चुनिने बेलायती पद्धतिको निर्वाचन प्रणाली कायम गरे पुग्छ । एमालेका मतदाता कम भएर होइन मतदाता समक्ष घमन्डी रूपमा उपस्थित भएर (काठमाडौ) र एमालेकै नेताले विरोधीलाई बल पास दिएर हराउने गरी खेलिएको आत्मघाती गोल (पोखरा) का गतिविधि नियन्त्रण गरे पुग्छ ।

विशेष टिप्पणीः
यो लेख वामगठबन्धनको विरोधी होइन । भविष्यमा वाम गठबन्धनको औचित्य होला तर अहिले हुनै हुन्न । छिमेकका दैलामा ढुक्न जाने चलन जसले हटायो, उसलाई हटाएर फेरि कलो खाने ढुकुवा ल्याउनु थियो । ल्याइएको छ । भर्खरै छिमेकीकहाँ जानु र नागरिकता विधेयक हतारमा पास गर्नु “बाघ कराउनु र बाख्रो हराउनु” पक्कै होइन ।

निष्कर्षः
बाम गठबन्धनका नामको म्यादगुज्रेको घातक औषधिहरू पुनः पार्टीमा नभित्र्याऔँ । यो नियोजित र प्रायोजित रूपमा चलाइएको औचित्यहीन बहसलाई बाल नदिऊँ। चुनावको भव्य तयारी गरौँ।

(लेखकः ‘राष्ट्रिय जनसांस्कृतिक महासङ्घ’ अन्तर्गत ‘भाषा तथा लोकसाहित्य सङघ ’को अध्यक्ष हुनुहुन्छ । )