१६ बैशाख २०८१, आईतवार 1714351692
पर्यटन

रुपातालमाथी झोलुङ्गे पुल निर्माण

कास्की- पोखरा महानगरपालिका ३१ र रुपा गाउँपालिका वडानं. ६ को बिचमा रहेको रुपातालमाथी झोलुङ्गे पुल निर्माण भएको छ ।

नेपालमा रहेका तालमध्ये रुपातल माथी पहिलो पटक निर्माण भएको झोलुङ्गे पुलको गण्डकी प्रदेशका सांसद एवं बिकास समितिका अध्यक्ष दिपक कोईरालाले उद्घाटन गर्नुभयो ।

गण्डकी प्रदेश सरकारको १ करोड ३६ लाख ९७ हजार रुपैयाँ लगानी रहेको सो झोलुङ्गेको पुल लम्बाई २ सय ६९ मिटर छ ।

तेज जगदम्बा रुजान जेभी.ले २०७६ जेष्ठ महिनामा सम्झौता गरी भर्खरै मात्र सम्पन्न गरेको सो झोलुङ्गे पुल निर्माण भएपछि पोखरा महानगरपालिका र रुपा गाउँपालिका जोडिएका छन् भने स्थानियहरुलाई करिब ३ घण्टाको पैदल यात्रा गरी यातायातका साधन भएसम्म पुग्नुपर्ने समस्याको अन्त्य भएको छ ।

पुल नहुँदा स्वदेश तथा बिदेशबाट आउने पर्यटकहरुलाई ओहोर-दोहोर गर्न र अत्यावस्यक सामग्री गाउँसम्म पुर्‍याउन समस्या रहँदै आएको थियो ।

पुल निर्माणले पर्यटकहरुको संख्यामा उल्लेख्य सहभागिता रहने र पर्यटकीय हब बन्न सक्ने सम्भावना बढेको पोखरा महानगरपालिका ३१ का अध्यक्ष ढकनाथ कंडेलले बताउनु भयो ।