१५ बैशाख २०८१, शनिबार 1714207828
Banner

नेपाल राष्ट्र बैकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्दैछ । बिहीबार प्रधानमन्त्रीलाई मौद्रिक नीतिका सम्बन्धमा ब्रिफिङ गरिसकेको र शुक्रबार बिहान ८ बजे बोर्ड बैठक बसेर पारित गर्ने र दिउँसो सार्वजनिक गर्ने तयारी भएको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बिहीबार मौद्रिक नीतिको ब्रिफिङ गर्नुभएको थियो । बिहीबार साँझ प्रधानमन्त्रीसमक्ष मौद्रिक नीतिको ब्रिफ गरेका कारण अब नीति ल्याउन शुक्रबार बिहान सञ्चालक समितिको बैठक बोलाएको राष्ट्र बैंकले जनाएको छ ।

बुधबार र बिहीबार बिहान मौद्रिक नीति’ गभर्नरले बिफ्र गर्ने तयारी गरिए पनि प्रधानमन्त्रीको समय अभावका कारण बिहीबार साँझ मात्र ब्रिफिङ गरिएको थियो ।

जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्री देउवाले नै अहिले अर्थ मन्त्रालयको जिम्मा लिएका कारण सिधै प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको हो ।

आर्थिक अनुसन्धान विभागले अन्य विभागसँग छलफल गरी तयार पारेको मस्यौदाउपर छलफल सकेर ड्राफ्ट तयार पार्ने र सो ड्राफ्ट राष्ट्र बैकको बोर्ड बैठकमा छलफल हुने बताइएको छ ।

बोर्ड बैठकले स्वीकृत गरेपछि गभर्नरले आगामी वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने व्यवस्था छ । राष्ट्र बैंक सञ्चालक समिति ‘बोर्ड’ सात सदस्यीय हुने गर्छ । राष्ट्र बैंक बोर्ड सदस्यमा गभर्नर महाप्रसाद अधिकारी, अर्थ मन्त्रालयका अर्थसचिव मधुकुमार मरासिनी, डिपुटी गभर्नरद्वय निलम ढुंगाना र रामबहादुर मिश्र, डा. सुबोधकुमार कर्ण, चिन्तामणि शिवाकोटी र शंकरप्रसाद आचार्य रहेका छन् । मौद्रिक नीति सार्वजनिक कार्यक्रम नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।