१४ बैशाख २०८१, शुक्रबार 1714177466
समाचार

अध्यक्ष पन्त मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कको सह–अध्यक्षमा निर्वाचित

ठमाडौं । विश्वभर प्रेस स्वतन्त्रताको रक्षा र प्रवद्र्धन गर्ने विश्वव्यापी नेटवर्कको सह–अध्यक्षमा लक्ष्मणदत्त पन्त निर्वाचित हुनुभएको छ । उहाँ मिडिया एक्सन नेपाल (म्यान) का अध्यक्ष हुनुहुन्छ ।

‘हामीलाई मिडिया स्वतन्त्रता प्रवर्द्धन गर्न साहस चाहिन्छ, त्यसका लागि, म नेटवर्कका अन्य सह–अध्यक्ष र सदस्यहरू तथा संस्थाहरूसँग मिलेर हाम्रा कार्यहरूलाई अझ राम्रोसँग समन्वय गर्न र प्रभावकारिता बढाउन काम गर्नेछु ।’

नेपाल र दक्षिण एसियामा कार्यरत मिडिया अधिकार तथा अनुसन्धान संस्था मिडिया एक्सन नेपाललाई मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कको सदस्यको रूपमा चयन गरिएको थियो । ‘यो नयाँ विश्वव्यापी जिम्मेवारीले मलाई व्यक्तिगत रूपमा र मिडिया एक्सन नेपाललाई प्रेस स्वतन्त्रता प्रवर्द्धन गर्न र पत्रकारहरूको सुरक्षा सुधार गर्न हाम्रो क्षमतामा सबै काम गर्न प्रतिबद्ध बनाएको छ,’ पन्तले सह–अध्यक्ष निर्वाचित भएपछि भन्नुभएको छ ।

बिभिन्न देशका २२ संस्था मिलेर बनेको मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्क को निर्वाचनले मंगलवार पन्तलाई प्रभावशाली विश्वव्यापी पदमा निर्वाचित गरेको हो । मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्क राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय संगठनहरूको समूह हो जसले मिडिया स्वतन्त्रता र पत्रकारहरूको सुरक्षाको पक्षमा वकालत गर्न र पत्रकारहरूलाई हानि गर्नेहरूलाई कारबाही गर्न मिलेर काम गर्ने राष्ट्रहरूको साझेदारी मिडिया फ्रिडम कोलिसनलाई सल्लाह दिन्छ ।

सञ्चार विज्ञ पन्त नेटवर्कका दुई अन्य सह–अध्यक्षहरू आर्टिकल १९ का सिल्भिया चोकारो र आइफेक्सका रचेल केसँग विश्वव्यापी रूपमा मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कका गतिविधिहरू समन्वय गर्न र नेटवर्कको प्रतिनिधित्व गर्दै मिडिया स्वतन्त्रताको रक्षा गर्न आयोजना हुने विश्वव्यापी बैठकहरूमा सहभागी हुनेछन् ।

‘नयाँ अध्यक्ष हुनुमा ठूलो जिम्मेवारी आउँछ, नेपाललगायत धेरै देशमा प्रेस स्वतन्त्रतामाथि हमला भइरहेको बेला हामीले यसलाई जोगाउन सामूहिक रूपमा सक्दो प्रयास गर्नुपर्छ,’ पन्तले सञ्चारकर्मीसँग भने, ‘हामीलाई मिडिया स्वतन्त्रता प्रवर्द्धन गर्न साहस चाहिन्छ, त्यसका लागि, म नेटवर्कका अन्य सह–अध्यक्ष र सदस्यहरू तथा संस्थाहरूसँग मिलेर हाम्रा कार्यहरूलाई अझ राम्रोसँग समन्वय गर्न र प्रभावकारिता बढाउन काम गर्नेछु ।’

मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कका सदस्यहरूमा मिडिया एक्सन नेपालसहित आर्टिकल १९, अन्तर्राष्ट्रिय पत्रकार महासंघ, इन्टरनेशनल प्रेस इन्स्टिच्युट, रिपोर्टर्स सेन्स फ्रन्टियर्स, अन्तर्राष्ट्रिय प्रसारण संघ, समाचारपत्र र समाचार प्रकाशकहरूको विश्व संघ, द गार्जियन, अन्तर्राष्ट्रिय मिडिया सपोर्ट , कमिटि टु प्रोटेक्ट जर्नालिस्ट्स , पब्लिक मिडिया अलायन्स, इन्टरन्युज यूरोप, आइफेक्स , फ्री प्रेस अनलिमिटेड कम्बोडियन सेन्टर फर ह्युमन राइट्स, पाकिस्तान प्रेस फाउन्डेसन, डि डब्लु अकाडमी लगायतका २२ ओटा संस्था आबद्ध छन् ।