१५ बैशाख २०८१, शनिबार 1714207576
समाचार

क्यामेरा चोरी हुँदा बाघ गणना प्रभावित

बाँके – बाँके र बर्दियामा बाघ गणनाका लागि निकुञ्जमा राखिएका क्यामेरा चोरी हुँदा गणना प्रभावित हुने गरेको छ ।

बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा चार ब्लक बनाएर बाघ गणना भइरहेको छ । यी दुई निकुञ्जमा गणनाको लागि राखिएका २३ क्यामेरा चोरी तथा तोडफोड भएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा. रवीन कडरियाले जानकारी दिनुभयो । उहाँका अनुसार एक नम्बर ब्लकमा नौ, दुई र तीन नम्बर ब्लकमा चार–चार क्यामेरा चोरी भएको छ । ६ क्यामेरा हात्तीले तोडफोड गरिदिएको पाइएको छ ।

पहिलो र दोस्रो नम्बर ब्लक पूरै बर्दिया निकुञ्ज क्षेत्रमा पर्छ। तेस्रो नम्बर ब्लकमा बर्दिया र बाँके निकुञ्जको केही भाग पर्दछ । चौथो नम्बर ब्लकमा पूरै बाँके राष्ट्रिय निकुञ्जपर्ने उहाँले बताउनुभयो । निकुञ्ज क्षेत्रमा घाँस काट्न जाने तथा वन्यजन्तु चोरी सिकारीले क्यामेरा चोरी गर्ने गरेको उहाँको भनाइ छ ।

अहिलेसम्म पहिलो र दोस्रो नम्बर ब्लकको काम सकिएको छ भने तेस्रो र चौथो नम्बर ब्लकमा काम भइरहेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले जानकारी दिनुभयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत मंसीर २९ गतेबाट बर्दिया र बाँकेका लागि बाघ गणना कार्य सुरु गरेको थियो ।