१४ बैशाख २०८१, शुक्रबार 1714162461
Banner

राष्ट्रपति भण्डारीसँग चिनियाँ नेता लिउको टोलीले भेट्यो

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले नेपाल आफ्नो विकास प्रक्रियामा छिमेकीसहित मित्रराष्ट्रहरूको साथ लिएर बढ्ने बताउनुभएको थियो । राष्ट्रपति भण्डारीले नेपाल–चीन बीचको सम्बन्ध ऐतिहासिक रहेको उल्लेख गर्दै सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले थप उचाइमा पुर्‍याएको बताउनुभएको थियो ।

राष्ट्रपतिका स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीले सीसीपीका नेता लिउलाई सीको नेपाल भ्रमणपछि दुई देशको सम्बन्ध थप मजबुत भएको बताउनुभयो। ‘राष्ट्रपति सीको भ्रमणले दुई मुलुकबीचको भ्रमणमा अझ मजबुत भएको महसुस गरेका छौं,’ राष्ट्रपति भण्डारीको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो ।

चिनियाँ नेता लिउले आफ्नो नेपालको भ्रमण यहाँका पार्टीहरूसँगको सम्बन्ध बढाउनु रहेको बताउनुभएको थियो । ‘मैले नेपालको सबै राजनीतिक दलका नेताहरुसँग भेटेँ । पार्टीहरूबीचको सम्बन्ध विस्तारका लागि म आएको हुँ,’ लिउको भनाइ थियो ।

राजनीतिक भेटवार्तामा व्यस्त लिउ आज बेलुका नै बेइजिङ फर्कने कार्यक्रम छ ।