१६ बैशाख २०८१, आईतवार 1714312959
राजनीति

बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्नता विषयमा पूर्वाग्रह राखेर काम गर्दैनौं : सांसद खगराज अधिकारी

काठमाडौँ : बजेट निर्माणका क्रममा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोपमाथि छानबिन गर्न गठित संसदीय विशेष समितिका सदस्य तथा एमाले सांसद खगराज अधिकारीले पूर्वाग्रह राखेर काम नगर्ने बताएका छन् । संवैधानिक सर्वोच्चता कायम गरेर अनुसन्धान गर्ने भन्दै उनले छानबिन आरोपितप्रति पूर्वाग्रह राखेर नगरिने बताए ।प्रतिनिधिसभाको बिहीबारको बैठकपछि अधिकारीले पूर्वअर्थमन्त्री शर्माले बजेट निर्माणका क्रममा नियम, कानुनहरूको पालना नगर्नु अक्षम्य रहेकोसमेत बताए ।

कानुन र संविधानभन्दा माथि व्यक्ति नहुने भन्दै संविधानको सर्वोच्चतालाई कायम गरेर अनुसन्धान गरिने उनको भनाइ थियो । ‘छानबिन गर्नुपर्ने सबै कुराको छानबिन गर्छौं । सञ्चार क्षेत्रले पनि तथ्य प्रमाण उपलब्ध गराउनुपर्‍यो । कसैलाई दोषी करार गरेर हामीले बदला लिनु छैन । कोही दोषी फलानो होस् भन्ने कुरा होइन, प्रणालीलाई हामीले कसरी सम्हाल्ने र व्यवस्थाप्रतिको विश्वसनीयता कसरी जनसमथर्नमा कायम गरिरहने भन्ने नै हाम्रो मुख्य विषय हुन्छ,’ उनले भने, ‘जसले त्यो ठाउँमा भएर राज्यको प्रतिनिधित्व गर्दा नियम, कानुनहरूको परिपालना गरेन । त्यो नगर्दाखेरी र बलमिच्याइँ गरेर ठाडो चुनौती दियो, त्यो कुरा अक्षम्य थियो । व्यक्ति कानुनभन्दा माथि हुँदैन । संविधानभन्दा माथि कोही पनि होइन । यो कुराको सर्वोच्चता कायम गर्ने गरेरै हामी अनुसन्धान गर्छौं । कसैलाई दोषी करार गर्ने पूर्वाग्रहसाथ काम गर्दैनौं ।’

त्यसैगरी, संसदीय छानबिन समितिका सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले समितिको पहिलो बैठक बोलाउने काम संघीय संसद् सचिवालयको भएको बताए । उनले सचिवालयले पहिलो बैठक बोलाएपछि संयोजक तोकेर र कार्यविधि बनाएर काम अगाडि बढाउने जानकारी दिए ।

प्रतिनिधिसभाले शर्माले अर्थमन्त्रीका रूपमा बजेटमा करका दर हेरफेर गर्ने क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको आरोपमा छानबिन गर्न बुधबार संसदीय विशेष समिति गठन गरेको थियो । आफूमाथि छानबिन गर्न समिति गठन भएपछि मन्त्रीबाट शर्माले राजीनामा गरेका थिए ।