१४ बैशाख २०८१, शुक्रबार 1714187399
पालिका

काभ्रेका बालगृह तथा वृद्धाश्रम अनुगमन

काभ्रे- काभ्रेमा रहेका बालगृह तथा वृद्धाश्रमको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले बनेपामा र धुलिखेलमा रहेको बालगृह तथा वृद्धाश्रम अनुगमन गरेको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र गैसस महासंघको संयुक्त टोलीले अनुगमन गरेको हो ।

संयुक्त अनुगमन टोलीले बनेपामा रहेको बौद्ध विहार वृद्धाश्रम र धुलिखेलमा रहेको सहयोग र सरोकार बालगृह, सिद्धार्थ बालगृह, नेपाल वास्ता समाज बालगृहमा गई नेपाल सरकारले तोकेको मापदण्ड अनुसार सञ्चालनमा छन् कि छैनन्, वृद्धवृद्धा तथा बालबालिकाहरुको अवस्थाका बारेमा जानकारी लिइएको थियो ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले नेपाल सरकारले आवासीय बालगृह सञ्चालन सम्बन्धी मापदण्ड बनाएको र सो अनुसार विभिन्न गैरसरकारी संस्थाहरुले आवासीय बालगृह सञ्चालन गरेको बताउनुभयो ।

उहाँले काभ्रे जिल्लाको बनेपा र धुलिखेल नगरपालिकाभित्र रहेका बालगृहहरु र वृद्धाश्रमको अनुगमन गरी मापदण्ड बमोजिम सञ्चालन भएका छन् कि छैनन्, पालना गर्नुपर्ने मापदण्ड पालना गरेका छन् कि छैनन् र बालबालिकाहरुले पाउनुपर्ने उचित हक, अधिकार, शिक्षा, खान, लाउन, बस्न राम्रोसँग पाएका छन् कि छैनन् भनी त्यसका बारेमा अनुसन्धान गरेका बताउनु भयो ।

उहाँले मापदण्डले सूचकहरु तोकेको छ र सोही अनुसार सञ्चालन हुनुपर्ने बताउनु हुँदै उचित वातावरणमा बालबालिकाहरु रहन पाउनुपर्ने र सो बमोजिम पाइएन भने कानूनी कारवाही गर्ने बताउनु भयो । अनुगमनमा केही बालगृहहरु राम्रा र केही बालगृहले मापदण्ड पालना गरेका नपाइएको र उनीहरुलाई सोही बमोजिमको कारवाही गर्ने बताउनुभयो ।