१४ बैशाख २०८१, शुक्रबार 1714124507
खेलकुद

इन्द्रसरोवर गाउँपालिका प्रमुख रनिङ शिल्ड फुटबल सम्पन्न, वडा नम्बर ४ ले दुई गोल गर्दै ट्रफी आफ्नो पोल्टामा पारयो

काठमाडौं । मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा इन्द्रसरोवर युवा तथा खेलकुद विकास समितिको आयोजनामा तेस्रो गाउँपालिका प्रमुख रनिङ शिल्ड फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

शनिबार गाउँपालिकामा भएको फाइनल प्रतियोगितामा वडा नम्बर ३ र ४ बीच खेल भएको थियो । खेलमा वडा नम्बर ४ ले दुई गोल गर्दै ट्रफी आफ्नो पोल्टामा पारेको छ । 

३ र ४ बीच भएको खेलमा पहिलो हाफबाट नै वडा नम्बर ४ ले अग्रता लिएको थियो । वडा नम्बर ४ का सुवास लामाले दोस्रो हाफमा पनि टिमका लागि गोल थपे । उनी यो प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीसमेत बने । उनले प्रतियोगिता भर ६ गोल गरेका हुन् ।

प्रतियोगिताको समापनको दिन विजेताहरुलाई ट्रफी तथा पुरस्कार वितरणका लागि औपचारिक कार्यक्रम पनि गरिएको थियो । इन्द्रसरोवर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष रत्न थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि थिए, नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत ।

प्रतियोगिता सकिएपछि औपचारिक कार्यक्रममा बस्नेतले नेपालमा खेल क्षेत्रको विकासका लागि तीनै तहका सरकार गम्भीर र उत्तरदायी बन्नु पर्नेमा जोड दिए । उनले देशका तिनै तहका सरकार गम्भीर र जिम्मेवार बनेमात्र देशमा खेलकुदको भविष्य राम्रो हुने र भविष्यमा खेलाडीका लागि पनि यसले राम्रो गर्ने बताए । 

उनले इन्द्रसरोवरका युवाहरुको खेलको प्रशंसा गर्दै भने, ‘हामीले आज इन्द्रसरोवरमा उत्कृष्ट फुटबल हेर्न पायौँ, यहाँका खेलाडीहरुले राष्ट्रिय लेभलमा प्रदर्शन गर्न सक्नेमा म विश्वस्त छु ।’ तर, यसका लागि वातावरण बनाउन गाउँपालिकाले पहल गर्नु पर्ने पनि उनले बताए । त्यसका लागि नेपाल खेलकुद महासंघले आवश्यक सहजीकरण गर्नेसमेत उनले बताए ।

‘सबैभन्दा पहिले त खेलकुद क्षेत्रको विकासका लागि स्थानीय सरकारले पनि खेलकुदमा बजेट छुट्याउन कन्जुस्याइँ गर्नुहुँदैन,’ बस्नेतले भने, ‘तीनै तहका सरकार जिम्मेवार तथा गम्भीर हुने हो भने खेलकुद क्षेत्रले छिटो ठूलो फड्को मार्न सक्छ ।’

उनले नेपाल खेलकुद महासंघले पछिल्लाे समय तीनै तहका सरकारलाई खेलप्रति जिम्मेवार बन्न सजग गराउँदै आएकाे पनि स्मरण गरे ।

कार्यक्रममा इन्द्रसरोवर गाउँपालिकाका उपप्रमुख उमा कुमारी लामाले इन्द्रसरोवरमा अब खेलकुदका अन्य गतिविधि पनि बढ्ने बताइन् । त्यस्तै, गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले आफूहरु गाउँपालिकामा खेलकुदका लागि आवश्यक काम गर्न सधैं तत्पर रहेको बताए ।

कार्यक्रममा नेपाल खेलकुद महासंघका स्थायी कमिटी सदस्यहरु ओमकृष्ण प्रसाईं, धरमबहादुर लामालगायतको पनि उपस्थिति थियो । त्यस्तै, नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य बुद्धि तामाङ, इन्द्रसरोवर गाउँपालिकाका विभिन्न सरकारी तथा सामाजिक संघसंस्थाका अधिकारीहरुकोे पनि कार्यक्रममा उपस्थिति थियो ।

९ टिम सहभागी खेलमा प्रथम हुनेले शिल्डसहित ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुने टिमले २० हजार पुरस्कार पनि पाए ।