२० बैशाख २०८१, बिहीबार 1714650020
कृषि

झापामा साउन पहिलो साताभित्र रोपाइँ सकिने

धान खेतीका लागि उर्वरभूमि मानिने झापामा १८ प्रतिशत रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले समयमै वर्सात सुरु भए पनि किसानले मल नपाएका कारण हालसम्ममा १८ प्रतिशत मात्र रोपाइँ भएको बताउनुभयो । झापामा यस वर्ष ८७ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेतीको तयारी छ ।

त्यसमा ८० प्रतिशत खेती आकाशे पानीको भरमा हुने गरेको छ । जिल्लामा नियमित सिँचाइका लागि कनकाई, निन्दा, टाङटिङ, पालिया, खुदुनाबारी, सिद्धिनहर, भुतेनी खोला लगायतका सिँचाइ आयोजना छन् ।

धान दिवसका अवसरमा केन्द्रले आज कमल गाउँपालिका–७ स्थित लखनपुर साना किसान सहकारी संस्थाको जमिनमा सामूहिक रोपाइँ कार्यक्रम गरिरहेको छ । “मल नपाए पनि किसानले अब धमाधम रोपाइँ गरिरहनुभएको छ, सायद साउन पहिलो हप्तासम्ममा जिल्लामा रोपाइँ सकिन्छ होला”, विष्टले भन्नुभयो ।