२०७९ भाद्र २ बिहीबार 1660841763
Banner

समस्या हाम्रो सोच र व्यवहार छ न की राजनैतिक तथा संवैधानिक व्यवस्थामा

हिजोआज राजनीतिक बजारमा नयाँ राजनीतिक दल बनाउन केही कसरत भइरहेका छन्। कसरत गर्नेहरूमा भ्रम के छ भने पुराना दलहरू निर्माणका चरणमा असफल भएका हुन्, तर त्यसो पटक्कै होइन। पार्टी निमार्णको लामो अभ्यासमा दलका नेताहरूले लामो संघर्ष, त्याग र योगदान गरेका थिए। उनीहरूले राज्य व्यवस्थाका विरूद्ध पार्टी बनाएर लामो समय संगठित आन्दोलनमा क्रियाशील भएका थिए। जब उनीहरू आफैं राज्य सत्ताको नेतृत्व गर्ने ठाउँमा पुगे, विद्रोही चेतबाट राज्य सञ्चालन गर्ने चेतमा रूपान्तरण हुन नसक्दा असफल जस्तो देखिएका हुन्। तर पूर्ण रूपमा असफल भएका होइनन्। अहिले उनीहरू विद्रोही चेतबाट मूक्त हुने प्रक्रियामा छन्। त्यसैले राजनीतिमा प्रवेश गर्न आतुर पात्रहरूले नयाँ दल बनाउन समय र सामर्थ्य खर्चनु भन्दा स्थापित दलहरूमा प्रवेश गरेर सकारात्मक हस्तक्षेप र रचनात्मक योगदानमार्फत राजनीतिलाई देश र जनताको सेवामा लगाउनु पर्छ नकि राजनीतिक दल बनाउने लामो प्रक्रियामा प्रवेश गरेर रवीन्द्र मिश्रको जस्तो अवस्थामा पुग्नु हुँदैन्।

अहिले जसरी प्रत्यक्ष निर्वाचनमा स्वतन्त्र उम्मेदवार उठाउने अनि समानुपातिक मत पाउन पार्टी बनाउने रणनीतिका साथ जसरी रबी लामिछानेको नेतृत्वमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठन गरिएको छ, यो दल तत्काल केही निर्वाचन क्षेत्रहरूमा खासगरी सहरी क्षेत्रमा आकर्षणको केन्द्र त बन्न सक्ला तर त्यो दिगो भने हुँदैन्। २०७० को संविधानसभाको चुनावमा कमल थापाको पार्टीले पाएको समानुपातिक मत २०७४ को निर्वाचनमा पुग्दा सकियो किनभने त्यो लोकप्रिय मत भ्रमित जनमनोविज्ञानको परिणाम थियो। फेरि युरोपमा जस्तै नयाँ दल बनाउने र चुनाव जित्ने राजनीतिको नक्कल नेपालमा सम्भव छैन्। यसर्थ रबी लामिछानेहरूले स्थानीय चुनावमा हर्क राई र बालेन साहहरूले पाएको सफलतालाई आधार बनाएर नयाँ पार्टी बनाउन खोजेका हुन् भने त्यो उनीहरूको गलत विश्लेषणको जगमा लिइएको निर्णय हुनेछ।

नेपालको राजनीतिमा विशेष गरी तीनवटा धारहरू छन्स वामपन्थी, दक्षिणपन्थी र रूढिवादी। तर रबी लामिछानेले बनाउन खोजेको पार्टीले कुन धारको प्रतिनिधित्व गर्न खोजेको होरु स्पष्ट छैन्। पार्टीको नाम घोषणाका दिन एकथरी कुरा गरे भने पत्रकार सम्मेलनमा अर्काथरी कुरा गरेर आफ्नो राजनीतिक अन्यौलता देखाए। पछिल्लो समय रबी लामिछानेले जसरी भेटघाट र छलफल गरेका छन्, त्यसले उनको मनमा एकप्रकारको छटपटी र हतास देखिन्छ। टिभी च्यानलहरूबाट बोलेजस्तो सजिलो छैन् राजनीति भन्ने कुरा रबीले छिट्टै थाहा पाउने छन् किनभने राजनीतिमा जसभन्दा अपजस बढी वहन गर्नुपर्ने हुन्छ। त्यसमाथि नेपाली जनमनोविज्ञानलाई डिजिटल दुनियाँले छिनछिनमा परिवर्तन गर्दा उनीहरूले दिने अभिमत अस्थिर हुन थालेको छ। यो अस्थिर मनोविज्ञानको जगमा स्थिर राजनीति कति सम्भव होला ? यो प्रश्नको उत्तर त्यति सजिलो छैन्। त्यसैले नयाँ दल बनाउने गलत बाटो छोड्नु नै श्रेस्यकर हुनेछ।

हाम्रो मनोविज्ञान पनि अचम्मको छ, समस्या एकातिर समाधान अर्कातिर खोजेर समय र सामर्थ्य खेर फालिरहने खालको छ। जस्तैः समस्या देशको शैक्षिक, आर्थिक, प्रशासनिक र न्यायिक प्रणालीमा छ तर हामीभने राजनैतिक तथा संवैधानिक व्यवस्थामा समस्या देखिरहेका छौं। अनि नयाँ व्यवस्था ल्याउने परिकल्पनामा नयाँ दल बनाउने प्रयास गरिरहेका छौं।

हामीले बुझ्नुपर्छ, नागरिकदेखि नेतृत्वको मनस्थिति सकारात्मक अनि देशको परिस्थिति रचनात्मक र आसावादीपूर्ण बनाउन नयाँ राजनीतिक व्यवस्था खोज्ने वा नयाँ दल बनाउने नभएर सबभन्दा पहिला देशको शिक्षा व्यवस्थामा आमूल परिवर्तन गर्नुपर्छ। यदि अहिले शिक्षामा आमूल परिवर्तन गर्न सकियोभने १० देखि १५ वर्षभित्र नागरिक र नेतृत्वको मनस्थितिदेखि लिएर देशको परिस्थिति राष्ट्रिय आवश्यकता अनुरूपको विकास हुन थाल्नेछ। हिजोआज हामी जसरी राजनीति गरेर प्रगति खोज्दैछौं, त्यो नकारात्मकतामा आधारित छ। जबसम्म यो खालको मनस्थिति र परिस्थिति कायम रहन्छ तबसम्म देशको परिस्थितिमा गुणात्मक परिवर्तन ल्याउन सम्भव देखिन्न्। त्यसैले अहिले देशले नयाँ दल होइन, असल नागरिक र नेतृत्व खोजेको छ।

सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सकियोभने मात्रै देशमा देखिएका सामाजिक, राजनीतिक, न्यायिक, प्रशासनिक र आर्थिक समस्याहरूको दिगो समाधान खोज्न नागरिकहरू सहयोगी र सकारात्मक भूमिका निर्वाह गर्न थाल्नेछन् अनि राजनीतिक दल र नेतृत्वले पनि नागरिकको त्यो भूमिकानुसार गतिविधि गर्न बाध्य हुनेछन्। अन्यथा जनवितृष्णा र जनअसन्तुष्टीहरूको जगमा देशमा नियन्त्रित अस्थिरता बढाउने राजनीतिले अस्वभाविक रूपमा प्राथमिकता पाउन थाल्दछ। अहिले कम्फर्टेबल सत्ता गठबन्धन त्यसकै परिणाम हो।

अहिले सामाजिक सञ्जालमा फोटोसहितको “रवीन्द्र, रमेश र रबी आउँ एक ठाउँमा, देश आउँछ ठीक ठाउँमा” भन्ने व्यानर सार्वजनिक गरिएको छ। डिला खरेलले सेयर गरेको त्यो व्यानरले ती तीन पात्रहरूलाई आदर्श पात्रका रूपमा चिनाउन खोजिएको छ। पत्रकारिताबाट राजनीतिमा आएका रवीन्द्र मिश्र राजनीतिमा असफल पात्र हुन् भने रमेश खरेल प्रहरीमा आईजिपी हुन नपाएपछि बदलाभावले राजनीतिमा आएका हुन्। रबी लामिछाने टिभिमा कार्यक्रमको प्रस्तोता हुँदै त्यसबाट प्राप्त ख्यातिको जगमा राजनीतिक दल बनाउन खोज्दैछन्। उनीहरूको पृष्ठभुमि राजनीतिमा किङ मेकर बन्न सक्ने त देखिन्छ तर राजनीतिज्ञ नै बन्ने गुण देखिन्न। दक्षिणपश्चिमले नेपालमा राजनैतिक तथा संवैधानिक अस्थिरता सिर्जना गरेर आफ्नो स्वार्थअनुकुलको नीति र कमजोर शासन प्रणाली कायम गर्ने स्थापित दलहरूलाई विस्थापित गर्ने राजनीतिका लागि लगानी गरिरहेको त छैन् भनेर शंका गर्नुपर्ने अवस्था बनेको छ।

समस्या राजनैतिक तथा संवैधानिक व्यवस्थामा होइन, हाम्रो सोच र व्यवहारमा छ। त्यो सोच र व्यवहारमा गुणात्मक सुधार ल्याउने नयाँ शिक्षा व्यवस्था देशले खोजेको छ। तर हामी भने बारम्बार राजनैतिक तथा संवैधानिक व्यवस्था अनि नेतृत्व परिवर्तनमा केन्द्रीत भएर समस्यामाथि समस्या सिर्जना गर्ने गतिविधिमा रमाईरहेका र त्यस्ता गतिविधिहरूलाई जानेर नजानेर सघाईरहेका छौं। राजनीतिक दल र नेताहरू सत्तामुखी भए आलोचना गर्दैछौं।

राजनीतिको उद्देश्य राज्य सत्तामा पुगेर देश र जनताको सेवामा काम गर्ने हो। राजनीति सत्तामुखी भयो भनेर आरोप लगाउनु वा आलोचना गर्नुको कुनै अर्थ छैन्। बरू वैचारिक मुल्यमान्यतानुसार राजनीति भइरहेको छ कि छैन् भनेर वस्तुनिष्ठ मुल्याकंन गरिनुपर्छ। तर खराब शिक्षा तथा सामाजिक व्यवस्थाका कारणले राजनीतिक गतिविधिको मुल्याकंन गर्ने क्षमता हामी जनतामा विकास भएन।

शिक्षा तथा सामाजिक व्यवस्थाले

देशका लागि असल र सक्षम नागरिक बनाउने,

राज्यका सबै संयन्त्रहरूले

इमानदार रूपमा जनमुखी र देशमुखी भएर काम गर्ने,

राजनीतिक नेता तथा कार्यकर्ताहरूले

राजनीतिलाई देश सेवाको माध्यम बनाउने,

बौद्धिक तथा प्राज्ञिक वर्गहरूले

आफ्नो होइन राष्ट्रिय स्वार्थमा मात्र रमाउने,

सञ्चार माध्यम र पत्रकारहरूले

पत्रकारितालाई स्वतन्त्र र निष्पक्ष बनाउने !

होभने अहिले देशमा देखिएका सबै राजनीतिक विकृति तथा विसंगती अनि अन्यौलताहरू आफैं बिस्तारै हट्ने थियो। तर कहिले भन्ने प्रश्न उठाउनु पर्नेमा पत्रकारहरू राजनीतिज्ञहरूलाई गाली गर्दै आफैं खराब राजनीति गर्न थाल्छ। सेवा निवृत्त राष्ट्र सेवकहरू सेवाकालमा केही गर्दैनन् अनि बाहिर आएर अर्तिउपदेश दिनेदेखि लिएर आफैं राजनीतिक नेता बन्न खोज्छन्। हामी जिम्मेवार र ईमानदार हुने कहिले ?