२०७९ भाद्र २ बिहीबार 1660841434
विचार

जनताको बहुदलीय जनवाद बुझ्ने हो भने…

जनताको बहुदलीय जनवाद – यो सुन्दर लाग्ने सूत्रीकरण मात्र होइन । न त यो अत्यन्त आदर गरिएका दिवंगत नेता मदन भण्डारीको नाम सम्झेर भावुकतावश उल्लेख गरिएको नामाकरण नै हो । नेपाली विशिष्टतामा मार्क्सवादलाई सिर्जनात्मक रूपमा प्रयोग गर्दा विकसित भएको विचार हो – जनताको बहुदलीय जनवाद ! यो नेपाली क्रान्तिको ठोस व्यवहारमा विकसित नवीन विचार हो र नेपालको विशिष्टतामा क्रान्तिकारी परिवर्तनलाई दिशानिर्देश गर्ने विचार पनि हो । यसले नेपालको क्रान्तिकारी परिवर्तन सम्वन्धमा मुलुकको राजनीतिक यथार्थ धरातलमा उभिएर सैद्धान्त्तिक र नीतिगत प्रश्नहरूको आधारभूत रूपमा समाधान गरेको छ ।

जबजको जन्म जडतामा जकडिएको मान्यता बोकेर भएको होइन । नेपालको कम्युनिष्ट आन्दोलनका अग्रजहरूले अघि सारेका राजनीतिक विचार र मान्यताका सकारात्मक पक्षहरूको जगमा उभिएर विकसित भएको विचार हो । २००६ साल बैशाख १० गते नेपालका कम्युनिष्टहरूले जारी गरेको ‘पहिलो पर्चा’ देखि प्रारम्भ हुँदै २०४६ भदौमा सम्पन्न तत्कालीन नेकपा (माले) को चौथो राष्ट्रिय महाधिवेशनबाट पारित“ बहुदलीय प्रतिस्पर्धा सहितको जनवादी व्यवस्था’ को कार्यक्रमिक प्रतिवद्धतासम्म आइपुग्दा यो विचारले महत्वपूर्ण आधार प्राप्त गरिसकेको थियो । २०४९ मा सम्पन्न तत्कालीन नेकपा (एमाले) को पाँचौं राष्ट्रिय महाधिवेशनसम्म आइपुग्दा स्पष्ट वैचारिक मान्यता सहित “कार्यक्रम” का रूपमा अघि सारियो ।

अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका नकारात्मक अनुभवहरूको निर्मम समीक्षा गरेर तथा मार्क्सवादी दर्शन र सिद्धान्तबाट निर्देशित हुँदै यो विचार विकसित भएको हो । विगतमा “राजाको शासन भएको बेला“ ज्यान जोगाउन छड्के हान्दै अघि सारिएको अवसरवादी विचार होइन वा कुनै “क्रमभंग“ गरिदिउँ भनेर अघि सारिएको मौसमी विचार पनि होइन ।

त्यसपछिका विकसित व्यवहारहरूलाई अगाडि बढाउने क्रममा यहाँका परिवर्तनका लागि चालिएका विचार र कामहरूलाई मार्गदर्शन गर्ने विचारको रूपमा अघि सारिको छ र मार्क्सवादलाई नेपालको विशिष्टतामा प्रयोग गर्दा विकसित भएको विचारको रूपमा यसलाई स्वीकार गरिएको छ । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका नकारात्मक अनुभवहरूको निर्मम समीक्षा गरेर तथा मार्क्सवादी दर्शन र सिद्धान्तबाट निर्देशित हुँदै यो विचार विकसित भएको हो । विगतमा “राजाको शासन भएको बेला“ ज्यान जोगाउन छड्के हान्दै अघि सारिएको अवसरवादी विचार होइन वा कुनै “क्रमभंग“ गरिदिउँ भनेर अघि सारिएको मौसमी विचार पनि होइन । यो गतिमै जन्म्यो, गतिमै विकसित भयो र गतिमै अघि बढ्छ पनि । जडताकै विरोधमा यो अघि बढ्छ र बढ्दै जान्छ पनि ।

जनताको वहुदलीय जनवादले पार्टीको लोकतान्त्रिकरण, आन्दोलनको लोकतान्त्रिकरण र समाजको लोकतान्त्रिकरण सम्वन्धी मान्यतालाई सशक्त ढंगले अघि सारेको छ । सेवा, संघर्ष, प्रतिस्पर्धा र पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्ने नीतिका आधारमा संगठनात्मक जीवनलाई व्यवस्थित गर्नु पर्छ भन्ने मान्यता राख्छ जनताको वहुदलीय जनवादले । यो ‘अहिलेको अवस्थामा केही न केही नयाँ विचार बनाऔं’ भन्दै केही ‘विचारक’ र ‘सिद्धान्तकारहरू’ द्वारा विकसित र स्थापित गर्न खोजिएको विचार होइन ।
प्रारम्भमा मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद ‘का लागि केही संगतिपूर्ण वैचारिक र राजनीतिक– सैद्धान्तिक आधारहरू निर्माण गर्नुभएको कुरालाई बुझ्नुपर्छ । पहिलो, आफ्नो पार्टीको राष्ट्रिय मञ्चबाट औपचारिक रूपमै “बहुदलीय प्रतिस्पर्धासहितको जनवादी व्यवस्था” लाई कार्यक्रमिक रूपमा सर्वसम्मतिका साथ साथ स्वीकार गर्ने स्थिति बनाउनु ।

दोश्रो, त्यसबेलासम्म नेपालका कम्युनिष्टहरूका बीचमा नेपाली काँग्रेसका सम्वन्धमा रहेका एकलकाँटे र भ्रमपूर्ण विचारहरूको खण्डन गर्दै राजाको निर्दलीय र निरंकुश शासन सत्ताका विरूद्धमा बहुदलीय व्यवस्थाको पक्षधर भन्ने नेपाली काँग्रेससित कार्यगत एकता अर्थात् साझा शत्रुका विरूद्ध सम्भव सबै शक्तिलाई गोलवन्द गर्ने कार्यनीति लिनु । तेश्रो, साझा शत्रुका विरूद्ध प्रहार केन्द्रित गर्ने विचार राख्ने, कतिपय कार्यनीतिक विषयमा एक नभए पनि आम रूपमा सैद्धान्तिक मान्यतामा समान धारणा भएका वामपन्थीहरूका विचमा मोर्चा निर्माण (संयुक्त वाम मोर्चा निर्माण) गर्नु । चौथो, राजनीतिक परिवर्तनपछि पार्टीलाई अन्य राजनीतिक पार्टीहरूसित प्रतिस्पर्धी बनाउन खुला र बैधानिक ढंगले काम गर्नसक्ने बनाउने निर्णय गर्नु, जनतासित प्रत्यक्ष सम्वन्ध रहेको, घाम पानी सहेको, प्रतिस्पर्धाका लागि योग्य रहेको कम्युनिष्ट पार्टी निर्माण गर्नु ।

मदन भण्डारीले स्थापित गर्नुभएका यिनै कुराहरूको जगमा नेपालको विशिष्टतामा मार्क्सवादलाई सिर्जनात्मक रूपमा लागू गर्दा विकसित भएको विचार – जनताको वहुदलीय जनवाद लाई कार्यक्रम र विचारको रूपमा विकास गरिएको हो । नेपालको कम्युनिष्ट आन्दोलन यही विचारबाट निर्देशित भएर अगाडि बढिरहन सक्छ, योग्यता र क्षमता प्रदर्शन गर्दै – प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्दै – अहिलेको परिवर्तनमा आधारित हुँदै समाजवादका आधार निर्माण गर्ने अभियानमा अगाडि बढ्न सक्छ । जननेता मदन भण्डारीको जन्मजयन्ती मनाइरहँदा यिनै कुरालाई हृदयंगम गर्दै र यिनै कुराबाट निर्देशित हुँदै अगाडि बढौं !