१८ बैशाख २०८१, मंगलवार 1714479698
Banner

शिक्षामा भाषाको शक्ति र राजनीतिको प्रवृत्ति

‘भाषा शक्ति, जीवन र संस्कृतिको साधन हो, प्रभुत्व र मुक्तिको साधन हो ।’ (एञ्जेला कार्टर) हामी सबैलाई आफू क्षमतावान, प्रतिष्ठावान र प्रभावशाली हुने मन हुन्छ। जीवन सफल बनाउने चाहाना हुन्छ। यसका लागि हामीले प्राप्त गरिरहेको शिक्षा व्यवस्थाको चरित्रले मुख्य भूमिका खेलिरहेको हुन्छ। पाठ्यक्रमको संरचना र कक्षाकोठाहरूमा प्रयोग हुने माध्यम भाषाहरूले पनि प्रभाव पारेको हुन्छ। त्यसैले भाषाहरूको महत्त्व राजनीतिक नेतृत्वले बुझेर शिक्षामा मातृभाषा, दोस्रो भाषा र अन्तराष्ट्रिय भाषाहरूको सन्तुलित प्रयोग गर्ने नीतिगत व्यवस्था गर्न सक्नुपर्छ। कुन तहमा कुन भाषालाई माध्यम भाषा बनाउने पाठ्यक्रममा नै स्पष्ट व्यवस्था गर्नुपर्छ।

हामी क्षमतावान, प्रतिष्ठावान र प्रभावशाली बन्नका लागि अंग्रेजी भाषा कै माध्यमबाट पढ्नु र पढाउनु पर्छ भन्ने भ्रममा छौं। यो भ्रमका कारणले आधारभूत शिक्षामा मातृभाषाको प्रयोग प्रभावकारी बन्न सकेको छैन्। त्यसैले अंग्रेजी भाषाका माध्यममा पढाइ हुने विद्यालयप्रति अभिभावकहरूको आकर्षण बढेको छ। अंग्रेजी भाषाका माध्यममा पढाइ हुने विद्यालयमा आफ्ना सन्तानलाई पढाउन सक्नुलाई प्रतिष्ठाको विषय पनि बनेको छ। यो खालको बुझाइ र अभ्यास हुनुका पछाडि अंग्रेजी भाषा विश्वको शक्तिशाली र पैसा कमाउने भाषा भएकोले पनि हो। तर हामीले विद्यार्थीहरूको शैक्षिक उपलब्धि स्तरीय बनाउन, जीवनमा दिगो सफलता हासिल गर्न र वैश्वीक नागरिक बन्नका लागि शिक्षामा भाषाहरूको सन्तुलित र व्यवस्थित प्रयोग आवश्यक भएको बुझ्नुपर्ने भएको छ।

पूरा सूचना र सही जानकारीको अभावमा अभिभावकहरू भ्रममा परेर मातृभाषाका माध्यमबाट पठनपाठन सुरू गर्दा आफ्ना सन्तानहरू आफू झैं पछाडि पर्ने त होइनन् भन्ने भ्रम र त्रासमा परेका छन्। अभिभावकहरूमा रहेको यो भ्रम र त्रास हटाउन राज्य अर्थात शिक्षा मन्त्रालयले प्रभावकारी भूमिका निर्वाह गर्न सकिरहेको छैन् किनभने शिक्षा मन्त्रालयको नेतृत्व प्रचारबाजी र स्टन्टमा रमाइहरेको अवस्था छ। यसको प्रमाण शिक्षामन्त्री सुमना श्रेष्ठले गरेको ट्विटलाई लिन सकिन्छ। सुमना ट्विटरमा लेख्छिन्, ‘जेहेन्दार बालबालिकाहरूलाई छात्रवृत्ति कार्यक्रम अन्तर्गत आवासीय रूपमा निःशुल्क वा सहुलियत शुल्कमा बुढानिलकण्ठ स्कूलमा पढ्न अब चैत २९ मा बिहान ११ बजे परीक्षा सञ्चालन हुँदैछ। सबै माझ जानकारी पुर्याईदिनु होला है।’

शिक्षामन्त्री सुमना श्रेष्ठ स्टन्ट गर्दैछिन्, स्टन्ट धेरै भो। सुमना श्रेष्ठले बुझ्नुपर्छ, बालबालिकाहरूले बाबुआमाको हेरचाहमा बसेर आफ्नै गाउठाउँमा गुणस्तरीय शिक्षा पाउनुपर्छ। यसका लागि सोअनुसारको प्रबन्ध गर्न शिक्षामन्त्रीले नीतिगत व्यवस्था गरेर लगानी पनि सुनिश्चित गर्नुपर्छ नकि बुढानिलकण्ठ स्कूलको प्रचार। नयाँ शैक्षिक सत्र सुरू हुँदैछ, सार्वजनिक शिक्षाको स्तर कस्तो बनाउने र बढीभन्दा बढी विद्यार्थी कसरी भर्ना गराउने भन्ने प्रश्नमा केन्द्रीत भएर शिक्षाको चरित्र, नीति र व्यवस्थाका बारेमा बोल्नुपर्थ्यो। तर सुमना त अंग्रेजी भाषा माध्यमको शिक्षाको प्रबर्द्धनमा रमाउन खोजेको स्पष्ट देखियो।

आज मन्त्री अर्थात राज्यको भूमिका जनतालाई सही सूचना दिने र सही बाटो लिने बनाउने हुनुपर्छ। सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित कसरी गर्न सकिन्छ भनेर राज्य सञ्चालनमा रहेका पात्रहरू चिन्तित र चिन्तनशील हुनुपर्छ। तर हाम्रो शिक्षामन्त्री सुमना श्रेष्ठले त्यो चिन्ता र चिन्तन गरेको देखिएन। बरू शिक्षामन्त्री यथास्थितिमा रमाएर सार्वजनिक शिक्षा अझ कमजोर बनाउने भूमिकामा देखिनु भयो। त्यसैले त शिक्षा व्यवस्थामा आमूल परिवर्तन गर्ने मुद्दाप्रति मन्त्रीले गम्भीर रूपमा लिएको पाइएन। जबसम्म यो खालको चिन्तन र व्यवहार राजनीतिक नेतृत्वमा कायम रहन्छ तबसम्म नेपालको शिक्षा व्यवस्थामाथि प्रश्न उठिरहन्छ।

आज शिक्षाको स्तर गुणात्मक बनाउन विद्यालय र विश्वविद्यालय शिक्षाको चरित्र कस्तो हुनुपर्छ भन्ने प्रश्नले प्राथमिकता पाउनु पर्छ। जति जति शिक्षामा अंग्रेजी भाषा र पश्चिमा विश्वदृष्टकोणको प्रभाव बढ्यो त्यति त्यति नेपालको सार्वजनिक शिक्षा कमजोर बन्दै आयो। अहिले त ध्वस्त हुने चरणमा पुगेको छ। यो प्रक्रियालाई अझ गति दिन शिक्षामन्त्री सुमना श्रेष्ठले भूमिका खेलिरहेकी छिन भनेर बुझ्न उनका स्टन्ट नै काफी छ। अन्यथा उनले शिक्षा व्यवस्थामा आमूल परिवर्तन र शिक्षामा भाषाहरूको प्रयोग किन भन्ने प्रश्नमा आफू नेतृत्वको मन्त्रालयलाई सक्रिय बनाउने भूमिकामा देखिन्थिन्। तर त्यसको छनक समेत देखिएको छैन्। उनी त आमअभिभावकहरूलाई भ्रमित बनाउने गरी प्रस्तुत हुन सक्नुलाई प्रगति ठान्दैछिन्।

यति बेला शिक्षा क्षेत्रका सरोकारवालाहरूले बुझ्नुपर्छ, बालबालिकाहरूले शिक्षाको सुरूवात मातृभाषाबाट गर्दै दोस्रो र अंग्रेजी भाषाका माध्यमबाट गर्न पाउँदा उनीहरूको शैक्षिक उपलब्धि राम्रो हुनुका साथै मातृभाषासँगै दोस्रो भाषा र अंग्रेजी भाषामा राम्रो दख्खल हुन्छ। यसले उनीहरूलाई वैश्वीक नागरिक बन्न पनि सघाउँछ। वैश्वीक नागरिक बन्नु भनेको स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय तहमा सहज रूपमा स्थापित हुन र प्रतिस्पर्धा गर्न सक्ने हुनु हो। जुनसुकै परिस्थितिमा पनि आफूलाई अब्बल साबित गर्न सक्नु हो। त्यसैले स्थानीय भाषा-संस्कृति, राष्ट्रिय संस्कृति र प्रवृत्ति अनि अन्तराष्ट्रिय परिस्थितिका बारेमा बुझेको नागरिक नै वैश्वीक नागरिकका रूपमा चिनिन्छ। यो यथार्थ बुझाउन नसक्दा शिक्षामा मातृभाषाको प्रयोग अर्थात बहुभाषिक शिक्षाको महत्त्व बुझाउन र कार्यान्वयन प्रभावकारी बनाउन सकिएको छैन्। जसले गर्दा नेपालको सार्वजनिक शिक्षा ध्वस्त बनाउन बाह्य पक्षहरू सफल हुँदैछन्।

आज देशको अवस्था र चुनौतीहरूबाट पार पाउनका लागि शिक्षा व्यवस्था यथास्थितिमा सुधार र परिमार्जन गरेर होइन, आमूल परिवर्तन नै गर्नुपर्छ। यसका लागि शिक्षा क्षेत्रका सबै सरोकारवालाहरूले मन, वचन र कर्मले तयार भएर दबाबमूलक अभियानहरू नै चलाउनु पर्छ। अब पनि यथास्थितिमा सुधारमा रमाउनु र अलमलिनु भनेको आजको आवश्यकता र अनिवार्यतालाई नजरअन्दाज गर्नु हो। राजनैतिक तथा संवैधानिक व्यवस्थामा आएको परिवर्तन पछि शिक्षा व्यवस्थामा सोअनुकुल हुनेगरी परिवर्तन गर्नुपर्थ्यो। स्थानीय र राष्ट्रिय पहिचान अनि आवश्यकतासँगै अन्तराष्ट्रिय परिवेसलाई केन्द्र भागमा राखेर नयाँ शिक्षा व्यवस्थाको विकास गर्न हामीले योगदान दिनुपर्थ्यो। तर हामी यथास्थितिमा सुधार खोजेर समय र श्रोतहरूको दुरूपयोग गरिरहेका छौं।

हरेक बच्चाहरूमा असीम क्षमताहरू हुन्छन्। तिनीहरूको सिकाइ वा शैक्षिक यात्रालाई प्रभावकारी बनाउँदै भविष्यका सम्भावनाहरूलाई साकार बनाउन उनीहरूलाई राम्रो शिक्षाबाट दीक्षित गर्नुपर्छ भन्ने सोचबाट हामी निर्देशित भइरहनुपर्छ। बालबालिकाहरूलाई असल र सफल नागरिक बन्न सहयोग पुग्नेगरी आवश्यक सहयोग र सुविधाहरू उपलब्ध गराउनु पर्छ। यसका लागि उनीहरूले पाउने शिक्षा जानेको भाषा, विषय र सन्दर्भहरूबाट सुरू गर्दै नयाँ भाषा, विषय र सन्दर्भहरू सिक्न पाउनु पर्छ।

त्यसैले आमरूपमा स्वीकारिएको कुरो के हो भने शिक्षा दिगो विकासको आधार हो भने असल र सफल नागरिक त्यसको पूर्वाधार हो। यही सत्यलाई मनन गरेर हामीले शिक्षाको महत्त्व र सबैका लागि गुणस्तरीय शिक्षाको आवश्यतकतालाई बुझ्दै र बुझाउँदै नयाँ शिक्षा व्यवस्थाको विकासमा योगदान दिनुपर्ने भएको छ। आज हामीले सबैका लागि गुणस्तरीय शिक्षाको आवश्यकता र अनिवार्यतालाई बुझेर अगाडि बढ्ने संकल्प गर्नुपर्छ। शिक्षालाई लिएर भारतीय शिक्षाविद धिर जिङग्रानले भनेका छन्, ‘शिक्षा खाली ठाउँ भर्ने साधन मात्र होइन, सम्भावनाको बाटो देखाउने प्रकाश हो।’ जिङ्ग्रानले भने झैं ति सम्भावनाको बाटो देखाउने प्रकाश पाउनका लागि हामीले शिक्षाको आवश्यकता, आधारभूत अधिकार र महत्त्व बुझेको हुनुपर्छ

शिक्षाले बालबालिकाहरूलाई नयाँ कुरो सिक्न मात्र होइन, कसरी सिक्ने भनेर सिक्न सक्षम बनाउँछ।

शिक्षाले बालबालिकाहरूलाई उनीहरूको पूर्ण मानव क्षमता चिन्न र महसूस गर्न सघाउँछ।

शिक्षाले समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्ने बलियो आधार बनाउँछ।

शिक्षाले समृद्ध र शान्त संसार निर्माण गर्न असल नागरिक तयार गर्छ।

त्यसैले अब देशको अवस्था बदल्न र नागरिकको मनोविज्ञान सकारात्मक र रचनात्मक बनाउन राजनैतिक तथा संवैधानिक व्यवस्थामा परिवर्तन होइन, यसलाई गतिशील बनाउँदै शैक्षिक संरचनामा संरचनात्मक परिवर्तन गर्नुपर्छ। भाषाहरूको शक्ति, प्रभाव र आवश्यकताहरूलाई बुझेर त्यसको व्यवस्थित र सन्तुलित प्रयोगका लागि पाठ्यक्रम र भाषिक नीति बनाउन विशेषगरी राजनीतिक नेतृत्व सक्षम हुनुपर्छ। नीतिहरूको राजा राजनीतिलाई नेतृत्व गर्ने पक्षले पनि आफ्नो क्षमता र प्रभावकारिता देखाउन पूर्वीय विश्वदृष्टिकोणको जगमा शिक्षा व्यवस्थामा आमूल परिवर्तन गर्दै आर्थिक, प्रशासनिक र न्यायिक संरचनामा पनि संरचनात्मक परिवर्तन गर्ने आँट, सीप र विज्ञता देखाउनु पर्छ। यसर्थ यतिखेर हामीले शिक्षाको शक्ति बुझेर राजनीतिको प्रवृत्तिलाई प्रगतिशील र लोकतान्त्रिक पनि बनाउनु पर्ने चुनौतीहरू थपिएका छन्।