१७ बैशाख २०८१, सोमबार 1714369672
समाचार

रोट्र्याक्ट क्लब अफ भिमादद्वारा शैक्षिक सामग्री वितरण

तनहुँ । विभिन्न सिर्जनशील क्रियाकलाप तथा सामाजिक कार्यहरुमा सक्रिय रहँदै आएको भिमादको रोट्र्याक्ट क्लब अफ भिमादले शैक्षिक सामग्री वितरण गरेको छ ।

भिमाद नगरपालिका – १ मियागाउँमा रहेको मदर्शा गौसिया प्राविमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई शुक्रबार रोट्र्याक्ट क्लब अफ भिमादले शैक्षिक सामग्री वितरण गरेको हो ।

अध्ययनको शिलशिलामा अष्ट्रेलियामा रहँदै आएका पोखरा महानगर– २७ का स्थायी निवासी रोशन सापकोटाले सम्पूर्ण सामग्री सौजन्य गरेका हुन् । विद्यालय प्राङ्गणमा भएको कार्यक्रममा सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कापी, कलम, इरेजर र कटर वितरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रोशन सापकोटाले आफू अष्ट्रेलियामा रहेर आयआर्जन गरेको र नेपाल आउँदा अध्ययन सामग्रीको अभावले विद्यार्थी पढ्न नपाएको जानकारी पाएपछि त्यसप्रकारको समस्यालाई निर्मुल पार्न क्लबलाई सामग्री सौजन्य गरेको बताए ।

यस्तै, आर्थिक अभावका कारण कापी कलमको जोहो गर्न कठिनाई भएपछि मियागाउँका विद्यार्थीहरुलाई पठनपाठनमा समस्या आइरहेको अवगत गराउँदै यस अवस्थामा विद्यार्थीहरुको भविष्य धरापमा परेको र उनीहरुको आगामी दिनमा आर्थिक अवस्थाका कारण पठनपाठनमा समस्या नआओस् भन्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको क्लबका अध्यक्ष दिपेन्द्र भण्डारीले बताए ।

कार्यक्रमको सञ्चालन रोट्र्याक्ट क्लब अफ भिमादका रोटा वर्ष २०२२र२३ का अध्यक्ष विनोद पराजुलीले गरेका थिए भने विद्यालय व्यवस्थापनका अध्यक्ष इसुफ मियाँ र प्रध्यानाध्यापक तौरन मियाँ लगायत विभिन्न अगुवा, समाजसेवी, शिक्षक, शिक्षिका विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।