१५ बैशाख २०८१, शनिबार 1714214176
कृषि

मुक्त हलियाका जीवनस्तर नाजुक

जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिका–६ दैयाका हलिया समुदाय गिट्टी कुटेर जीविकोपार्जन गरिरहेका छन् । सरकारले मुक्त हलिया घोषणा गरे पनि हलियाको जीवनस्तर पछिल्लो समय झन् नाजुक बन्दै गएको छ ।

हलिया समुदायका मानिसले दैनिक जीविकोपार्जनका लागि गिट्टी कुटेर दिन बिताउने गर्दछन् । तर गिट्टी बिक्री नभएपछि बिहान बेलुकी छाक टार्न उनीहरुलाई सकस भएको छ । गिट्टी बेचेर बिहान–बेलुकीको छाक टार्दै आएका उनीहरुले कुटेका गिट्टी पनि बिक्री हुन छाडेको बताइएको छ । सरकारले मुक्त हलिया घोषणा गरे पनि उनीहरुले उचित राहत र जग्गा नपाउँदा खोला किनारमा गिट्टी कुट्न बाध्य छन् । स्थानीय सरकार ले काम गरेको पाँच वर्ष पुग्न लाग्दा पनि हलिया समुदायले स्थानीय तहबाट पाउने सेवा–सुविधा नपाएको गुनासो गरेका छन् ।

बुढीनन्दा नगरपालिका–६ दैयाका खड्के विककी आमा शारीरिक अपाङ्गता हुनुहुन्छ । आमाबुवालगायत १४ जना परिवार पाल्न उहाँलाई निकै समस्या छ । उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रममा समेत राजनीतिकरण गरेर आफ्नो परिवारलाई छनोट नगरेको दुःखेसो पोख्नुभयो । उहाँले भन्नुभयो “थोरै जमिन थियो । त्यही जमिनसमेत बड्डीगाड खोलाले बगायो । अहिले ढुङ्गा फुटाएर नै सकिनसकी १४ जनाको परिवार पाल्दै आएको छु ।”

स्थानीय तहबाट पाउने हरेक सेवासुविधाबाट बञ्चित हुँदै आएको उहाँको गुनासो छ । हलियाले पाउने भनेको राहतसमेत अहिलेसम्म पाउन नसकेको अर्का हलिया सगुने विकले बताउनुभएको छ ।उहाँले भन्नुभयो “परिवार पाल्नका लागि बड्डीगाड खोलामा दिनभरि ढुङ्गा फुटाउँछु । पछिल्लो समय कुटेको गिट्टी बिक्री समेत भएको छैन । ”

घर खर्च चलाउनका लागि गाउँमा रोजगारी नपाएपछि श्रीमान्लाई कोरोनाको जोखिममा समेत भारतमा काम गर्न पठाएको गौती विकले दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “कोरोना आएको छ, श्रीमान भारतमा छन् । के–कस्तो छ फोनसमेत गर्न पाएको छैन । श्रीमान्ले अलिकति पैसा कमाएर ल्याएपछि उदारो ल्याएको दालचामलको पैसा तिर्नहुन्थ्यो ।”

आफूले पनि दिनमा गिट्टी कुटेर छोराछोरीको पेट पाल्ने गरेको उहाँले बताउनुभयो । “पेट पाल्नकै लागि दुःख गरेर खोलामा मरिमेटी ढुङ्गा फुटायौँ, तर ती फुटाएका ढुङ्गासमेत बिक्री नभएर खोलामै थन्किएका छन्”, अर्की पीडित जनकला विकले भन्नुभयो ।

उहाँहरु मात्रै होइन, दैयाका हलिया दिनभरि कामका लागि विभिन्न ठाउँमा भौतारिरहेका हुन्छन् । तर काम नपाएपछि बेलुका निराश हुँदै घर फर्कने गरेको नरे विकले सुनाउनुभयो । आफूले लगाएको घरमा टिन हाल्ने पैसा नहुँदा अहिलेसम्म घर छाउन नसकेको उहाँको गुनासो छ । उहाँले भन्नुभयो “ घर छाउन सहयोग पाएको छैन । ”