८ बैशाख २०८१, शनिबार 1713641504
Uncategorized

‘मार्ने धम्की’ आएको भन्दै आदिवासी जनजाति संघका सभापति गुरुङद्वारा कांग्रेसबाट राजीनामा

काठमाडौं – नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल आदिवासी जनजाति संघका सभापति इन्द्रबहादुर गुरुङले पार्टीको क्रियाशील सदस्यसमेत नरहने गरी सबै पदबाट राजीनामा दिनुभएको छ ।

सभापति गुरुङले आदिवासी जनजातिलाई पार्टीले बेवास्ता गरेको गुनासोसहित उक्त पदसहित क्रियाशील सदस्यता पनि त्यागेका हुन्।

सभापति शेरवहादुर देउवालाई सम्बोधन गरेर दिएको राजीनामा पत्रमा उहाँले कांग्रेसभित्र आदिवासी जनजातिका मुद्दा उठाउँदा ज्यानको समेत जोखिम भएको र परिवार तथा धनको चिन्ता गर्नुपर्ने अवस्था आएको उल्लेख गर्नुभएको छ ।

‘कांग्रेसको मूल्य, मान्यता र आदर्शलाई आत्मसात गर्दै २०१७ सालदेखि पार्टीमा निरन्तर क्रियाशील थिएँ,’ उहाँले भन्नुभएको छ, ‘पार्टीले आदिवासी जनजातिलाई दृष्टिकोण संकिर्ण बन्दै गएको छ । यसमा मेरो आपत्ति छ।’

सभापति गुरुङले कांग्रेसले रुखमा भोट माग्नुपर्ने ठाउँमा कहिले हसिया हथौडा, कहिले गाई, कहिले हलो र कहिले छाता चिन्हमा भोट हाल्नु परेकोमा समेत असन्तुष्टि जनाउनुभएइको छ ।

गुरुङ भन्नुहुन्छ- ‘कुनै जातिलाई भातृ संगठन कुनै जातिलाई शुभेच्छुक संगठन कुनै जातिलाई वास्तै नगर्नु साथै जातीय जनसंख्याको आधारमा भातृ संस्थाहरुले पाउने महाधिवेशन प्रतिनिधि नेपाल आदिवासी जनजाति संघले नपाउँदा हामीले सबै जात-जातिहरूलाई समेट्न सकेको अवस्था छैन । जसले गर्दा विभिन्न किसिमका समस्याहरु व्यहोर्नु परेको छ । कतिपय आदिवासी जनजातिबाट ज्यान लिनसक्ने धम्की समेत मैले सहनुपर्ने अवस्था भएको छ । आदिवासी जनजातिलाई हेर्ने दृष्टि नियाल्दा नेतृत्वमा भएकाहरुले पार्टीको चिन्ता लिनुको सट्टा, आदिवासी जनजातिको मुद्दा बोक्नेलाई कसरी सिध्याउने भन्ने चिन्ता गरेको पाएँ । परिवारको चिन्ता, धनको चिन्ता, हिन्दु राष्ट्र घोषणाको धर्म निरपेक्षको खारेजको चिन्ता लिनु कांग्रेसले रुखमा भोट माग्नु पर्ने ठाँउमा कहिले हँसिया हथौडा, कहिले गाई, कहिले हलो, कहिले छातामा मतदान गर्न पठाउने साथै संगठनमा भन्दा गुट-उपगुट समूहमा ध्यान दिने आदि कारणले म आजको मितिदेखि नेपाल आदिवासी जनजाति संघको सभापति र पार्टीको क्रियाशील सदस्यताबाट समेत राजीनामा गर्दछु ।’