१५ बैशाख २०८१, शनिबार 1714207342
अर्थ

श्रम मन्त्रालयमा कल सेन्टर तथा वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाइ कक्ष स्थापना 

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीको सन्दर्भमा नेपाली नागरिकलाई अलपत्र पार्ने जो सुकै संस्था वा व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाहीको दायरामा ल्याउने र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता जनाउनुभएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थापना गरेको कल सेन्टर तथा वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाइ कक्ष उद्घाटन गर्नुहुँदै मन्त्री श्रेष्ठले पीडितको गुनासो सुनुवाइका लागि प्रतिउत्तर कार्य टोली तथा प्रहरीको समेत सहभागितामा मार्सल टोली गठन गरी दोषीलाई कारबाही गर्न सुरु गरिएको बताउनुभयो । 

मन्त्रालयका सचिव एकनारायण अर्यालले कल सेन्टर तथा वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाइ कक्षबाट वैदेशिक रोजगारीमा रहेका समस्या, गुनासो तथा सुझाव सङ्कलन गरी प्राथमिकताका साथ समाधान गरिने बताउनुभयो । 

यसअघि, पनि सञ्चालनमा रहेको कल सेन्टरलाई वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाइ गर्न एकीकृत कक्षका रुपमा व्यवस्थित गरी सुरु गरिएको हो ।

पछिल्लो समय वैदेशिक रोजगारीको प्रलोभन देखाएर पर्यटन तथा अन्य भिसामा खाडी क्षेत्रका विभिन्न मुलुकहरू, दक्षिणपुर्वी एसियाली मुलुकहरू, युरोपेली तथा अमेरिकी मुलुकहरू र अफ्रिकी महादेशका देशहरूमा गैर कानुनी रुपमा पुर्‍याई नेपाली नागरिकलाई अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारोमा परेको भनी दिनहुँ गुनासो आउने गरेपछि मन्त्री श्रेष्ठको निर्देशनमा मन्त्रालयमै गुनासो सुनुवाइ कक्ष स्थापना गरिएको हो ।