२४ बैशाख २०८१, सोमबार 1714989500
Banner

उदयपुरको कटारीस्थित सोरङछबिसे मतदान केन्द्रमा गोली चल्यो, एकको मृत्यु

आज बेलुकी निर्वाचन सम्पन्न भएपछि उदयपुर जिल्लाको कटारी नगरपालिका–१० स्थित सोरुङछबिसेको कालिका मावि मतदान केन्द्रमा दुई पक्षबीच दोहोरो झडप हुँदा नियन्त्रण गर्न प्रहरीले हवाई फायर गर्दा एकको घटनास्थलमानै मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार बेलुकी मतदान सम्पन्न भएपछि कालिका मतदान केन्द्रमा मतपेटिकाहरु राजनीतिक दलहरुको सर्वदलीय बैठक बसेर सिल गरेपछि दोहोरो विवाद भएको थियो । दोहोरो विवादका क्रममा झडप हुँदा प्रहरीले नियन्त्रण गर्न चार राउन्ड हवाई फायर गरेको र सो क्रममा कटारी–१० का स्थानीय १९ वर्षीय नवीन कटुवाललाई गोली लाग्दा कटुवालको घटनास्थलमा नै मृत्यु भएको छ भने अर्का स्थानीय १४ वर्षीय मनकुमार श्रेष्ठ घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी यादवका अनुसार के कारणले दोहोरो झडप भएको हो र प्रहरीले हवाई फायर गर्नुपरेको भन्ने विषयमा अझै सूचना प्राप्त भइनसकेको बताउनुभयो । अहिले सो स्थानमा नेपाली सेनाको टोली पुगेर शान्ति स्थापनाका लागि घटनास्थललाई घेरा हालेको छ । घाइतेलाई उपचारका लागि सेनाको हेलिकप्टरबाट अन्यत्र लाने तयारीसमेत भइरहेको प्रजिअ यादवले बताउनुभयो । घटनाका बारेमा अझै सबै कुरा आइनसकेका कारण आफूहरुले पनि अनुसन्धान गरिरहेको प्रजिअ यादवले बताउनुभयो । घटनास्थल कटारी बजारदेखि १० कोस उत्तर पश्चिमी पहाडी क्षेत्रमा रहेको पनि प्रजिअ यादवले बताउनुभयो ।