१२ बैशाख २०८१, बुधबार 1713963468
Banner

सत्ता गठबन्धनबाट अधिनायकवादी कार्य भयो : अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताधारी गठबन्धनको निर्वाचन नै नगराउने षड्यन्त्रलाई चिर्दै आज वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको बताउनुभएको छ । तर, चुनावमा सरकार पक्षपाती र पूर्वाग्रही भएको अध्यक्ष ओलीको भनाइ छ ।

‘हामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित होस् भन्ने चाहन्थ्यौं । भयरहित वातावरणमा स्वच्छ निर्वाचनको लागि हाम्रो पार्टी, यसका नेता, कार्यकर्ता, सदस्य र समर्थकबाट लोकतान्त्रिक अधिकतम सकारात्मक भूमिका निर्वाह भयो । तर सत्तापक्षीय गठबन्धनले केही स्थानमा हाम्रा विरुद्ध अग्रिम नक्कली मतपत्र समेत छापी वितरण गर्ने, उत्तेजनापूर्ण गतिविधि गरी अनावश्यक रुपमा वातावरण बिथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने जस्ता कार्यसमेत गर्‍यो,’ स्थानीय तहको निर्वाचन सकिएलगत्तै साँझ विज्ञप्ती जारी गर्दै अध्यक्ष ओलीले भन्नुभएको छ, ‘लोकतन्त्र र अग्रगमनको नाम जपी अलोकतान्त्रिक र प्रतिगामी अभ्यासमा लिप्त रहने पाँच दलीय सत्ता गठबन्धनबाट यसप्रकारको अधिनायकवादी कार्य भयो । ती स्थानमा गृह प्रशासन अस्वभाविक रुपमा असन्तुलित देखियो । बाजुराको बुढीगंगा नगरपालिकामा निर्वाचन जारी रहेकै बेला रहस्यमय ढंगले सुरक्षाकर्मीलाई हटाई निर्वाचन बिथोल्न खोजियो । केही पालिकाका प्रमुखका उम्मेदवारहरुलाई मतदान केन्द्र निरीक्षणमा बाधा पुर्‍याइयो । यस प्रकृतिका घटना दर्जनौ स्थानमा भएका छन् । स्वतन्त्र निर्वाचनका विरुद्ध भएका यस्ता घटनाको विरोध गर्दै सरकारको पूर्वाग्रही र पक्षपाती व्यवहारप्रति म दुःख व्यक्त गर्दछु ।’

अध्यक्ष ओलीले प्रतिकूलतालाई पन्छाउँदै लाखौं नयाँ मतदाता र १ सय १३ वर्ष उमेरको पाको ज्येष्ठ नागरिकसम्मले हाम्रो आधारभूत तहको लोकतन्त्रलाई सुदृढ गर्न उत्साहका साथ मतदान गर्नुभएको जनाउनुभएको छ । ‘मतदानमा भाग लिनुहुने आम मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्दछु । मतदान गरेलगत्तै निधन हुनुभएका र मतदानको लागि जाँदै गर्दा सवारी दुर्घटनाबाट ज्यान गुमाएका मतदाताहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछु र शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ उहाँले भन्नुभएको छ ।

एमाले अध्यक्ष ओलीले स्वच्छ निर्वाचन विपरितका घटना भएका, मतदान केन्द्रको अनधिकृत कब्जा गरिएका र भय त्रास सिर्जना गरी मतदाताहरुलाई आतंकित पारिएका स्थानमा पुनः मतदानको माग गरी विभिन्न जिल्लाबाट उजुरी समेत गरिएको जनाउनुभएको छ । ‘यसलाई गम्भीरतापूर्वक लिन म निर्वाचन आयोगको ध्यानाकर्षण गराउँछु,’ उहाँको भनाइ छ, ‘अप्ठ्याराका बाबजुद निर्वाचनलाई सम्पन्न गर्न निष्पक्ष भूमिका खेल्ने निर्वाचन आयोगद्वारा परिचालित सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र सम्बद्ध सबैलाई धन्यवाद भन्न चाहन्छु । स्थानीय तहको यस दोस्रो निर्वाचन सम्पन्न गर्न नेतृत्व गर्ने निर्वाचन आयोगलाई धन्यवाद ज्ञापन गर्दछु ।’