२०७९ असार ११ शनिबार 1656207439
फिचर

ग्यासको खपत घटाउन उपयुक्त माध्यम हुन सक्छ इलेक्ट्रिक प्रेसर कुकर

काठमाडौँ। खाना पकाउने एलपी ग्यासको मूल्य विश्वव्यापीरुपमा उकालो लागिरहेको छ । त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको छ । नेपाल आयल निगमले तय गरेको मूल्यअनुसार प्रतिसिलिण्डर ग्यासको मूल्य रु एक हजार ६०० पर्छ । 

सोही मूल्यमा ग्यास बिक्री गर्दा पनि निगमलाई रु एक हजार ५० बराबरको घाटा परिरहेको छ । सबैभन्दा बढी घाटा निगमलाई पछिल्लो १५ दिनमा डिजेलपछि ग्यासबाट नै भएको देखिन्छ । निगमका सहप्रवक्ता पुस्कर कार्कीका अनुसार ग्यास बिक्रीबाट रु एक अर्ब ७४ करोड ५४ लाख बराबरको घाटा भएको छ । 

निगमले चालू आवको नौ महिनाको अवधिमा मात्रै रु दुई खर्ब बढीको इन्धन आयात गरेको भन्सार विभागको विवरणमा उल्लेख छ । पछिल्ला दिनमा नेपालमा उल्लेख्यमात्रामा बिजुलीको पहुँचमा वृद्धि भएको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले मुलुकको ऊर्जा प्रणालीमा कायापलट नै गरिदिएको छ ।

यद्यपि हिउँदको समयमा केही समस्या हुँदा औद्योगिक क्षेत्रमा भने व्यवधान पैदा भएको छ । कूल जडित क्षमता दुई हजार १५० मेगावाट बराबर पुगे पनि हिउँदमा ऊर्जा उत्पादन केन्द्रमा पानीको सतह कम हुन जाँदा कम मात्रै बिजुली केन्द्रीय प्रणालीमा प्रवाह हुन्छ । 

तथापि नेपालको ऊर्जा क्षेत्रमा भएको प्रगति लोभलाग्दो देखिएको छ । चालू आवमा मात्रै प्रसारण लाइनलगायतका अन्य पूर्वाधारको विकास भएको खण्डमा एक हजार ३०० मेगावाट बराबरको बिजुली प्रणालीमा थप हुने सरकारको प्रक्षेपण छ । 

सोही प्रक्षेपणका आधारमा सरकारले ‘विदेशी ग्यास छाडौँ, स्वदेशी बिजुली प्रयोग बढाऔँ’ भन्ने नारालाई आत्मसात् गरेको छ । सन् २०३० सम्ममा २५ प्रतिशत घरधुरीमा विद्युतीय चुल्हो प्रयोग गर्ने रणनीतिक लक्ष्य तय गरेको छ । दक्षिण एशियामा विद्युतीय चुल्होको प्रयोग तथा विद्युतीय सामग्रीको उपयोगमा नेपालको हैसियत माथि रहेको पाइएको छ । 

पछिल्ला दिनमा नागरिकमा विद्युतीय चुल्होको प्रयोगमा समेत वृद्धि भएको छ । विद्युतीय सेवा पुगेका ग्रामीण बस्तीदेखि शहरी क्षेत्रमा क्रमशः विद्युतीय सामग्रीको प्रयोग गर्नुपर्छ भन्ने जनचेतनामा समेत वृद्धि भएको छ । 

यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलले पनि स्वच्छ ऊर्जाको प्रयोगमा अभिवृद्धि तथा विद्युतीय चुल्हो वितरणलगायतका कार्यक्रमलाई आफ्ना घोषणापत्रमा राखेका छन् । 

यसले पनि स्थानीय तहमा विद्युतीय सामग्रीको प्रयोग बढाउने र विदेशी ग्यासको खपत घटाउने सरकारको नीतिलाई सम्बोधन गर्न सहयोग पुग्छ । वर्षा समयमा गत मनसुनमा मात्रै रु पाँच अर्ब बराबरको ५०० मेगावाट बिजुली खेर गएको थियो । 

स्वच्छ भान्छाका लागि विद्युतीय चुल्हो 

नेपालमा खाना पकाउनका लागि परम्परागत ऊर्जामा निर्भर हुँदा स्वास्थ्य सङ्कट बढेर गएको छ । नेपालमा धुवाँको प्रयोगबाट मात्रै वार्षिक २८ हजार बढी नेपालीको ज्यान जाने गरेको सरकारी तथा गैरसरकारी क्षेत्रको तथ्याङ्क छ । सन् २०१८ मा २४ हजार नेपालीले घरभित्र हुने वायु प्रदूषणका कारण सिर्जित रोगका कारण ज्यान गुमाउनु परेको विवरण सार्वजनिक भएको थियो । हरेक वर्ष निमोनिया, फोक्सोको क्यान्सर, दम, मुटुरोग, क्षयरोग र श्वासप्रश्वाससम्बन्धी रोगबाट हजारौँ नेपाली प्रभावित भएका छन् । त्यसबाट महिला तथा बालबालिका बढी प्रभावित भएका छन् । 

यो अवस्थामा सुधार ल्याउनका लागि सरकार र निजी क्षेत्र एवं गैरसरकारी संस्थाका तर्फबाट धुवाँमुक्त भान्छातर्फको अभियान अगाडि बढाइएको छ । ऊर्जाको भरपर्दो विकल्पका रुपमा विद्युतीय चुल्होको प्रवद्र्धनका लागि नीतिगत व्यवस्था भई व्यावहारिक रुपान्तरणतर्फ अगाडि बढेको छ । 

सरकारले विद्युतीय चुल्हो प्रवद्र्धन गर्ने लक्ष्यका साथ विभिन्न अभियानात्मक कार्यक्रम सञ्चालन गरेपछि चैत मसान्तसम्म कूल ५९ हजार ७०६ वटा विद्युतीय चुल्हो आयात भएका छन् । ती इन्डक्सनको लागत मूल्य रु १२ करोड ३७ लाख २६ हजार बराबर छ । ती चुल्हो आयात गर्दा सरकारले रु एक करोड ७५ लाख १३ हजार बराबरको राजश्व सङ्कलन गरेको छ । 

त्यस्तै जुनसुकै भाडा प्रयोग गर्न सकिने इन्फ्रारेड चुल्हो २१ हजार ६७६ वटा आयात भएको छ । ती चुल्होको आयात मूल्य रु चार करोड ६८ लाख १४ हजार छ । त्यस्तै, सरकारले रु ६६ लाख १५ हजार बराबर  भन्सार शुल्क सङ्कलन गरेको छ । 

नेपालको राष्ट्रिय निर्धारित योगदानअनुसार सन् २०३० सम्म २५ प्रतिशत घरधुरीमा विद्युतीय चुल्होको प्रयोग बढाउने, वन क्षेत्रलाई ४५ प्रतिशत पु¥याउने र शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्य तय गरिएको छ ।  सोही क्रममा जनताका लागि ऊर्जा तथा वातावरण विकास संस्था (पेडा)ले उपलब्ध विद्युतीय सामग्रीमध्ये कुन सामग्री नेपालको दीर्घकालीन हितका लागि छ भनेर अध्ययन एवं पैरवी गर्दै आएको छ । 

नेपालको कूल घरधुरीमध्ये ६३.३ प्रतिशतले खाना पकाउनका लागि परम्परागत स्रोतको प्रयोग गर्छन् । त्यसमा पनि ५२.४ प्रतिशत दाउरा नै प्रयोग गर्छन् । शहरी क्षेत्रमा ५३.३ प्रतिशत र ग्रामीण क्षेत्रमा ८.७ प्रतिशत जनसङ्ख्याले खाना पकाउनका लागि एलपी ग्यासको उपयोग गर्छन् । 

दाउरा, एलपी ग्यास, मट्टीतेलको तुलनामा विद्युतीय चुल्होले कुने पनि हानिकारक ग्यास उत्सर्जन नगर्ने भएकाले घरभित्रको वायुको गुणस्तर कायम गर्न पनि विद्युतीय चुल्हो उपयुक्त हुने नीति फाउण्डेशनका कार्यकारी निर्देशक मोहनदास मानन्धरको भनाइ छ । 

नेपालमा विशेष गरी इन्डक्सन चुल्हो, राइस कुकर, विद्युतीय ओभन, तातो प्लेट, विद्युतीय तावा, विद्युतीय किटी, कफी मेकर, टोस्टर, इन्फ्रारेड चुल्हो, विद्युतीय प्रेसर कुकर, माइक्रोवेभ ओभन, एयर फायर, रोटी मेकरजस्ता सामग्रीको प्रयोग भइरहेको छ । खासगरी पछिल्ला दिनमा इन्डक्सन र इन्फ्रारेड चुल्होको प्रयोग बढिरहेका बेला छुट्टै विद्युतीय चुल्होसमेत प्रयोगमा आएको छ । 

पेडालगायतका संस्थाको सहयोगमा सोलुखुम्बु, रौतहट, काभ्रेपलाञ्चोकलगायतका जिल्लामा विद्युतीय चुल्होको प्रयोगका सम्बन्धमा अध्ययन गरिएको र तयसबाट सकारात्मक नतिजा प्राप्त भएको प्राक्टिकल एक्सन कन्सल्टिङका पूजा शर्माको भनाइ छ । अध्ययनअनुसार एकपटक खाना पकाउनका लागि पाँच जनाको परिवारलाई दाउरा प्रयोग गर्दा १३ रुपैयाँ २९ पैसा खर्च हुने गरेको छ । 

त्यस्तै एलपिजीमा १५ रुपैयाँ ३१ पेसा, इन्डक्सनमा ११ रुपैयाँ ७७ पैसा, इन्फ्रारेडमा १२ रुपैयाँ ६० पैसा र विद्युतीय प्रेसर कुकरमा छ रुपैयाँ २७ पैसा मात्रै खर्च भएको अध्ययनबाट पत्ता लागेको छ । 

सो कुकरमा खाना पकाउनबाहेक खाना उमाल्ने, तार्ने, बफाउने र सुक्खा पकवान गर्ने सुविधासमेत रहेको छ । विद्युतीय प्रेसर कुकरमा झिक्न मिल्ने भित्री भाग भएकाले पनि खानेकुरा तयार पारी फेरि मुख्य भाडामा राखेर पकाउन पनि सकिन्छ । विद्युत् प्रसारण भएपछि मुख्य भाँडा तात्दछ । जसका कारण भित्र रहेको तरल पदार्थ बाफमा परिणत हुन जान्छ । बाफले प्रेसर सिर्जना गर्ने खाना छिटो पाक्छ । 

इलेक्ट्रिक प्रेसर कुकरमा खाना पकाएपछि ढकनको भित्री भाग सफा गर्नुपर्छ । कुकरको खाना पकाउने भागको आधाभन्दा बढी तरल पदार्थ भर्नु हुँदैन । सामान्य प्रेसर कुकरमा झैँ यस कुकरमा पनि खाना पाक्दै गर्दा चलाउन मिल्दैन । कुकरभित्र रहेको प्रेसरलाई चाँडो निष्काशित गर्न फ्लोट भलभलाई धेरै चाँडो थिच्नु भने खतरनाक हुन सक्छ । 

विद्युतीय पूर्वाधारमा जोड 

विद्युतीय सामग्रीको प्रयोग बढाउनका लागि विद्युतीय पूर्वाधारको विकास नै प्रमुख प्राथमिकतामा रहेको छ । त्यसका लागि वितरण तथा प्रसारण प्रणालीमा सुधार, ट्रान्सफर्मरको क्षमता वृद्धि, घरको वाइरिङ तथा फ्युजको क्षमता वृद्धि गर्नु आवश्यक छ । 

यस्तै नियमितरुपमा गुणस्तरीय बिजुलीको उपलब्धता पनि अर्को शर्त हो । अनियमित बिजुली तथा कम भोल्टेजको बिजुलीका कारण विद्युतीय सामग्री बिग्रन जाने भएकाले यसमा विशेष ध्यान दिइनुपर्ने अध्ययनकर्ता शर्माको भनाइ छ । 

नेपालका लागि इलेक्ट्रिक प्रेसर कुकर नै सबैभन्दा उत्तम विकल्प हुनसक्ने धारणा राख्दै नीति फाउण्डेशनका कार्यकारी निर्देशक मानन्धर आगामी दिनमा यसको प्रयोगमा अझै विस्तार भएर जानेमा आशावादी हुनुहुन्छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलेसमेत विद्युतीय सामग्रीको प्रयोगका सन्दर्भमा सचेतना जगाइरहेका बेला इलेक्ट्रिक प्रेसर कुकर झनै महत्वपूर्ण हुने पेडाका प्रमुख कार्यकारी निर्देशक वीराज गौतमको भनाइ छ । 

प्रविधिले हरेक दिनजसो नै नयाँनयाँ खोज गरिरहेका अवस्थामा इलेक्ट्रिक प्रेसर कुकर नेपालका लागि उपयुक्त साधन हुनसक्ने यसका प्रयोगकर्ताले बताएका छन् ।  रासस