१४ बैशाख २०८१, शुक्रबार 1714185850
पालिका

हेटौँडा उपमहानगरमा मनोनयन दर्ता

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा विभिन्न दलहरुले मनोनयन दर्ता गराएका छन् ।

गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) की मीनाकुमारी लामाले प्रमुखमा र नेपाली कांग्रेसका राजेश बानियाँले उपप्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको छ । दुवै जनाले हेटौँडा उपमहानगरपालिका–२ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो । प्रमुख र उपप्रमुखमा मिलेर मनोनयन दर्ता गराए पनि हेटौँडाको १९ वटै वडामा भने कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रले छुट्टाछुट्टै उम्मेदवारी मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो । यस्तै नेकपा (एमाले) बाट प्रमुखमा अनन्त पौडेल र उपप्रमुखमा सुमित्रा काफ्ले, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुखमा दीपकबहादुर सिंह र उपप्रमुखमा इन्दिरा न्यौपाने तथा जसपाबाट प्रमुखमा दिपा लामा र उपप्रमुखमा हरिहर खतिवडाले उम्मेदवारी दर्ता गराउनुभएको छ । यसअघि आइतबार सात जनाले मनोनयन दर्ता गराएका थिए ।