८ जेष्ठ २०८१, मंगलवार 1716353885
Banner

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुभएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा आज साँझ यहाँ रात्रिभोजको आयोजना गर्नुभयो । सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो ।

रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति रहेको थियो । त्यस्तै रात्रिभोजमा प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, सांसद, उद्योगपति एवं विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभावको सहभागिता थियो । कतारका अमिर अल थानी राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा आज अपराह्न त्रिभुवन विमानस्थलमा अवतरण गर्नुभएको थियो ।

राष्ट्रपति पौडेलले विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँको स्वागत गर्नुभएको थियो । कतारका अमिर विमानस्थलबाट राष्ट्रपति भवन शीतल निवास पुग्नुभएको थियो । शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरसहितको प्रतिनिधिमण्डलबीच द्विपक्षीय भेटवार्ता भएको थियो । बुधबार दुई देशका प्रतिनिधिमण्डलस्तरीय भेटवार्ताको कार्यक्रम छ ।