१८ बैशाख २०८१, मंगलवार 1714474464
Banner

आज रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौँ । आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ । हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

भक्तालुजनले नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने परम्परा रहेको छ । संस्कृतिविद् रामदयाल राकेशका अनुसार रामचन्द्र भगवान्को जन्मदिन भएकाले यो पर्व हिन्दू धर्मावलम्बीको लागि विशेष धार्मिक पर्व हो । “मिथिला क्षेत्रमा रामनवमीको अझै बढी महत्व छ”, उहाँले भन्नुभयो, “पूजापाठ गरेर, नदीमा स्नान गरेर पून्य आर्जन गर्र्ने चलन छ ।”

आजका दिन व्रत बसी श्रीरामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ।

आज बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपति आर्यघाट पारिको राममन्दिर, गोकर्णेश्वर नगरपालिका–९ स्थित आरुबारीमा रहेको राम मन्दिरलगायत देशभरका विभिन्न स्थानमा रहेका राम मन्दिरमा मेला लाग्ने जनाइएको छ।

राम नवमीकै अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदासमेत दिएको छ।