१४ बैशाख २०८१, शुक्रबार 1714149878
राजनीति

कांग्रेस र नेकपा एमाले तनहुँबीच चुनावी तालमेल

दमौली । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशी समुह र नेकपा एमाले तनहुँबीच चुनावी तालमेल हुने भएको छ । 

काँग्रेस तनहुँलाई वार्तामार्फत एक बनाएर अगाडि बढाउन नेता जोशीले ल्याएको प्रस्तावलाई बेवास्ता गरिएपछि जोशी समुहले एमालेसँग तालमेल गरेको हो । 

तालमेल भएसँसगै आगामी स्थानीय तहको चुनावमा साझा उम्मेद्वार बनाउने सहमति भएको छ । 

जोशी निवास दमौलीमा शनिबार भएकोको छलफलबाट चुनावी तालमेल गर्ने निर्णय  भएकाले साझा उम्मेद्वारी दिने भएको हो । प्रत्येक पालिकाको प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुको साझा उम्मेद्वारी दिने सहमति भएको छ । 

छलफलको क्रममा तालमेललाई प्रभावकारी बनाउन चुनावी परिचालन समिति गठन गरिएको छ । जोशी समुहबाट ४ जना र नेकपा एमाले तनहुँका ४ जना गरि ८ सदस्यीय ‘चुनाव परिचालन समिति समिति गठन गरिएको छ । 

तनहुँ कांग्रेसको विवाद मिलाउन वार्ता समिति गठन गरेपनि एकलौटी ढंगले अघि बढेकोले एमालेसँग चुनावी तालमेल गर्नुपरेको नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले जानकारी दिनुभयो । 

१९ वर्षदेखि सत्ता बाहिर रहनुभएका जोशी विकासवादी नेताको रुपमा जिल्लामा सूपरिचित हुनुहुन्छ । उहाँको समयमा शिक्षा, स्वास्थ्य, विद्युत्तिकरण, रोजगारी, सडक जस्ता क्षेत्रमा अभूतपूर्व विकास भएको थियो । ‘एक घर एक रोजगारी’ अभियान सञ्चालन गर्नुभएका नेता जोशीको विकास प्रतिको काम र पार्टी प्रतिको संगठनलाई तनहुँवासीले सम्झिने गर्दछन् । 

नेता जोशी आगामी संघीय चुनावमा कांग्रेसको तर्फबाट सङ्घीय चुनावमा उठ्ने र पार्टीले टिकट नदिएमा जनताको तर्फबाट चुनाव उठ्ने घोषणा गरिसक्नुभएको छ । 

नेपाली कांग्रेस तनहुँका सस्थापक सचिव हुँदै केन्द्रमा सहमहामन्त्री समेत बनिसक्नुभएका नेता जोशीलाई वर्तमान पार्टी नेतृत्वले अन्यायपूर्ण ढंगले साधरण सदस्यता समेत नरहने गरी गरिएको कारबाहीमा तनहुँ कांग्रेसका नेता तथा कार्यकर्ता रुष्ठ छन् । रुष्ट जोशी समुहले एमालेसँग चुनावी तालमेल गरेपछि तनहुँ कांग्रेसलाई ठुलो क्षति हुने देखिएको छ । 

जोशी समुहबाट व्यास नगरपालिकाको प्रमुखमा उम्मेद्वार बन्नुभएका दीपकराज जोशीलाई एमालेले सघाउने भएको छ ।  त्यसैगरी, अन्य पालिकामा पनि सहमति हुनेछ । मेयर उम्मेद्वार बन्नुभएका जोशी पूर्व गृहमन्त्री गोविन्दराज जोशीको सुपुत्र हुनुहुन्छ । जोशीपुत्रले चुनावी प्रचारको लागि सम्पर्क कार्यालय खोली सक्नुभएको छ । उहाँ भोटमाग्न घरदैलोमा नै व्यस्त हुनुहुन्छ ।