१८ बैशाख २०८१, मंगलवार 1714474870
Banner

दक्षिणी सिरियामा विस्फोट हुँदा सात बालबालिकाको मृत्यु

रासस/एएफपी : दक्षिणी सिरियाको दारा प्रान्तमा शनिबार एउटा ‘विस्फोटक उपकरण’ विस्फोट हुँदा सात बालबालिकाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । प्रहरी स्रोतलाई उद्धृत गर्दै राज्य समाचार एजेन्सी सानाले भनेको छ, “आतङ्कवादीले सानमायन सहरमा राखेको एउटा विस्फोटक उपकरण विस्फोट हुँदा सात बालबालिकाको मृत्यु भएको छ र एक महिलासहित दुई जना घाइते भएका छन् ।” सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स वार मनिटरले भिन्न तथ्याङ्क दिँदै विस्फोटमा फरक फरक उमेरका आठ बालबालिका मारिएको र एक जना घाइते भएको बताएको छ ।

बेलायतस्थित मनिटरले उक्त क्षेत्रमा अज्ञात व्यक्तिलाई निशाना बनाउन मिलिसियाहरूले उक्त उपकरण राखेको आरोप लगाएको बताएको छ । दारा राष्ट्रपति बशर अल–असदको शासनविरुद्ध सन् २०११ को विद्रोहको उद्गम स्थल थियो तर रुसको समर्थनमा युद्धविराम सम्झौताअन्तर्गत सन् २०१८ मा यसलाई सरकारी नियन्त्रणमा फिर्ता गरिएको थियो । त्यसबेलादेखि यो प्रान्त हत्या, झडप र दयनीय जीवन अवस्थाले ग्रस्त छ ।

जिहादी र विदेशी सेनालाई समावेश गरेको घातक द्वन्द्वबाट बढेको सिरियाको युद्धबाट पाँच लाख सात हजारभन्दा बढी मानिस मारिएका छन्, लाखौँ विस्थापित भएका छन् र मुलुकको पूर्वाधार तथा उद्योग क्षेत्र ध्वस्त भएको छ ।