२४ बैशाख २०८१, सोमबार 1715005273
Banner

दोस्रो टी-२० खेलमा पनि नेपाल ए पराजित

काठमाडौं । आयरल्याण्ड ए सँगको दोस्रो टी-२० खेलमा पनि नेपाल ए पराजित भएको छ ।

शनिबार भएको दोस्रो टी–२० खेलमा नेपाल ४० रनले पराजित भएको हो । आयरल्याण्ड ए ले दिएको २२५ रनको लक्ष्य पछ्याएको नेपाल १८४ रनमा अलआउट भयो । योसँगै आयरल्याण्डले २-० ले शृङ्खला आफ्नो पक्षमा पारेको छ ।

नेपाल ए का देव खनालले २५ बलमा ४७ रन, विनोद भण्डारीले १३ बलमा २६ रन र लोकेश बमले १३ बलमा २५ रन र बसिर अहमदले २३ बलमा २७ रन बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

आयरल्याण्डका लागि बेन ह्वाइटले ४ ओभरमा २९ खर्चेर ३ विकेट लिए । त्यस्तै, फिओन हाण्ड र थोमस मोयसले २–२ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङ थालेको आयरल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर २२४ रन जोड्यो ।

उसका लागि कप्तान निल रकले ७१ र पिटर मुरले ६५ रनको अर्धशतकीय पारी खेले । यस्तै, जेम्स म्याककोलुमले २६, फिओन हाण्डले १९, रोस अडाइरले १७ रन जोडे । बलिङतर्फ नेपालका सागर ढकालले ३ तथा कमल ऐरी र पवन सर्राफले १–१ विकेट लिए ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल आयरल्याण्डसँग २१ रनले पराजित भएको थियो ।