१६ बैशाख २०८१, आईतवार 1714345305
Banner

भ्रमको भाष्यमा भासिदैछ नेपालको राजनीति

‘फोटो सहित दिएको छ भन्दैमा इन्टरनेट अर्थात सामाजिक सञ्जालमा भेटिएका सबै कुरा विश्वास योग्य हुँदैनन्।’ (अब्राहम लिंकन) तर नेपालमा भने सामाजिक सञ्जाललाई सूचनाको श्रोत बनाएर धारणा बनाउने प्रवृत्ति बढेको छ। यो प्रवत्तिले नेपालको राजनीति भ्रमको भाष्यबाट प्रदुषित हुँदैछ। यति बेला हाम्रो राजनीतिक नेतृत्वले सुझबुझका साथ जनतालाई सत्य भन्न र बुझाउन अनि जनतालाई भ्रमहरूबाट मुक्त बनाउन पनि सक्नुपर्छ। नेतृत्वले आफूलाई जनताको सच्चा सेवकका रूपमा प्रस्तुत गर्नुपर्छ नकि भ्रमको आडमा भिंडको भाषा प्रयोग गरेर देशकोराजनीतिलाई प्रदुषित बनाउने।

सञ्चारकर्मी र सञ्चार माध्यमहरूले पनि सही सूचना संप्रेषण गरेर जनतालाई भ्रमहरूबाट मुक्त बनाउँदै उनीहरूमा सही निष्कर्षमा पुग्ने सक्ने क्षमता विकास गर्न सघाउनु पर्छ। प्राज्ञिक वर्गले पनि सत्य भन्न र सत्यको पक्षमा उभिएर भिंडको पछि लाग्ने प्रवृत्तिको अन्त्यका लागि भूमिका बढाउनु पर्छ। वैचारिक राजनीति, नैतिकवान र चरित्रवान नेतृत्वको पक्षमा लाग्न जनतालाई प्रेरित गरिरहनु पर्छ। मलतब लुच्चाहरूबाट नेपालको राजनीति जोगाउनु पर्छ किनभने हिजोआज राजनीतिमा आएका केही नयाँ र स्वतन्त्र भन्ने पात्रहरूले हामीलाई झुक्याउन भ्रमको साहारा लिइरहेका छन्।

आजको नेपालको राजनीति बुझ्नका लागि हामीले भारतको लोकप्रियतावादी राजनीति र राजनीतिक नेतृत्वको प्रवृत्तिलाई बुझ्नुपर्छ। हिजो भ्रष्टाचारको मुद्दा उठाएर कांग्रेस आईको विरोध गरेर राजनीतिमा उदाएका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल आज त्यही कांग्रेस आईसँग चुनावी गठबन्धन बनाएर एकातिर बलियो देखिन खोज्दैछन् भने अर्कातिर आफूमाथि लागेको भ्रष्टाचारको मुद्दाबाट जोगिने कसरत गरिरहेका छन्। नेपालमा पनि लगभग त्यही प्रकृतिको राजनीति रवी लामिछानेहरूले गर्दैछन्। आज रवीहरूले नेपाली कांग्रेसको विरोध गरेर घण्टी कांग्रेस बलियो बनाउने प्रयास गरिरहेका छन्। भोलिका दिनमा रास्वपा कांग्रेसको सहयोगी बन्न सक्छ।

हामीले बुझ्नुपर्छ, गलत भाष्यको जगमा बनेको जनमनोविज्ञानलाई आधार बनाएर गरिने राजनीतिले केही समय चर्चा त पाउला तर टिकाऊ हुँदैन्। अहिले त्यही नटिक्ने राजनीति गर्नेहरू सदन, सडक, सञ्चार र सञ्जालहरूमा ठूला कुरा गर्दैछन्। जबकि तिनका निकट विगत कुनैपनि कोणबाट चारित्रिक, नैतिक र देशमुखी छैन्। तिनका निकट विगत दण्डित हुनुपर्ने खालको छ । तर जनतामा बढेको आक्रोशलाई राजनीतिक आधार बनाउँदै रवीहरूले गलत भाष्यको जगमा आफ्नो विचारहीन लोकप्रियतावादी राजनीतिलाई स्थापित गर्न सञ्चार र सञ्जालमा लगानी गरिरहेका छन्। त्यो लगानीको श्रोत स्वच्छ देखिदैन्। यसको प्रमाणको रूपमा हामीले ग्यलेक्सी टिभीमा भएको लगानी र विवादलाई लिन सक्छौं।

नीतिहरूको राजा राजनीति हो भने राजनीतिको चुरो कुरो विचार र नेतृत्व आचरण र व्यवहार हो। आज नयाँ भन्नेहरूको राजनीतिक विचार के हो थाहा छैन् अनि नैतिकता र चरित्रमाथि प्रश्न उठेकै छ। आक्रोशमा निर्णय गर्दा जनताले न विचार हेरेका छन् न त नैतिकता र चरित्र नै। जनताको यो कमजोरीलाई विचारहीन, नैतिकहीन र चरित्रहीन लोकप्रियतावादीहरूले आफ्नो राजनीतक भविष्य ठानेका छन्। यो सत्य जनतालाई भनिएको छैन् जसले लोकप्रियतावादीहरूको मनोबल बढाएको छ।

सञ्चार र सञ्जालमा भएको हल्ला जसरी राजनीति सधैं अघि बढ्दैन् र जनता पनि भ्रममा परिरहदैनन्। गलत भाष्यको जगमा गरिने राजनीति दिगो पनि हुँदैन्। आज जनतामा देखिएको आक्रोश राजनैतिक तथा संवैधानिक व्यवस्थाले बढाएको अपेक्षा पूरा नहुँदाको परिणाम हो। जनअपेक्षा पूरा नहुनुमा सबै पुराना राजनीतिक दल र नेतृत्व जिम्मेवार भन्ने गलत भाष्य लोकप्रियतावादीहरूले प्रयोग गरिरहेका छन्। जबकि यसको मुख्य कारण कम्फर्टेबल सत्ता गठबन्धनले लिएको देश र जनता विरोधी नीति र गतिविधिहरू नै हो।

त्यसैले जनआक्रोशको जगमा भ्रमको भाष्यबाट निर्देशित लोकप्रियतावादी राजनीतिले कहिल्यै पनि राष्ट्रिय स्वार्थ बलियो बनाउने सामर्थ्य राख्दैन्। यसले त भोलिका दिनमा राजनीतिलाई अझ विकृत बनाएर जनआक्रोश पनि बढाउँदै देशमा नियन्त्रित अस्थिरता अझ बढाउने छ। तर यो कुरो जनताको विवेकले ठम्याउन सकेको देखिएन। चेतना भया ।।