३१ बैशाख २०८१, सोमबार 1715629842
पालिका

सामुदायिक उद्धारकर्ता तयार गर्दै वडा २३

काठमाडौं । काठमाडौँ महानगरपालिकाको वडा नंं २३ ले वडामा ३० जना सामुदायिक उद्धारकर्ता तयार गर्ने भएको छ । वडाध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले विपद जोखिम क्षति न्यूनीकरण सम्बन्धी २ दिने तालिममा वडाका योजनाका विषयमा जानकारी गराउँदै यस्तो बताउनुभएको हो । वडाले आयोजना गरेको तालिममा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्य स्वयमसेविका, महिला  सञ्जाल, वडा टोल विकास संस्था र स्वयमसेवकहरुलाई सहभागी गराइएको थियो । 

‘हामीले झोँछे र ओमवहाल गरी २ वटा टोल विकास संस्था गठन गरेका छौँ । एउटा संस्थाबाट १५ जनालाई सहभागी गराएर ३० जना उद्धार स्वयम्सेवक बनाउँछौँ । आपत परेका बेला खोज, उद्धार, सहजीकरण र समन्वयनका लागि स्वयमसेवकले काम गर्नेछन् ।’ महर्जनले भन्नुभयो, ‘वडाभित्र करिब ७५५ घर घुरी छन् । यीमध्ये अधिकांश घर पुराना छन् । साँघुरा सडक, साँघुरा गल्ली वडाको अवस्थिति हो । सामान्य समयमा व्यवस्थापन राम्रो छ । विपदका समयमा यस्तो अवस्थितिमा काम गर्न चुनौतीपूर्ण हुन सक्छ । यसकारण अवस्थितिअनुसारको क्षति व्यवस्थापन पूर्वतयारीमा लागेका छौँ ।’

जनताले तिरेको कर जनताकै सुरक्षाका लागि खर्च गर्ने योजना बनाएका हौँ । उहाँको भनाइ थियो । 

विपदको जोखिम व्यवस्थापन गर्न जनप्रतिनिधि, कर्मचारीको भूमिका जति महत्वपूर्ण छ । त्यत्तिकै महत्वपूर्ण भूमिका समुदायका व्यक्तिहरुको हुन्छ । जोखिममा पहिलो पटक समुदायकै मानिस पुग्छन् । यसकारण वडाबासीलाई जनप्रतिनिधि र कर्मचारीसँगै राखेर तालिम दिइएको हो । वडा सचिव प्रमोद अधिकारीले जानकारी दिनुभयो । काठमाडौँका मूख्य ५ वटा विपदमा पहिलो भूकम्प हो । यसपछि क्रमशः बाढी, आगलागी, सडक दुर्घटना र महामारी हु्न् । यी विपत्तिका हरेक वडाका फरक जोखिम छन् ।